काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमको विलिङ सिस्टम अपग्रेड गर्ने कार्यमा मिलेमतो गरी भ्रष्टाचार गरेको आरोपमा नेपाल दूरसञ्चार प्राधिकरणकी प्रबन्ध निर्देशक संगीता पहाडीसहित १८ जनाविरुद्ध मुद्दा दायर गरेको छ। जसमा निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेलदेखि विदेशी कम्पनीसमेत रहेका छन्।
उनीहरूविरुद्ध नेपाल दूरसञ्चार कम्पनी र चिनियाँ कम्पनी एसिया इन्फो लिंकेजबीच भएको ठेक्का सम्झौतामा १८ करोड ४८ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर भएको हो।
टेलिकमले प्रदान गरी रहेका जीएसएम मोबाइल, फाइबर, इन्टरनेट, लिज्ड लाइन, वाइरलाइन र वायरलेस आदि दूर सञ्चारसम्बन्धी सेवाहरूको बिलिङ विभिन्न प्लेटफर्मबाट विद्युतीय माध्यमबाट सञ्चालन भई रहेको प्रणालीलाई एउटै प्लेटफर्ममा एकीकृत गर्ने बिलिङका लागि उक्त ठेक्का सम्झौता भएको थियो।
दूर सञ्चारका तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेलसमेत उच्च पदाधिकारीले टेलिकमको बिलिङ सिस्टम अपग्रेड गर्ने कार्यमा मिलेमतोमा २०६८ पुस ६ गते गरेको सम्झौतामा भ्रष्टाचार गरेको अख्तियारको दाबी छ।
अख्तियारले १८ जनाविरुद्ध मुद्दा दायर गरे पनि यस प्रकरणको अनुसन्धानमा तानिएका २३ जनालाई मुद्दा नचल्ने निर्णय गरेको छ। तत्कालीन तत्कालीन सञ्चालक समितका अध्यक्ष हरिप्रसाद बस्याल, पूर्वमुख्यासचिव डा. वैकुण्ठ अर्याल, सदस्यहरू सहसचिव भूपाल बराल, उत्तरकुमार खत्री, शंकर लामिछाने, कम्पनी सचिव राजेन्द्र अर्याल, तत्कालीन प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी र तत्कालीन प्राविधिक अधिकृत भानुराज श्रेष्ठविरुद्ध मुद्दा दायर नभएको हो।
यस्तै, तत्कालीन निर्देशक राधाकृष्ण ढुंगेल, तत्कालीन नायव प्रबन्ध निर्देशक मिनु प्रधान, तत्कालीन निर्देशक सविना मास्के, तत्कालीन प्रबन्धक हरि ढकाल, गंगासागर मातंछे, कुमारप्रसाद खतिवडा, प्रकाश मानन्धर, सुबोध रिमाल, शोभन अधिकारी, अनुप रेग्मी, तत्कालीन उपप्रबन्धक मणिराज पौडेल, सुदिपराज घिमिरे र सरोज प्रधान, सन्तोष भण्डारी मुद्दा नचल्ने निर्णय गरिएको हो। तत्कालीन वरिष्ठ इन्जिनियर प्रयाग खड्कालाई पनि मुद्दा नचलाउने निर्णय अख्तियारले जनाएको छ।