काठमाडौं। अमेरिकाले नेपाली नागरिकलाई दिँदै आएको टेम्पोररी प्रोटेक्टेड स्टाटस (टीपीएस) सुविधा खारेज गरेको छ। नेपालका लागि टीपीएसको मान्यता २०२५ अगस्त ५ राती ११ः५९ बजे अन्त्य हुने यूएस सिटिजनसिप एन्ड इमिग्रेसन सर्भिसको वेबसाइटमा उल्लेख गरिएको हो।
यो निर्णयसँगै टीपीएस मान्यतामा अमेरिकामा बसेका करिक ७ हजार नेपालीले स्वदेश फर्किनुपर्नेछ।
डिपार्टमेन्ट अफ होमल्यान्डका सचिव क्रिस्टी नोएमले नेपालमा अब टीपीएसको कानुनी निष्कर्ष पूरा नहुने निष्कर्ष बताएको वेबसाइटमा उल्लेख छ।
अमेरिकाको डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीले नेपालको अहिलेको अवस्थाबारे समीक्षा र अन्य सरकारी निकायबीचको परामर्शपछि टीपीएस खारेज निर्णय भएको यूएस सिटिजनसिप एन्ड इमिग्रेसन सर्भिसको वेबसाइटमा भनिएको छ।
‘तपाईं टीपीएस स्टाटसमा अमेरिका बसिरहनुभएको छ र यहाँ बस्ने अन्य वैधानिक आधार नभए नेपाल फर्किन तयार हुनुस्’, सूचनामा भनिएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अघिल्लो कार्यकालमा नेपाललाई टीपीएस खारेज प्रक्रिया अघि बढाइएको थियो। नेपालमा ७२ भूकम्पछि अमेरिकी सरकारले त्यसबेला कागजातबिनै बसेका नेपालीलाई टीपीएस सुविधा दिएको थियो। त्यसबेला करिब १५ हजार नेपाली नागरिकले टीपीएस सुविधा लिएका थिए।
राष्ट्रपति ट्रम्पको आप्रवास नीतिमा कडाइसँगै नेपाली नागरिक पनि प्रभावित हुन लागेका हुन्। अमेरिकाको आप्रवासन प्रणालीअन्तर्गत विशेष परिस्थितिमा दिइने सुविधालाई टीपीएस भनिने गरेको यो सुविधा पाएका निश्चित देशका नागरिकलाई अस्थायी रूपमा अमेरिकामा बस्न, काम गर्ने सुविधा हुन्छ।
यस्तो सुविधा पाएकालाई अमेरिकी भूमिबाट निष्कासन नगरिने, वैध रूपमा काम गर्ने अनुमति दिइए पनि स्थायी बसोबासको सुविधा पाउँदैनन्।