नेपालमा विद्युतीय सवारी साधान (ईभी)को लहर आएको धेरै वर्ष भएको छैन। इन्धन गाडीको प्रयोग भइरहेको मुलुकमा पछिल्लो केही वर्षयता ईभीको प्रयोग दर धेरै बढेको छ।
निजी क्षेत्रमा मात्र नभई अहिले सार्वजनिक यातायातका रुपमा समेत ईभीले आफ्नो वर्चश्व बढाउँदै गएको छ। लामो होस् या छोटो दुरीमा चल्ने सवारीका रुपमा अहिले ईभी भ्यानहरु बढी मात्रा सडकमा देखिन थालेको छ। वर्षौंदेखि इन्धनका गाडीहरु हुँइकिने सडकमा अहिले ईभी गाडीहरु चल्न थालेसँगै यातायात व्यवसायीले इन्धन गाडीलाई हटाएर विद्युतीय सवारी चलाउन थालेका छन्।
खर्च कम हुने र आम्दानी बढी हुने भएपछि धेरै व्यवसायीहरु ईभीप्रति चासो बढाउँदै गएका छन्। ग्राहकको मागलाई ध्यानमा राख्दै पछिल्लो समय धेरै ब्राण्डका ईभी भ्यानहरु नेपालमा आइरहेका छन्। वर्षौंसम्म इन्धनको गाडी चलाउने चालक अहिले ईभी गाडी हुइक्याउन थालेका छन्।
जति धेरै विद्युतीय सवारी साधान सार्वजनिक यातायातको रुपमा प्रयोग भइरहेको छ, त्यही गतिमा दुर्घटनाको दरसमेत बढ्न थालेको छ। हुन त, इन्धन गाडी पनि दुर्घटना नहुने भन्ने हैन, थिएन। तर, तुलनात्मक रुपमा पछिल्लो समय घटेको दुर्घटना दर हेर्दा इन्धन गाडीभन्दा ईभी गाडीमा बढी देखिन्छ। यात्रुहरुले अनाहकमा ज्यान गुमाइरहेका छन्। यसले ईभीप्रति नकरात्मक टिप्पणी हुन थालेका छन्।
धेरै अनुसन्धानले सार्वजनिक ईभीका अधिकांश दुर्घटनाको मूल कारण चालकको लापरवाही र अपर्याप्त तालिम भएको देखाएको छ।
केही वर्षयता वातावरण मैत्री यातायातको प्रवद्र्धनसँगै विद्युतीय माइक्रो बसको प्रयोग तीव्र रूपमा बढिरहेको छ। यो प्रवृत्तिले प्रदूषण घटाउने, इन्धनको खपत कम गर्ने तथा लामो समयसम्मका लागि दिगो यातायात प्रणाली निर्माण गर्ने दिशामा सकारात्मक योगदान दिएको छ। तर, विद्युतीय माइक्रो बस सञ्चालनसँग सम्बन्धित दुर्घटनाको संख्या पनि उल्लेख्य रूपमा बढ्दै गएको छ।
धेरै अनुसन्धानले सार्वजनिक ईभीका अधिकांश दुर्घटनाको मूल कारण चालकको लापरवाही र अपर्याप्त तालिम भएको देखाएको छ। यस कारण चालकलाई उचित तालिम प्रदान गर्नु अत्यन्तै जरुरी विषय बनेको छ।
संसारमा ईभी नयाँ प्रविधि भएकाले यससम्बन्धी दुर्घटनालाई बढी प्राथमिकतामा राखेर हेरिन्छ। संसारमा ईभीको अनुभव एकदमै कम छ। अन्य देशको तुलनामा नेपालमा ईभी प्रयोग गर्ने चालकहरुको अनुभव झनै कम छ। ईभी गाडीको एफिसेन्सी ज्यादा हुन्छ। अलिकति एक्सिलेटर दबाउँदा पनि हुइकिन्छ।
खुल्ला ठाउँमा गति धेरै हुँदा तत्काल नरोकिने खालका समस्याहरु ईभीमा धेरै हुन्छ। ईभी गाडीमा चालकको अनुभव कम हुँदा र यसको एफिसेन्सीले ज्यादै स्पिड जाँदा दुर्घटना धेरै भएको पाइन्छ। ईभी गाडी दुर्घटना बढ्दै गएकाले यसमा सतर्कता अपनाउनुपर्ने देखिएको छ। यस कारण ईभी गाडी चालकलाई तालिम दिनु आवश्यक देखिन्छ।
