पूर्वी एसियाको सानो मुलुक कम्बोडिया– जुन दशकौं अघि खमेररुजको क्रूरता र गृहयुद्धको पीडामा थियो। आज विकासको यात्रामा सरपट दौडिरहेको छ। हालैको मेरो कम्बोडिया भ्रमणले पर्यटनका माध्यमबाट कसरी राष्ट्र पुनर्निर्माण गर्न सकिन्छ भन्ने गहिरो सन्देश प्राप्त भयो। जोसुकै नेपाली विदेश पुगे पनि पहिला नेपालसँगको तुलना हुन्छ।
नेपाल कहिले विकास हुन्छ? यत्तिको विकास र समृद्धि हाम्रो पालामा हुन्छ कि हुँदैन? एक नेपालीको हैसियतले मैले यसपालि पनि बारम्बार नेपालको अवस्था र सम्भावनासँग यसको तुलना गरें। कम्बोडियाको द्वन्द्वबाट विकाससम्मको यात्रा विश्वका लागि प्रेरणादायी छ।
यद्यपि लोकतान्त्रिक प्रणाली अझ परिपक्व हुन बाँकी छ, राजनीतिक स्थायित्व, आर्थिक विविधीकरण र विदेशी लगानीको वृद्धिले देशलाई नयाँ उचाइमा पु¥याएको छ। चरम द्वन्द्ध, राजनीतिक अस्थिरताका बाबजुद कम्बोडियाले प्राप्त गरिरहेको समृद्धि लोभलाग्दो छ।
कम्बोडिया आज एक यस्तो राष्ट्र हो, जसले हिंसा, राजनीतिक अस्थिरता र आर्थिक दुर्दशाबाट उक्लँदै विकासको नयाँ युगमा पाइला टेकेको छ। कहिल्यै नबिर्सिने खमेर रुजको क्रूर शासनबाट गुज्रिएको यो देश आज आफ्नो आर्थिक सम्भावनाको नयाँ पहिचान बनाउँदै छ।

कम्बोडियाको द्वन्द्व समाधान, वर्तमान राजनीतिक अवस्था, राजसंस्थाको भूमिका र विदेशी लगानीको अवस्थाबारे जति जान्न इच्छुक भयो, उति रोमाञ्चकारिक प्लट तयार हुन्छन्।
नेपाल र कम्बोडियाबीच आन्तरिक द्वन्द्व एवं राजनीतिक व्यवस्थाका फेरबदल र अहिले भइरहेको प्रयासमा केही झिनामसिना समानता पनि पाइन्छन्। दुवै देशमा द्वन्द्व भयो। त्यस्तै राजसंस्थाको उतारचढाव पनि रोचक छ। कम्बोडियाले राजा राख्दै शक्ति प्रधानमन्त्रीमा सीमित गर्यो। नेपालले पूर्ण गणतन्त्र रोज्यो तर, अहिले पुनः राजसंस्थाको बहस चलिरहेको छ।
कम्बोडिया आज एक यस्तो राष्ट्र हो, जसले हिंसा, राजनीतिक अस्थिरता र आर्थिक दुर्दशाबाट उक्लँदै विकासको नयाँ युगमा पाइला टेकेको छ।
एक महिनाअघि मात्र चीनको ईभी कम्पनी बिवाईडीले ३२ मिलियन डलर लगानीमा कम्बोडियामा विशाल कारखाना स्थापनाका लागि शिलान्यास गर्यो। उक्त कारखाना १ लाख २० हजार वर्गमिटर क्षेत्रफलमा फैलिएको छ र वार्षिक १० हजार सवारी उत्पादन क्षमता राख्छ। तीव्र औद्योगिकीकरणका लागि अगाडि बढेको कम्बोडियामा यो परियोजनाले नयाँ हौसला दिएको छ। तर, कम्बोडिया औद्योगिकीकरणसँगै पर्यटनबाट अझ बढी लाभ लिने योजनामा छ ।
अंकोर वाट सिएम रियपमा अवस्थित विशाल हिन्दु र पछि बुद्धिष्ट मन्दिर हो। यसले न केवल धार्मिक आस्थालाई प्रतिनिधित्व गर्छ, कम्बोडियाको पर्यटन अर्थतन्त्रको मेरुदण्ड पनि हो। राजधानी फ्नोमपेन्हबाट अलि टाढा भएकाले पाँचदिने बसाइँमा पनि यो ठाउँ पुग्न सकिएन। तर, स्थानीय र त्यहाँ रहेका नेपाली व्यवसायीले मज्जाले ब्रिफिङ गरे। जान नसकिएको कारण भने बिहान चाँडै उठ्न नसकेरै हो। अरु साथीहरू होटलबाट बिहानै हिँडिसकेछन्।
