काठमाडौं। हाइ एण्ड कफीमा एकछत्र राज गर्दै आएको हिमालयन जाभालाई टंक्कर दिने गरी प्रतिष्ठित व्यावसायिक घराना जावलाखेल ग्रुपले विश्व प्रसिद्ध अमेरिकी ब्राण्ड सिनाबोन नेपाल भित्र्याएको छ।
विषेश गरी मदिराजन्य पेय पदार्थहरु उत्पादन, निर्यात तथा बिक्री वितरण गर्दै आएको जावलाखेल ग्रुप अफ इण्डस्ट्रिजले कफी र बेकरी पारखीहरुलाई लक्षित गरी विश्वको रिनाउन्ड ब्रान्ड सिनाबोन भित्र्याएको हो।
सिनाबोन वेकरी र कफीका लागि रिनाउन्ड ब्राण्ड हो। त्यसैले पनि सिनाबोनको प्रवेशले कफी पारखीहरुका लागि अर्को स्वादको अप्सन हुने विश्वास जावलाखेल ग्रुपको छ।

काठमाडौं उपत्यका सहित मुख्य सहरमा विस्तार गर्ने उद्देश्य राखेको जावलाखेल ग्रुपले एक महिनाअघि ललितपुरको सानेपामा पहिलो आउटलेट सुरु गरेको छ। काठमाडौं भित्रमा पहिलो चरणमा २२ वटा आउटलेट सञ्चालन गर्ने गरी आन्तरिक तयारी थालिसकेको ग्रुपका एक प्रतिनिधिले जानकारी दिए।
सिनाबोन दालचिनी रोलका लागि परिचित छ। ५० भन्दा बढी देशहरूमा उपस्थितिको साथ, सिनाबोनले आफ्नो उत्कृष्ट सुगन्ध र सिग्नेचर स्वादका साथ विश्वभरका ग्राहकहरूलाई मोहित पारेको छ।
जाभाको भन्दा मूल्य सस्तो
कफीका लागि परिचित हिमालयन जाभामा पाइने कफीको तुलनामा सिनाबोनमा मूल्य पनि सस्तो रहेको छ। सानेपामा सञ्चालित सिनोबन कफीमा अन्य ठाउँको तुलनामा सस्तो मूल्य राखेका छन्। ‘यही मूल्य हाम्रो सबै आउटलेटमा हुन्छ,’ ती प्रतिनिधिले भने, ‘हाम्रो ध्यान मूल्यमा प्रतिस्पर्धाभन्दा सस्तोमा गुणस्तरीय कफी हो।’

कफीमा जाभाको एक्लौटी तोडिने
अमेरिका सहित विभिन्न मुलुकमा स्वादमा प्रख्याती कमाएको कफी ब्राण्ड नेपाल भित्रिएपछि त्यसको प्रत्यक्ष असर हिमालयन जाभामा देखिने भएको छ। हालसम्म कफीमा एकछत्र राजगर्दै आएको जाभालाई सिनाबोनले टक्कर दिने देखिन्छ। खासगरी हाइ एण्ड कफीमा जाभाको एक्लौटी रहँदै आएको छ।

बीचमा विभिन्न ब्राण्डले जाभालाई टक्कर दिन खोजे पनि हालसम्म उसको एक्लौटी तोड्न सकिरहेको थिएन। नेपालको प्रशिद्ध र स्थापित ग्रुपले भित्र्याएको भएकोले पनि यो ब्राण्डप्रति उपभोक्ताको विश्वास बढ्न सक्ने विश्वास ग्रुपको छ।