काठमाडौं। केही महिनाअघि अमेरिकाको क्यालिफोर्निया राज्यको लस एन्जलसमा ठूलो आगलागी हुँदा अर्बौं डलरको नोक्सानी भएको थियो। करिब महिना दिनको प्रयासपछि आगलागी नियन्त्रणमा आएको थियो। सोही स्थानमा अहिले हिंसा भड्किँदा आगलागीसँगै आन्दोलन भड्किएको छ।
विगत चार दिनदेखि जारी हिंसामा अहिलेसम्म दुई जनाले ज्यान गुमाइसकेका छन्। अवैध आप्रवासीलाई निष्कासन गर्ने प्रदेश सरकारको निर्णयविरुद्ध सुरु भएको आन्दोलन हिंसात्मक बन्दै गएको हो।
आन्दोलनलाई नियन्त्रण गर्न राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले थप दुई हजार राष्ट्रिय गार्ड तैनाथ गर्न निर्देशन दिएका छन्। योसँगै आन्दोलन दबाउनका लागि परिचालित राष्ट्रिय गार्डको संख्या चार हजार पुगेको छ। यसबाहेक, सात सय मरिन कमाण्डोसमेत तैनाथ हुने भएका छन्। उनीहरूले राष्ट्रिय गार्डसँगै सुरक्षा व्यवस्था सम्हाल्ने छन्। यी मरिन सैनिक दक्षिण क्यालिफोर्नियाको 'ट्वान्टी नाइन पाम्स बेस'बाट आउँदै छन्।
-1749554785.jpg)
यसअघि ट्रम्पले लस एन्जलसमा हिंसा र तोडफोड फैलिएपछि तैनाथ राष्ट्रिय गार्डले नियन्त्रण गरेको भन्दै प्रशंसा गरेका थिए। यी सैनिकलाई सामान्यतया राज्यका गभर्नरको आदेशमा बोलाइन्छ। तर, यस पटक ट्रम्प आफैंले तिनीहरूलाई तैनाथ गरेका थिए।
ट्रम्पले गरे गभर्नरको विरोध
राष्ट्रपति ट्रम्पले क्यालिफोर्नियाका गभर्नर गेभिन न्यूसमलाई पक्राउ गरिए राम्रो कदम हुने बताएका छन्। गेभिन लस एन्जलसमा राष्ट्रिय गार्ड तैनाथीको विरोध गरिरहेका छन्। उनी भन्छन्, 'राज्य सरकारले यसका लागि ट्रम्पविरुद्ध मुद्दा दायर गर्ने छ।'
ट्रम्पका सहयोगी र सीमा अधिकारी टम होमनले कुनै सरकारी अधिकारीले संघीय कानुनमा बाधा पुर्याए पक्राउ गर्न सकिने बताए। यद्यपि, पछि उनले स्पष्ट पारे कि न्यूसमलाई पक्राउ गर्ने कुनै योजना छैन। उनले थपे, 'कानुनभन्दा माथि कोही पनि छैन।'
प्रदर्शनकारीले अमेरिकी झण्डामा थुके
सोमबार प्रदर्शनकारीले सयौँ सवारी साधन जलाए। धेरै प्रदर्शनकारीले अमेरिकी झण्डामा थुके। यसैबीच राष्ट्रपति ट्रम्पले प्रदर्शनमा मास्क लगाएकालाई तुरुन्तै पक्राउ गर्न आदेश दिएका छन्।
-1749554785.jpg)
सुरक्षा क्यामेराबाट बच्न प्रदर्शनकारीले मास्क लगाएर सडकमा निस्केका थिए। ट्रम्पले सामाजिक सञ्जालमा लेखेका छन्, 'शहर अवैध आप्रवासीले कब्जा गरेको छ, यसलाई चाँडै मुक्त गरिने छ।'
तीन हजार आप्रवासी पक्राउ गर्ने लक्ष्य
ट्रम्पको निर्वासन नीतिअन्तर्गत आइसीईले हरेक दिन रेकर्ड संख्यामा तीन हजार कागजात नभएका आप्रवासीलाई पक्राउ गर्ने र देश निकाला गर्ने लक्ष्य राखेको छ।
छापा मार्नुका कारण केही व्यापारीद्वारा नक्कली कागजातको प्रयोग हुनु पनि रहेको छ। अधिकारीका अनुसार, हरेक दिन लगभग १६०० अवैध आप्रवासी पक्राउ परिरहेका छन्।
-1749554786.jpg)
यी प्रदर्शनकारीमा मुख्यतया आप्रवासी समुदायका समर्थक, स्थानीय बासिन्दा र मानवीय आप्रवासी अधिकारका लागि गठबन्धन र राष्ट्रिय दिवस मजदुर संगठन नेटवर्क जस्ता आप्रवासी अधिकारका लागि काम गर्ने संस्थाका सदस्य समावेश छन्।
ह्वाइट हाउसका उपप्रमुख कर्मचारी स्टिफन मिलरले विरोध प्रदर्शनलाई कानुन र देशको सार्वभौमिकताविरुद्धको विद्रोह भनेका छन्। एजेन्सी
-1749554787.jpg)
-1749554788.jpg)
-1749554788.jpg)