ट्याक्सी ड्राइभर, रिक्सा ड्राइभर, रेस्टुरेन्टका साहू, सपिङ मलका पसलेसँग गफिन थालेपछि उनीहरूले आफ्नो देशको विगत कालो भए पनि अहिले विकासको स्वाद चाखिरहेको कुरालाई गर्विलो साथ सुनाउँछन् ।
तर, कम्बोडियाको पर्यटन केवल अंकोर वाटमा मात्र सीमित छैन। टोन्ले साप झिल, कम्पोट र केपजस्ता प्राकृतिक स्थल, फ्नोमपेन्हको किलिंग फिल्डजस्ता ऐतिहासिक स्मृति स्थल र आधुनिक क्याफे संस्कृति सम्मिलित नाइटलाइफले पर्यटनलाई बहुआयामिक बनाएको छ।
नेपालमा पनि सगरमाथा, लुम्बिनी, जनकपुर, चितवन, पोखरा, मुक्तिनाथ, राराजस्ता स्थल छन् तर, कम्बोडियाले आफ्नो सम्पदालाई एकीकृत रणनीतिका साथ उपयोग गर्न सकेको छ। फरक यत्ति हो, हामीमा रणनीति र योजनाअनुसार काम अगाडि नै बढ्न सक्दैन । हाम्रा सम्पदा संरक्षण गरेर उचित लाभ लिन सकिरहेका छैनौं ।
अर्थतन्त्र, उत्पादनमुखी संरचना र लगानीमैत्री वातावरण
कम्बोडियाको कुल गार्हस्थ उत्पादनमा उद्योग, निर्माण र सेवाक्षेत्रको योगदान उल्लेखनीय छ। खासगरी गार्मेन्ट निर्यात र चीनबाट प्रत्यक्ष वैदेशिक लगानीले अर्थतन्त्रलाई टेवा दिएको छ। नयाँ सडक, पुल र अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँगै स्पेसल इकोनोमिक जोन एवं व्यवसायीमैत्री कानुनका कारण पनि विदेशी लगानीकर्तालाई आकर्षित गरिएको छ।
नेपालमा पछिल्लो समय केही हाइड्रोपावर, टुरिजम, आइटी र एग्रो प्रोसेसिङमा सम्भावना देखिए पनि नीति अस्थिरता, सरकारी झन्झट र प्रशासनिक ढिलाइका कारण लगानीकर्ता हतोत्साहित छन्। यी विषय हामी दशकौंदेखि उठाइरहेका छौं। विज्ञहरूले सार्वजनिक स्थानमा दशकौंदेखि भन्दै पनि आइरहेका छन्। हामी सच्चिन तयार छैनौं।

कम्बोडियाले ई–भिसा सिस्टम, अनलाइन बुकिङ सुविधा, पर्यटक गाइड तालिम कार्यक्रम र विमानस्थल सुधारजस्ता कदम लिएर विश्व बजारमा आफूलाई आकर्षक गन्तव्यको रूपमा उभ्याएको छ।
नेपालमा भने पर्यटक आएपछि पनि सडक अवस्था, ट्राफिक, झन्झटपूर्ण भिसा प्रक्रिया र आवश्यक पूर्वाधार अभावजस्ता समस्या देखिन्छन्। पर्यटकलाई हैरानी पार्ने कुरा नेपालमा ज्यादा छन्। यसले विश्व पर्यटन बजारमा नेपालको सन्देश राम्रो गएको छैन।
नेपालमा पछिल्लो समय केही हाइड्रोपावर, टुरिजम, आइटी र एग्रो प्रोसेसिङमा सम्भावना देखिए पनि नीति अस्थिरता, सरकारी झन्झट र प्रशासनिक ढिलाइका कारण लगानीकर्ता हतोत्साहित छन्।
यदि नेपालले डिजिटल ट्राभल प्लेटफर्म, हेल्पलाइन सेवा, पर्यटन सूचना केन्द्र, स्मार्ट ट्राभल कार्डजस्ता उपाय लागू गर्न सके हामीले पनि पर्यटकको विश्वास जित्न सक्छौं। हाम्रोमा आउने पर्यटककै ‘वर्ड अफ माउथ’ले हाम्रो नै प्रचार हुने हो।
कम्बोडियाले बर्सेनि ५० लाखभन्दा बढी पर्यटक स्वागत गर्छ। त्यहाँको डिजिटल भिसा प्रक्रिया, सफा सहर, किफायती होटल र ट्राभल प्याकेजले पर्यटकलाई सहजता दिएको छ। यदि नेपालले कम्बोडियाले जस्तै सरकारी/निजी साझेदारी, डिजिटल सुविधा र पर्यटकमैत्री सेवा विस्तार गर्न सके हाम्रो पर्यटन उद्योगले पनि चमत्कारी उचाइ लिन सक्छ।
