काठमाडौं। पाकिस्तान तहरिक–ए–इन्साफ (पिटिआई)ले सोमबार पाकिस्तानको हालै जारी आर्थिक सर्वेक्षणलाई लिएर सरकारको कडा आलोचना गर्दै यसलाई गठबन्धनको असफल आर्थिक व्यवस्थापन र देशमा गहिरो संकटको प्रमाण भनेको छ।
पिटिआईका सूचना सचिव शेख वकास अकरम र विपक्षी नेता उमर अयुब खानले पत्रकार सम्मेलनमा अर्थमन्त्री मुहम्मद औरङ्गजेबले मुद्रास्फीति, गरिबी र स्थिरतालाई नियन्त्रण गर्न सत्ताधारी गठबन्धनको असक्षमतालाई उजागर गर्दै आर्थिक प्रतिवेदन ‘माफी माग्ने तरिकामा’ प्रस्तुत गरेको बताए।
उनीहरूले मात्र तीन वर्षमा तीन करोड पाकिस्तानी गरिबीको रेखामुनि धकेलिएको दाबी गरेको डनले बताएको छ। यसअघि पिटिआईको छ दशमलव पाँच प्रतिशतको वृद्धिदरको आलोचना गर्नेहरूले अहिले आफ्नो ‘सबैभन्दा खराब’ प्रदर्शनको रक्षा गरिरहेको अकरमले बताए। राष्ट्रपति आसिफ जर्दारीले सार्वजनिक समस्या समाधान गर्ने वाचा गरे पनि गरिबी मात्र बढेको उनले बताए।
तीन वर्षमा वृद्धि दर एक दशमलव पाँच प्रतिशतमा झरेको र बिजुलीको बिल तिर्न नसक्ने भएकाले धेरै नागरिकहरू सौर्य ऊर्जा अपनाउन बाध्य भएको पनि उनको भनाइ थियो। उनका अनुसार मुद्रास्फीति ११ दशमलव पाँच प्रतिशतमा उच्च रहेको छ, जसले सरकारको सुधारको दाबीलाई खण्डन गर्छ।
अयुबले सरकारको कृषि नीतिहरूको आलोचना गर्दै आधारभूत क्षेत्रहरू पनि घटेको बताए। “सबै बालीले नकारात्मक वृद्धि देखाए, तर गधाहरूको जनसंख्या बढेको छ”, उनले भने।
पाकिस्तान ब्युरो अफ स्ट्याटिस्टिक्सको तथ्यांकलाई उद्धृत गर्दै उनले सन् २०२२ मा ५० हजारको मूल्य घटेर २० हजार आठद सय ३३ रुपैयाँ पुगेको र चियाको मूल्य ७४ प्रतिशतले बढेको बताए।