काठमाडौं। पाकिस्तानविरुद्ध भारतले गरेको ‘अप्रेसन सिन्दूर’पछि नेपालसँग सीमा जोडिएका नाकामा सुरक्षा अलर्ट गरियो। नेपाल र भारत दुवै पक्षले सीमामा गरेको सुरक्षा कडाइको प्रभाव चोरी तस्करी नियन्त्रणमा परेको छ।
नेपाल हुँदै पाकिस्तानले भारतमा आक्रमण गर्न सक्ने आकलन हुँदा दुवै देशले सीमा सुरक्षामा कडाइ गरेका थिए। यो अहिले पनि निरन्तर छ। भारत र पाकिस्तानबीचको युद्ध अन्त्य भए पनि सुरक्षा कडाइ जारी छ।
नेपालले पनि अहिले सीमा क्षेत्रमा सशस्त्र प्रहरीमार्फत कडाइ भइरहेको छ। साेही कारण भारतबाट चोरी तस्करी भएर आउने सामानको संख्यामा कमी आएको व्यवसायीहरुको भनाइ छ।
नेपालभन्दा भारतमा खाद्यान्नसहित लत्ताकपडा सस्तो हुने भएकाले खुला सिमानाको फाइदा उठाउँदै चोरी तस्करी हुने गरेको थियो। व्यवसायीले पटक-पटक चोरी तस्करी नियन्त्रण गर्न सरकारसँग माग गर्दासमेत बेवास्ता गरिरहेका बेला भारत र पाकिस्तानबीचको युद्धको प्रत्यक्ष फाइदा नेपालमा परेको व्यवसायीको भनाइ छ।
सरकारले चाहे चोरी तस्करी नियन्त्रणमा आउँदो रहेछ भन्ने उदाहरण पछिल्लो समय देखिएको उद्योगी शशिकान्त अग्रवालको भनाइ छ। ‘खुल्ला सिमानाको फाइदा उठाउँदै हुने चोरी तस्करी नियन्त्रण हुँदा व्यवसायीलाई मात्र हैन, सरकारलाई समेत ठूलो फाइदा हुन्छ,’ उनले भने, ‘घरेलु उद्योगको उत्पादन वृद्धि हुने, रोजगारी सिर्जना हुने र राजस्वसमेत बढ्छ, यसमा सरकारले विशेष ध्यान दिनुपर्छ।’
उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुरानाले पछिल्लो समय भारतबाट हुने चोरी तस्करीमा कमी आएको व्यवसायीहरुले बताउन थालेको बताए। ‘खुलेआम हुने चोरी तस्करीमा केही नियन्त्रणमा आएको हो कि भन्ने भान हुन थालेको छ,’ अध्यक्ष सुरानाले भने, ‘यसैगरी दीर्घ कालिन रुपमा कडाई गरे नेपाललाई ठूलो राहत हुन्छ।’
सरकारलाई बजेटमार्फत नीतिगत निर्णय गरेर भारतबाट हुने चोरी तस्करी नियन्त्रण दीर्घकालिन रुपमा गर्न सुझाव दिए पनि वेवस्था गरेको उनको भनाइ छ। ‘नेपालभन्दा भारतमा सामान सस्तो हुने भएकाले त्यहीबाट सामान ल्याउन लालायित हुनु स्वभाविक हो,’ अध्यक्ष सुरानाले भने, ‘नेपाल र भारतको मूल्य समान बनाए मात्र पनि चोरी तस्करी आफैमा नियन्त्रण हुन्छ, यसमा सरकार गम्भिर भएन।’
विरगञ्ज उद्योग वाणिज्य संघका एक पदाधिकारिका अनुुसार भारत र पाकिस्तानबीचको युद्धपछि त्यहाँबाट चोरी तस्करी भएर आउनेमा कडाई भएको छ। सीमा क्षेत्रमा प्रहरी परिचालन गरी कडाई गरेपछि त्यसको प्रत्यक्ष असर चोरी नियन्त्रणमा पुगेको ती पदाधिकारीको भनाइ छ।
मदिरादेखि चिनीसम्म तस्करी
भारतबाट चोरी तस्करीमा आउने सबैभन्दा बढी सामानमा मदिरा, जुत्ता चप्पल, चिनी, चामल र लत्ता कपडा हुने गरेको छ। नेपालको तुलनामा भारतमा कर कम रहँदा मूल्य सस्तो हुने गरेको छ।
जसका कारण सीमा क्षेत्रमा केही व्यापारीहरुले विचौलियालाई प्रयोग गरेर भारतबाट चोरी तस्करीमार्फत सामान ओसार्ने गरेका छन्।