२० वर्षअघि युद्धको घाउ बोकिरहेको कम्बोडियाले आज ७ प्रतिशत बढी आर्थिक वृद्धिदर कायम राख्दै आएको छ। मुख्य रूपमा गार्मेन्ट उद्योग, पर्यटन, कृषि र निर्माण क्षेत्रमार्फत कम्बोडियाले अर्थतन्त्रलाई बलियो बनाइरहेको छ।
चीन, दक्षिण कोरियालगायतका मुलुकको लगानीले फ्नोमपेन्ह र अन्य सहरमा आधुनिक भवन, सडक, विमानस्थल र बन्दरगाह निर्माण भइसकेका छन्। मैले सडकदेखि बजारसम्म स्पष्ट रूपमै तीव्र विकास देख्न सकें। नेपालको सन्दर्भमा हामी अझै वैदेशिक रोजगारी र कृषिमा निर्भर छौं। औद्योगिकीकरण, पूर्वाधार, लगानीमैत्री नीति र स्थायित्व अभावले नेपालको सम्भावना उपयोग हुन सकेको छैन।
राजनीतिः स्थायित्व र नियन्त्रणको बीचमा सन्तुलन
कम्बोडियाका प्रधानमन्त्री हुन सेनले करिब चार दशक लामो शासन गरे। आलोचकहरू भन्छन्– यसले लोकतन्त्रलाई कमजोर बनाएको छ, विपक्षीलाई दबाबमा राखेको छ। तर, उनकै निरन्तर नेतृत्वले दीर्घकालीन योजना कार्यान्वयन गर्ने वातावरण दिएको पनि मानिन्छ।
नेपालमा भने बारम्बार सरकार परिवर्तन हुँदा योजनाहरू बीचमै अलपत्र पर्छन्। एउटा पार्टीले सुरु गरेको परियोजना अर्काे पार्टीले छेकिदिने प्रवृत्तिले विकास रोकिने गरेको छ। नेपालमा पछिल्लो १५ वर्षमा एक दर्जन बढी प्रधानमन्त्री फेर्नुपर्यो। स्थायित्व अभावले ठूला परियोजना अगाडि बढ्न सकेका छैनन्।
लोकतान्त्रिक व्यवस्था कायम रहे पनि कार्यान्वयनमा राजनीतिक दलहरूको असहमतिले विकासलाई पछि धकेलिरहेको छ। राजनीतिक स्थायित्व विकासको पूर्वसर्त हो भन्ने कुरा कम्बोडियाको अनुभवले पुष्टि गर्छ। कम्बोडियाले बेल्ट एन्ड रोड पहलअन्तर्गत ३० वटा मेगा प्रोजेक्ट स्वीकार गर्यो। जीडीपीको ४० प्रतिशत बराबर चिनियाँ ऋण लिएर विकासमा खर्च गरिरहेको छ।
खमेर रुजको छायाबाट उज्यालोतर्फको यात्रा
१९७५ देखि १९७९ सम्मको खमेर रुज शासनकालमा करिब २० लाख मानिसको ज्यान गएको थियो। पोल पोट नेतृत्वको यो क्रूर शासकीय प्रणालीले आर्थिक, शिक्षा, स्वास्थ्य, सहर सबै समाप्त पारिदियो। १९७९ मा भियतनामी हस्तक्षेपले खमेर रुजलाई सत्ताच्युत गर्यो र पुनर्निर्माणको यात्रा सुरु भयो।
१९९१ को पेरिस शान्ति सम्झौताले शान्ति प्रक्रिया सुरु गर्यो । संयुक्त राष्ट्रसंघले सन् १९९३ मा देशमा पहिलो पटक लोकतान्त्रिक निर्वाचन सम्पन्न गरायो। शान्तिपछि देशले विकासको बाटो समात्न थाल्यो र समृद्धिका लागि अगाीि बढिरहेको छ ।
कम्बोडिया आज एक संवैधानिक राजतन्त्र हाे, जसमा संसदीय लोकतन्त्र प्रणाली लागू गरिएको छ। तर, व्यवहारमा सत्ता केही व्यक्तिमा केन्द्रित देखिन्छ। करिब ४० वर्षसम्म सत्तामा रहेका हुन सेनले २०२३ मा आफ्ना छोरा हुन मानेटलाई प्रधानमन्त्रीको जिम्मेवारी हस्तान्तरण गरेका छन्।

यद्यपि निर्वाचन नियमित रूपमा हुने गर्छ। प्रमुख विपक्षी दल ‘कम्बोडिया नेशनल रेस्क्यु पार्टीलाई सन् २०१७ मा सर्वाेच्च अदालतले विघटन गरेपछि लोकतान्त्रिक विश्वसनीयतामा प्रश्न उठेको छ।
