काठमाडौं। धादिङको नौबिसेमा उत्पादन प्लान्ट रहेको युनाइडेट सिमेन्टले करिब साढे दुई अर्ब रुपैयाँको व्यापार गरेको छ। कम्पनीले सन् २०२४ मा सिमेन्ट बिक्रीमार्फत् दुई अर्ब ४६ करोड ८० लाख रुपैयाँ आम्दानी गरेको हो।
कम्पनीले सन् २०२३ मा दुई अर्ब ३८ करोड ६० लाख, २०२२ मा दुई अर्ब ७ करोड ९० लाख र सन् २०२१ मा दुई अर्ब ३४ करोड २० लाख रुपैयाँ आम्दानी गरेको थियो।
कम्पनीको ब्याज, कर, मूल्य ह्रास र अमूर्त सम्पत्तिको मूल्य ह्रास काट्नुअघिको आम्दानी (इबिआइटिडिए मार्जिन) २०२४ मा २१ प्रतिशत, २०२३ मा २०.४१ प्रतिशत, २०२२ मा १४.०८ प्रतिशत र सन् २०२१ मा २२.३६ प्रतिशत कायम थियो।
कम्पनीले बैंकिङ कर्जा प्रयोजनका लागि इन्फोमेसिक्स रेटिङ एजेन्सीमा गराएको रेटिङमा ६ अर्ब ४२ करोड ९७ लाख रुपैयाँ कर्जा सीमा निर्धारण भएको छ। जसमा कम्पनीले ३ अर्ब ८५ करोड दीर्घ कानिल कर्जामा र ३७ करोड ४१ लाख रुपैयाँ चालु पुँजी कर्जाको लागि ‘डबलबि’ रेटिङ पाएको छ। यो रेटिङले वित्तीय दायित्व पूरा गर्ने मध्यम क्षमता रहेको संकेत गर्छ। कम्पनीमा मध्यम स्तरको क्रेडिट जोखिम रहेको छ।
यस्तै, कम्पनीले १ अर्ब ६५ करोड अल्पकालिन चालु पुँजी कर्जाका लागि र ५५ करोड रुपैयाँ नन् फन्डेट (एलसी) कर्जाको लागि ‘एफोर’ रेटिङ पाएको छ। यसले कम्पनीमा वित्तीय जोखिम उच्च रहेको संकेत गर्छ।
युनाइटेड सिमेन्ट केएल दुगड ग्रुपअन्तर्गतको कम्पनी हो। केएल ग्रुपले ३ दशकयता सिमेन्टलगायत विभिन्न क्षेत्रमा लगानी गर्दै आएका छन्। सन् २००७ बाट सञ्चालनमा आएको युनाइटेड सिमेन्टमा नरेश दुगड, कुमुद दुगड र विकास दुगर्डको समान ३३/३३ प्रतिशत सेयर लगानी रहेको छ।
हाल यो उद्योगको युपिसीले क्लिंकर, आर्डिनरी पोर्टल्यान्ड सिमेन्ट (ओपिसी) र पोर्टल्यान्ड पोजोलाना सिमिन्ट (पिपिसी) उत्पादन तथा बिक्री गर्दै आएको छ। जुन बजारमा ‘युनाइटेड पिपिसि’ र ‘राजधानी पिपिसी’को नाममा उपलब्ध हुन्छन्।
उद्योगको क्लिंकर उत्पालन क्षमता तीन लाख ३० हजार मेट्रिक टन र सिमेन्ट ग्राइन्डिङ क्षमता तीन लाख ६६ हजार तीन सय मेट्रिक टन प्रतिवर्ष रहेको छ।