काठमाडौं। पछिल्लो समय बढ्दो सवारी दुर्घटनाको दर हेर्दा विद्युतीय सवारी साधान (ईभी) भ्यान भयानक देखिन थालेको छ। केही वर्षयता आइसीई इञ्जिन भएका भ्यान र टाटा सुमोलगायतलाई विस्थापित गर्दै सडकमा प्रभुत्व जमाइरहेको ईभी भ्यानको दुर्घटना दर पनि डरलाग्दो हुन थालेको हो।
दिन प्रतिदिन बढ्दो ईभी दुर्घटनापछि नेपाल प्रहरीले निकालको निष्कर्षमा चालकको लापरबाही प्रमुख कारक रहेको जनाएको छ। प्रहरी प्रधान कार्यालयका प्रवक्ता विनोद घिमिरेले विद्युतीय भ्यान दुर्घटना हुनुमा चालक जिम्मेवार रहेको बताए। ‘हुन त आइसिई इञ्जिन भएको गाडी पनि दुर्घटनामा धेरै ठाउँमा चालककै लापरबाही हुने गरेको छ,’ प्रवक्ता घिमिरेले भने, ‘विद्युतीय भ्यान पनि उस्तै प्रकृतिको देखिएको छ।’
पछिल्ला दिनमा भइरहेका सवारी दुर्घटना र त्यसमा ज्यान गुमाउनेहरुको संख्या हेर्दा कहाली लाग्दो छ। यसमा पनि ईभीको दुर्घटना हेर्दा डर लाग्दो देखिन्छ। सवारी दुर्घटना दरलाई नियाल्दै ट्राफिक प्रहरीले देशभरि कडाई गरिरहेको प्रवक्ता घिमिरेको भनाइ छ।
आइसिई इन्धन सवारी साधन र ईभी दुवै दुर्घटना भए पनि संसारमा ईभी नयाँ प्रविधि भएकाले यससम्बन्धी दुर्घटनालाई अलि बढी प्राथमिकतामा राखेर हेरिन्छ। देशभर भएका ईभी दुर्घटनाले धेरैको ज्यान लिइसकेको छ। घाइते हुनेको संख्या पनि बढेको छ। ईभीको दुर्घटनामा चालकको लापरवाही प्रमुख कारणको रुपमा देखिएको छ।
पछिल्लो समय काठमाडौं उपत्यकालगायत विभिन्न क्षेत्रमा सञ्चालित सार्वजनिक विद्युतीय सवारी तथा निजी सवारीले दुर्घटनाको जोखिम बढाइरहेका छन्।
नेपाल प्रहरीको पछिल्लो ११ महिना (साउनदेखि जेठसम्म)को तथ्यांकअनुसार काठमाडौं उपत्यकामा मात्र ईभी गाडी संलग्न दुर्घटनामध्ये ७० प्रतिशतभन्दा बढी घटनामा चालकको लापरवाही प्रमुख कारणका रूपमा देखिएको छ।
विद्युतीय सवारी दुर्घटना
पछिल्लो समय काठमाडौं उपत्यकालगायत विभिन्न क्षेत्रमा सञ्चालित सार्वजनिक विद्युतीय सवारी तथा निजी सवारीले दुर्घटनाको जोखिम बढाइरहेका छन्। नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार यस्ता सवारी साधन चालकका लापरवाहीका कारण सडक दुर्घटनामा उल्लेखनीय वृद्धि भएको छ। यसमा पनि विद्युतीय सार्वजनिक यातायातका रूपमा सुरुवात गरिएको ईभी माइक्रो अहिले उल्टै जोखिमपूर्ण बन्दै गएको छ।
नेपाल प्रहरीको तथ्यांकअनुसार आर्थिक वर्ष २०८१/८२ को जेठ मसान्तसम्म एक हजार ५८२ वटा ईभी दुर्घटना भएका छन्। यसमा कार जीप १९५ वटा, माइक्रो १००, बस २१, विद्युतीय मोटरसाइकल १५३ वटा दुर्घटना भएका थिए।
यसबाहेक झण्डै एक हजार दुर्घटना ट्रक, ट्रिपर, टेम्पोलगायतका अन्य ईभी सवारी साधन भएको देखिन्छ। जसमा ६९ जनाले ज्यान गुमाए। यसमा सबैभन्दा धेरै सवारी दुर्घटना चालकको लापरवाहीका कारण भएको नेपाल प्रहरीले जनाएको छ।
नेपालमा अहिलेसम्म जति ईभी दुर्घटना भएका छन्, त्यसमा अधिकांश चालकको लापरवाहीका कारण भएको नेपाल प्रहरी प्रवक्ता विनोद घिमिरे बताउँछन्।
