काठमाडौं। किर्गिजस्तानको अदालतले देशमा भ्रष्टाचार र व्यापक अशान्तिमा संलग्नता भएको अभियोगमा एक निर्वासित पूर्वराष्ट्रपतिलाई ११ वर्ष जेल सजाय सुनाएको छ।
सन् २०११ देखि २०१७ सम्म राष्ट्रपति रहेका अल्माज्बेक अताम्बायेभले निर्वाचित राष्ट्रपतिलाई गणतन्त्र किर्गिजस्तानको शान्तिपूर्ण सत्ता हस्तान्तरण गरेका थिए। सन् १९९१ मा सोभियत संघको पतनसँगै स्वतन्त्रता प्राप्त गरेयता किर्गिजस्तानमा तीन वटा क्रान्ति भएका छन्।
अताम्बायेभलाई पहिलो पटक अगस्ट २०१९ मा उनको निवासमा छापा मारी पक्राउ गरिएको थियो। त्यसपछि सन् २०२० को आन्दोलनबीच अस्थायी रूपमा मुक्त गरिएको थियो। पछि उनलाई पुनः पक्रउ गरिएको थियो।
सन् २०२३ मा स्वास्थ्यको कारण देखाउँदै उनी जेलमुक्त भएका थिए। उनी उपचारका लागि स्पेन गएपछि स्वदेश फर्किएका छैनन्। एक नयाँ मुद्दामा अदालतले उनलाई अवैध रूपमा भूमि अधिग्रहण गरेको र सन् २०१९ अगस्तमा व्यापक अशान्तिमा भाग लिएको अभियोगमा दोषी ठहर गरेको छ।
अदालतले उनको अनुपस्थितिमा साढे ११ वर्षको जेल सजाय सुनाएको छ। किर्गिजस्तानका वर्तमान राष्ट्रपति सादिर जापारोभले अताम्बायेभलाई आममाफी दिन आग्रह गरेमा आफूले माफी दिनेबारे विचार गर्ने बताए। उनले भने, 'घटना भएको छ वर्ष बितिसकेको छ, स्थिति शान्त भएको छ, मलाई लाग्छ, अदालत कम कठोर हुन सक्थ्यो।'
जापारोभ सन् २०२० को आन्दोलनको बलमा सत्तामा स्थापित भएका थिए। यो देशलाई लामो समयदेखि मध्य एसियाको सबैभन्दा स्वतन्त्र र लोकतान्त्रिक देशको रूपमा हेरिएको थियो।