ईभी गाडी फुल चार्जमा ओरालो जाँदा पनि समस्या हुने रहेछ। गाडी ओरालो हिँड्दा रिचार्ज हुन्छ। यदि, १०० प्रतिशत चार्ज गरेर ओरालो गयो भने त्यसमा थप चार्ज नहुने हुँदा गाडी ‘डिस ब्यालेन्स’ हुने रहेछ। धेरै ईभी चालकहरुको अनुभवअनुसार ईभीमा १०० प्रतिशत चार्ज गरेर ओरालो हिँड्दा समस्या आउने देखिएको हो।
नेपालमा पछिल्लो समय सार्वजनिक विद्युतीय गाडी दुर्घटना चालकको लापरबाहीका कारण भइरहेको छ। अघिकांश दुर्घटना ओभर स्पिडका कारण हुने गरेको पाइन्छ।
ईभी गाडी डिजेल/पेट्रोल गाडीभन्दा सञ्चालन विधिमा धेरै फरक हुन्छन्। तीव्र एक्सेलेरेसन, रिजनरेटिभ ब्रेकिङ, कम आवाज र टर्क वितरण प्रणालीका कारण विद्युतीय माइक्रो बस चलाउने शैली पनि फरक हुन्छ। धेरै जसो पुराना चालकहरू विद्युतीय प्रविधिप्रति अपरिचित भएकाले दुर्घटनाको जोखिम बढेको हो।
चालकको नियमित तालिम, गाडीको नियमित मर्मत, सडक सुधार र ट्राफिक व्यवस्थापनमा सुधारका साथ जनचेतना अभिवृद्धि गर्नुपर्ने छ।
नेपालमा सार्वजनिक ईभी माइक्रो बसको बढ्दो दुर्घटनाले यातायात क्षेत्रमा नयाँ चुनौती ल्याएको छ। यसलाई समाधान गर्न सम्बन्धित निकायले तत्काल प्रभावकारी कदम चाल्न आवश्यक छ।
तालिमको आवश्यकता किन?
ईभी गाडीमा सञ्चालन प्रविधिको बुझाई चालकलाई विद्युतीय सवारीको कार्यविधि, ब्याट्रीको स्थिति, ऊर्जा व्यवस्थापन र आकस्मिक अवस्थामा गर्ने कार्यको पूर्ण जानकारी हुनु आवश्यक छ। सुरक्षा मापदण्डको पालना विद्युतीय सवारी प्रयोग गर्दा आगलागी, ब्याट्री विस्फोट वा ब्रेक फेल जस्ता जोखिम बढी हुने भएकाले यस्ता समस्याको समाधान कसरी गर्ने भन्ने तालिम लिन जरुरी हुन्छ।
चालकको नियमित तालिम, गाडीको नियमित मर्मत, सडक सुधार र ट्राफिक व्यवस्थापनमा सुधारका साथ जनचेतना अभिवृद्धि गर्नुपर्ने छ। यी सबै पक्षमा सुधार भएपछि मात्र इभी माइक्रो बस सेवा सुरक्षित र भरपर्दाे यातायातको विकल्प बन्न सक्ने देखिन्छ। यातायात नियम र सडकमा यात्रु सुरक्षाको पहिलो जिम्मेवारी चालकको हुने भएकाले उनीहरूलाई ट्राफिक नियम, सडक संकेत चिन्हहरूको सही प्रयोग र यात्रुसँग व्यवहार गर्ने तरिका सिकाउनु आवश्यक छ।
विद्युतीय माइक्रो बस हाम्रो देशको यातायात भविष्य हो। यसलाई सुरक्षित, भरपर्दाे र जनमैत्री बनाउने कार्य चालकको दक्षता र जिम्मेवारीमाथि निर्भर गर्दछ। दुर्घटना न्यूनीकरणका लागि चालकलाई आधुनिक प्रविधि अनुकूल बनाउँदै, व्यवहारिक र नियमित तालिम दिनु अहिलेको आवश्यकता हो। त्यसैले, विद्युतीय माइक्रो बस दुर्घटना न्यूनीकरण गर्न चालकलाई तालिम दिन जरुरी छ।