काठमाडौं। खानेपानी तथा सरसफाई क्षेत्रको सुधारका लागि कर तथा विद्युत महशुलमा छुट र नेपालमै ब्लिचिङ पाउडर उद्योग खोल्न राष्ट्रिय सभाबाट संकल्प प्रस्ताव पारित भएको छ।
सोमबार राजधानीको संवाद डबलीमा राष्ट्रिय साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नेपालले पत्रकार सम्मेलनको आयोजना गरी संकल्प प्रस्ताव पारित भएकोमा धन्यवाद दिँदै सोको तत्काल कार्यान्वयन गर्न सरकारलाई आग्रहसमेत गरेको छ।
महासंघका अध्यक्ष खेमराज वलीले नेपालको खानेपानी तथा सरसफाईको इतिहासमा संकल्प प्रस्ताव पहिलो पटक पारित भएकोमा उपभोक्ताका लागि निकै सुखद विषय रहेको बताए। अध्यक्ष वलीले संकल्प प्रस्तावले सबै नागरिकलाई गुणस्तरीय तथा सुरक्षित खानेपानी सेवामा सहज पहुँच सुनिश्चित गर्ने विश्वास लिएको बताउँदै भने, 'जनताको संवैधानिक अधिकारलाई कार्यान्वयन गर्न सरकारले छिटोभन्दा छिटो ठोस कदम चाल्नेमा महासंघ विश्वस्त छ, तर त्यस्तो नभएमा आन्दोलन गर्नसमेत पछि पर्ने छैनौँ।'
महासंघ सल्लाहकार इन्जिनियर चोकप्रसाद धितालले संकल्प प्रस्तावमा भएका प्राविधिक पक्षहरुको विष्लेशण गरी प्रस्तावको कार्यान्वयनको लागि सम्बन्धित निकायहरुसँग अनुरोध गरे। २७ वर्ष राष्ट्र सेवक भएर खानेपानी र सरसफाईको क्षेत्रबाट सेवा निवृत्त भएका इन्जिनियर धितालले यो क्षेत्रको अझै सुधार गर्न जरुरी भएको बताए।
अझै पनि ८० प्रतिशत जनताले सुरक्षित खानेपानी उपभोग गर्न नपाएकोले त्यसका लागि आवश्यक पूर्वाधार जरुरी रहेको जनाए। सुरक्षित खानेपानीका लागि आवश्यकपर्ने ब्लिचिङ पाउडर भारतबाट ल्याउनुपर्ने बाध्यता भएको र मूल्यमा समेत महँगो तथा सबैको पहुँचमा नभएकाले स्वदेशमै उत्पादन गर्न सकिने बताए।
कोषाध्यक्ष नारायणी भट्टराई ९रक्षा०ले खानेपानी र सरसफाई जनताको मौलिक अधिकार भएको विषयमा राष्ट्रियसभाले गम्भिरता लिएकोमा हार्षित भएको बताइन्। भट्टराईले जनताको मौलिक हकको रुपमा स्थापित सो विषयमा कर छुट, विद्युत महसुलमा सहुलियत, किफायती कर्जाको व्यवस्था र स्वदेशमै ब्लिचिङ पाउडर उत्पादन गर्ने सम्बन्धी संकल्प व्यवहारिकरुपमा लागू हुने आशा व्यक्त गरिन्।
महासंघका कार्य समिति सदस्य सञ्जिव श्रेष्ठले सुरक्षित खानेपानीका लागि ‘एक घर, एक धारा’को अवधारणालाई सरकारले कार्यान्वयनमा जोड दिनुपर्ने बताए। कार्यालय प्रमुख अजय पराजुलीले संकल्प प्रस्ताव समय सापेक्ष र यथार्थपरक रहेको भन्दै यसलाई जतिसक्दो छिटो कार्यान्वयनमा ल्याउन आफूले निरन्तर दबाबको दिने बताए।