भारत। भारतमा गर्मी बढेसँगै बिजुलीको माग अत्याधिक बढेपछि खपत घटाउन २० देखि २८ डिग्री सेल्सियसको निर्धारित सीमाभित्र एसी सञ्चालन गर्ने नयाँ नियम लागू गर्ने बहस सुरू भएको छ।
भारतीय समाचार संस्था दैनिक भास्करका अनुसार यस वर्षको जुन महिनामा दैनिक २४१ गिगावाट विद्युतको माग पुगेको थियो। जुन यस वर्षकै सबैभन्दा बढी हो। यसको अधिकतम माग २७० गिगावाटसम्म पुग्ने सरकारको अनुमान थियो। माग अत्याधिक बढ्न थालेपछि ११ जुनमा भारतका ऊर्जामन्त्री मनोहरलाल खट्टरले २० देखि २८ डिग्री सेल्सियसको निर्धारित सीमाभित्र एसी सञ्चालन गर्न अनिवार्य गर्नुपर्ने बताएका थिए।
खट्टरले भनेका थिए, ‘एसीको तापक्रम सेट गर्दा विद्युत्को माग घट्नेछ।’ उनका अनुसार यसले गर्मी बढ्दै जाँदा बिजुलीको माग र बिलमा हुने वृद्धिलाई कम गर्न मद्दत गर्ने छ।
नयाँ नियम लागू हुना साथ हरेक क्षेत्रमा प्रयोग हुने एयर कन्डिसनरमा हुनेछ। चाहे त्यो घर होस्, वा कार्यालय, मल, होटल र सिनेमा जस्ता व्यापारिक स्थानमा होस्। जहाँ एसी प्रायः सबैभन्दा कम सेटिङमा चल्छ।
एसीका कारण बिजुलीको खपत धेरै हुन्छ। जब, मानिसहरूले यसलाई १६-१८ डिग्रीमा चलाउँछन्। नयाँ नियम बिजुली बचत गर्न र पावर ग्रिडमा दबाब कम गर्ने प्रयास हो। ‘जनताको बिजुलीको बिल पनि घटाउने छ, वातावरणलाई पनि फाइदा पुग्ने तथा प्रत्येक एक डिग्रीको लागि ६ प्रतिशतसम्म बिजुली बचत हुने छ,' उनले भने।
युनिभर्सिटी अफ क्यालिफोर्नियाको एक अध्ययनअनुसार एसीको तापक्रमलाई व्यवस्थापन गर्नाले सन् २०३५ सम्ममा भारतमा बिजुलीको चरम माग ६० गिगावाट घट्न सक्छ। यसले विद्युत र ग्रिड पूर्वाधार लागतको ७.५ लाख करोड भारु बचत गर्ने छ। विद्युत्को खपत कम हुँदा बिल पनि कम हुन्छ।
बिजुलीको माग घट्दा पावर ग्रिडमा दबाब कम हुने र विद्युत कटौतीको समस्या कम हुनेछ। साथै, कम विद्युत् खपतले कार्बन उत्सर्जन पनि कम हुन्छ।
यो नियम लागू गर्ने मिति अहिलेसम्म आधिकारिक रूपमा घोषणा भने गरिएको छैन। केन्द्रीय मन्त्री मनोहरलाल खट्टरले यसलाई ‘चाँडै’ लागू गरिने बताएका छन्। सरकारले एसी उत्पादकहरुसँग मिलेर तापक्रमको मापदण्ड तय गरिरहेको उनको भनाइ छ। नियमहरू बनेसँगै सबै नयाँ एसीहरू यसकै दायरामा बनाइने छ।
यो नियम पुरानो एसीमा लागू हुन्छ कि हुँदैन भन्ने स्पष्ट छैन। तर, नयाँ नियमअनुसार भविष्यमा बनाइने एसीमा रहेको टेक्नोलोजी यस्तो हुनेछ। त्यो २० डिग्रीभन्दा तल चिसो हुन सक्ने छैन। पुरानो एसीले सफ्टवेयर अपडेट वा टेक्निकल चेञ्ज गर्नुपर्ने हुन, सक्छ तर यो पुष्टि हुन बाँकी छ।
यो नियम सवारी साधनमा जडान गरिएको एसीमा पनि लागू हुनेछ। अर्थात् कार तथा अन्य सवारी साधनमा एसीलाई २० डिग्रीभन्दा तल सेट गर्न सकिँदैन। यसको उद्देश्य सवारी साधनमा बिजुली वा इन्धनको खपत कम गर्नु हो।
यस नियममा भारतीयहरूले मिश्रित प्रतिक्रिया जनाइहेका छन्। कतिपयले यसलाई बिजुली र वातावरण संरक्षणका लागि राम्रो कदम भनेका छन्। कतिपयले गर्मीयाममा २० डिग्रीको सीमापर्याप्त नहुने बताएइरहेका छन्। विशेष गरी उत्तर भारतमा जहाँ तापक्रम ४५ डिग्री नाघेको छ।
डाइकिन, एलजी र भोल्टास जस्ता एसी उत्पादक कम्पनीहरूले यो नियम लागू गर्न सरकारसँग मिलेर काम गरिरहेको तथा सोसाइटी अफ इण्डियन अटोमोबाइल म्यानुफ्याक्चरर्स सियामले पनि गाडीको एसीको मापदण्डमा काम गरिरहेको समाचारमा जनाएको छ।
यस्तो नियम लागू गर्न चाहने भारत पहिलो देश होइन। इटाली, जापान जस्ता देशहरूमा सार्वजनिक भवनका लागि एसी न्यूनतम २३ डिग्री सेल्सियसमा राख्नुपर्ने नियम छ। अधिकतम तापक्रममा २७ डिग्री सेल्सियसभन्दा माथि उठ्न निषेध गरिएको छ।
समाचारअनुसार सरकार र ब्युरो अफ इनर्जी इफिसियन्सी (बीईई)ले एसी २४ डिग्री सेल्सियस तापक्रममा चलाउनुपर्ने सुझाव दिएका थिए। यो बिजुली र वातावरण बचाउनका लागि राम्रो हुन्छ। तर, यो केवल सल्लाह हो। कुनै कानुनी दायित्व होइन।
तर, यो नियम तत्कालै लागू हुने छैन। केन्द्रीय वातावरण मन्त्री भूपेन्द्र यादवले शुक्रबार नयाँ दिल्लीमा आयोजित इण्डिया क्लाइमेट समिटमा यो नियम तत्कालै लागू नहुने जानकारी दिएका हुन्।
भूपेन्द्र यादवले भनेका छन्, ’सरकारले अहिले एसीको तापक्रम निर्धारण गर्ने नियम ल्याउँदैन। यो परिवर्तन क्रमिक रूपमा र समयको साथ गरिने छ। यो सन् २०५० पछि मात्र सम्भव हुन सक्छ।’