क्यानडा। क्यानडाले अमेरिकी प्रविधि कम्पनीलाई लक्षित गर्दै ल्याएको ३ प्रतिशत डिजिटल सेवा कर (डीएटी) लागू नहुँदै हटाएको छ। यो निर्णय अमेरिकासँगको व्यापार वार्ता सहज बनाउने प्रयास स्वरूप गरिएको फाइनान्सियल टाइम्सले समाचार संप्रेषण गरेको छ। खारेजी भएको कर आज जुन ३० देखि लागू हुँदै थियो।
राष्ट्रपति डोनाल्ड ट्रम्पले यस करलाई प्रत्यक्ष र स्पष्ट आक्रमण भएको बताउँदै आएका थिए। शुक्रबार ट्रम्पले क्यानडाले प्रविधि कम्पनीमा लगाएको करको बदला स्वरूप अमेरिका क्यानडासँगको व्यापार वार्ता अन्त्य गर्ने चेतावनीयुक्त अभिव्यक्ति दिएइका थिए।
‘क्यानडाले प्रविधि कम्पनीमा लगाएको करको बदला स्वरूप अमेरिका क्यानडासँगको व्यापार वार्ता अन्त्य गर्दै छ। यसले महिनौँ लामो शान्तिपछि फेरि उत्तर अमेरिकी व्यापार युद्धलाई बल दिएको छ,’ उनले भने, ‘जबसम्म यस्ता कर हटाउँदैनन्, तबसम्म हामी अघि बढ्दैनौँ।’
क्यानडाका अर्थमन्त्री फ्रान्स्वा-फिलिप श्याम्पान्यले आइतबार राति भने, ‘डिजिटल सेवा कर खारेज गरेपछि अमेरिका र क्यानडाबीच नयाँ आर्थिक तथा सुरक्षात्मक सम्बन्धि वार्तामा महत्त्वपूर्ण प्रगति हुनेछ। यसले सम्पूर्ण क्यानडाबासीका लागि रोजगारी र समृद्धि निर्माणमा मद्दत पुर्याउने छ।’
‘यो कर हटाउँदा जुलाई २१ को समय सीमाभित्र वार्ता पुनः सुरु गर्न सहयोग पुग्ने छ,’ प्रधानमन्त्री मार्क कार्नीले भनेका छन्। जसको घोषणा यसै महिना अल्बर्टा राज्यको कनानास्किसमा आयोजित जी सेभन शिखर सम्मेलनमा गरिएको थियो। ट्रम्प र कार्नीबीच वार्ता पुनः सुरु गर्ने सहमति यसअघि भइसकेको छ।
फ्रान्ससहित केही युरोपेली देशहरूले पहिले डिजिटल सेवा कर लागू गरिसकेका छन्। युरोपेली आयोग प्रमुख उर्सुला फन डर लायनले यस वर्षको सुरुमा चेतावनी दिँदै भनेकी थिइन्, ‘यदि, अमेरिका-युरोप व्यापार वार्ता असफल भयो भने ठूला प्रविधि कम्पनीको विज्ञापन आम्दानीमा कर लगाइने छ।’
सन् २०२३ डिसेम्बरमा क्यानडाको संसदीय बजेट कार्यालयले गरेको अनुमान गरेको अनुसार टीएसडीले पाँच वर्षभित्र संघीय आम्दानी ७.२ अर्ब क्यानडिएन डलर (५.३ अर्ब अमेरिकी डलर)बढाउने छ।
यो कर सन् २०२० मा प्रस्ताव गरिएको थियो। मेटा, नेटफ्लिक्स, अमेजोन लगायत कम्पनी तथा केही स्थानीय व्यवसायलाई लक्षित गरिएको थियो। प्रभावित कम्पनीले जुन महिनाको अन्त्यसम्म कर विवरण पेस गर्नुपर्ने थियो नभए जरिवाना तिर्नुपर्ने हुन सक्थ्यो।
क्यानाडासँग ट्रम्पको मुख्य गुनासो यही कर थियो। क्यानडाका केही व्यावसायिक समूहहरू पनि यसको विरोधमा थिए। बिजनेस काउन्सिल अफ क्यानडाका अध्यक्ष गोल्डी हाइडरले भनेका छन्, ‘विगत धेरै वर्षदेखि हामीले चेतावनी दिँदै आएका थियौँ कि एकल रूपमा डिजिटल सेवा कर लागू गर्दा क्यानडा-अमेरिका आर्थिक सम्बन्धमा क्षति पुग्न सक्छ।’