‘अहिलेसम्म जति पनि सवारी साधन दुर्घटना भएका छन्। त्यसमा सबैभन्दा धेरै चालकको लापरवाहीका कारण भएको देखिन्छ,’ प्रवक्ता घिमिरेले भने, ‘ईभी मात्र नभएर सम्पूर्ण सवारी साधन दुर्घटना चालकको लापरवाहीका कारणले भएको देखिन्छ।’ चालकले ‘ओभर स्पिड’ र मापसेका कारण दुर्घटना हुने गरेको घिमिरेको भनाइ छ।
बढ्दो सवारी दुर्घटनालाई नियन्त्रण गर्न चालकको जिम्मेवारी र ट्राफिक नियमपालनमा कडाइ गर्नु अत्यन्त आवश्यक देखिएको छ।
यातायात विज्ञ आशिष गजुरेलले पनि सार्वजनिक ईभी गाडी दुर्घटनामा चालकको लापरवाही स्वीकार्छन्। ‘पछिल्लो समय जति पनि सवारी साधन दुर्घटना भएका छन्। अघिकांश चालकको लापरवाहीले हुने गरेको पाइन्छ,’ उनले भने। ईभी गाडी दुर्घटना बढ्दै गएकाले यसका लागि चालकलाई तालिम दिनु आवश्यक छ।
नेपाल प्रहरीको तथ्यांकअनुसार देशभर दैनिकजसो हुने सवारी दुर्घटनामध्ये ठूलो हिस्सा चालक अनियन्त्रित गाडी सञ्चालन, मापसे (मद्यपान सेवन) गरेर गाडी हाँक्ने तथा मोबाइल प्रयोगजस्ता लापरवाहीपूर्ण व्यवहारले हुने गरेको पाइएको छ। बढ्दो सवारी दुर्घटनालाई नियन्त्रण गर्न चालकको जिम्मेवारी र ट्राफिक नियमपालनमा कडाइ गर्नु अत्यन्त आवश्यक देखिएको छ।
काठमाडौं उपत्यकाको सवारी दुर्घटना
काठमाडौं उपत्यकाभरि आर्थिक वर्ष २०८१/८२ को जेठ महिनासम्म ६ हजार ४१० सवारी साधन दुर्घटना भएका छन्। जसमा १७० जनाले ज्यान गुमाएका थिए। २४७ जना गम्भीर घाइते र ६ हजार ९७५ जना साधारण घाइते भएका छन्।
यसमा सबैभन्दा धेरै सवारी दुर्घटना चालकको लापरवाहीका कारण भएको काठमाडौं उपत्यका प्रहरीले जनाएको छ। चालु आर्थिक वर्षको जेठ मसान्तसम्म चालकको लापरवाहीका कारण मात्र तीन हजार ६७५ सवारी साधन दुर्घटना भएका छन्। तीव्र गतिका कारण एक हजार २५१ सवारी दुर्घटना, मा.प.से (मद्यपान सेवन) कारण ४२५ र अन्य कारणले ३२७ सवारी साधन दुर्घटना भएका छन्।
दुर्घटना न्यूनीकरणका लागि सरकारले विभिन्न अभियान सञ्चालन गरे पनि अपेक्षित परिणाम आउन सकेको छैन।
उपत्यकामा मात्र साउनदेखि जेठ मसान्तसम्ममा १८६ ईभी दुर्घटना भएका छन्। जसमा एक जनाले ज्यान गुमाउँदा ६६ जना घाइते भएका छन्।
देशभरको सवारी साधन दुर्घटनाको दर
नेपाल प्रहरीको तथ्यांकअनुसार आर्थिक वर्ष २०८१/८२ को जेठ मसान्तसम्म ३८ हजार ७७४ सवारी साधन दुर्घटना भएका छन्। यसमा परी दुई हजार २८९ जनाले ज्यान गुमाए। यसमा सबैभन्दा धेरै दुर्घटना चालकको लापरवाहीका कारण भएको छ।
नेपाल प्रहरीको तथ्यांक र विज्ञहरुको भनाइअनुसार सवारी साधनको दुर्घटनामा धेरै दुर्घटना चालककै लापरवाहीले भएको पुष्टि भएको छ। यी दुर्घटनामा हजारौँ मानिस घाइते भएका छन्। दुर्घटना न्यूनीकरणका लागि सरकारले विभिन्न अभियान सञ्चालन गरे पनि अपेक्षित परिणाम आउन सकेको छैन।
दिनहुँजसो दुर्घटना हुन थालेपछि सर्वसाधारणलाई एक ठाउँबाट अर्काे ठाउँको यात्रा गर्नुअघि सोच्न बाध्य बनाएको छ। यातायात क्षेत्रमा पर्यावरणमैत्री विकल्पका रूपमा सुरु गरिएको ईभी सेवाले अझै सुरक्षा चुनौतीको सामना गरिरहेको छ।