राजा नरोदम सिहामोनीले २००४ देखि सिंहासन सम्हालिरहेका छन्। उनी सांस्कृतिक, मानवीय र राष्ट्रिय एकताको प्रतीकका रूपमा परिचित छन। उनले कार्यकारी शक्ति प्रयोग गर्दैनन् तर, राष्ट्रिय एकता र परम्पराको सन्देश दिन्छन्। राजसंस्था, जुन इतिहासमा गहिरो रूपमा गाँसिएको छ, आजको अस्थिर राजनीतिक परिवेशमा एक स्थायित्वको कारक बनेको छ।
आर्थिक रुपान्तरण र क्षेत्रगत विस्तार
सन् २००० पछि कम्बोडियाको औषत आर्थिक वृद्धिदर ७.५ भन्दा माथि रह्यो। प्रमुख आर्थिक क्षेत्रको योगदान बर्सेनि बढ्दै गएको छ। कपडा र तयारी पोसाक कम्बोडियाबाट ८० प्रतिशत निर्यात हुने गर्छ। यो क्षेत्रमा चीन, कोरिया, युरोपेली संघबाट लगानी आएको छ। पर्यटन क्षेत्रको योगदान गज्जबले अगाडि बढेको छ।
अंकोर वाटलाई केन्द्र बनाउँदै सन् २०२४ मा ६.७ मिलियन पर्यटक कम्बोडिया पुगेका थिए, जसले ३.६ अर्ब डलर आम्दानी गर्यो। निर्माण र रियलस्टेटका कारण कम्बोडिया तीव्र सहरीकरण भइरहेको छ। चिनियाँ लगानीले बजार चलायमान बनाएको छ। कृषि क्षेत्रमा चामल, रबर र कासावा प्रमुख निर्यात बाली हुन्।

कम्बोडियामा सन् २०२४ मा मात्र ४१४ नयाँ परियोजनामा करिब ७ अर्ब अमेरिकी डलर बराबरको लगानी स्वीकृत भएको छ। चीन सबैभन्दा ठूलो लगानीकर्ता बनेको छ। विशेष आर्थिक क्षेत्रले विदेशी उत्पादन र निर्यातमा टेवा पु¥याएका छन्। तर, पारदर्शिता, श्रमिक अधिकार र वातावरणीय समस्याबारे प्रश्न उठिरहेकै छन्। चिनियाँ लगानीप्रति विशेष चिन्ता जनाइएको छ। यद्यपि ती लगानीले पूर्वाधारमा उल्लेखनीय सुधार ल्याएका छन्।
कम्बोडियाले विकासको बाटो समाते पनि केही चुनौती भने विद्यमान छन्। बलियो संस्थागत संरचना र नागरिक स्वतन्त्रता सुनिश्चित गर्नु कम्बोडियाको आवश्यकता हो। जंगल फँडानी, अवैध उत्खनन् र नदी प्रदूषण दीर्घकालीन विकासमा बाधक बन्ने डर कम्बोडियामा रहेको छ।
कम्बोडिया यात्रा मलाई केवल भ्रमण मात्र होइन, गहिरो अनुभूति पनि बन्यो। एक नेपालीको हैसियतले मलाई लागेको कुरा के भने–कम्बोडिया युद्धपछि पनि अघि बढ्न सक्यो भने नेपाल किन सक्दैन?
कम्बोडिया र नेपालको यात्रा फरक देखिए पनि इतिहास, द्वन्द्व, राजनीतिक अस्थिरता र जनताको संघर्षमा समानता छ। फरक यति हो–कम्बोडियाले विगतलाई अँगालेर भविष्य बनायो, हामी अझै विगतमै अल्झिरहेका छौं।
दुवैमा हिंसात्मक युद्ध, जनताको पीडा र राजनीतिक परिवर्तन भए। कम्बोडियाले दण्डहीनता अन्त्य गर्न प्रभावकारी अन्तर्राष्ट्रिय प्रक्रिया अपनायो, नेपाल अझै न्याय प्रक्रियामा पछाडि छ।
हामीसँग स्रोत, सम्पदा, युवाशक्ति, भौगोलिक विविधता सबै छ। तर, हामीले एकजुट भएर दीर्घकालीन सोच र योजनालाई कार्यान्वयनमा ल्याउन सक्नुपर्छ। कम्बोडिया विकासको क्रममा छ। त्यहाँ अझै समस्या छन् तर, उनीहरूले अगाडि बढ्ने इच्छा, स्थायित्व र स्पष्ट मार्गचित्र बनाएका छन्। नेपालका लागि पनि यही समय हो–आफूलाई पुनःमूल्यांकन गर्ने, सुधार गर्ने र प्रतिस्पर्धी बन्ने।