काठमाडौं। बतास अर्गानाइजेसनअन्तर्गतको बतास ट्रयाक्टर प्रालिले ९ महिनामै ३३ करोड रुपैयाँ बढीको व्यापार गरेको छ। क्याटरपिलर निर्माण उपकरण उत्पादक, गोदरेज उपकरण उत्पादक र भारतको प्रोपल ब्रान्डका वस्तुको आधिकारिक बिक्रेता बतास ट्रयाक्टरले सन् २०२५ को ९ महिनामा ४४ करोड ३० लाख रुपैयाँ (अपरिस्कृत) आम्दानी गरेको हो।
कम्पनीले बैंकिङ प्रयोजनका लागि इक्रा नेपालमा गराएको रेटिङ रिपोर्टअनुसार सन् २०२४ मा ३० करोड ५० लाख, सन् २०२३ मा २६ करोड २० लाख, सन् २०२२ मा ७६ करोड २० लाख र सन् २०२१ मा ७५ करोड रुपैयाँ (परिस्कृत) आम्दानी गरेको थियो।
कम्पनीले १ अर्ब १३ करोड ६० लाख रुपैयाँ बराबरको बैंकिङ कर्जाका लागि गराएको रेटिङमा ७४ करोड दीर्घकालीन कर्जामा ‘एलबी माइनस’ र ३९ करोड ६० लाख रुपैयाँ अल्पकालीन कर्जाका निम्ति ‘ए फोर’ पुनःप्रमाणित भएको छ। उक्त रेटिङमध्ये ‘एलबी माइनस’ ले दीर्घकालीन कर्जा तिर्ने क्षमता कमजोर रहेको र ‘ए फोर’ रेटिङले अल्पकालीन कर्जा तिर्ने क्षमता पनि कमजोर एवंवित्तीय जोखिम उच्च रहेको संकेत गर्छ।
कम्पनीको पुँजी संरचना अझै अत्यधिक ऋणमा निर्भर छ। सम्पत्तिमा ऋण अनुपात नै चार गुणा, कुल ऋणमा सञ्चालन नाफाको अनुपात करिब २७ गुणा रहेको हुँदा कम्पनीमा वित्तीय जोखिम रहेको रेटिङ रिपोर्टमा उल्लेख छ। कम्पनीले गत वर्ष आम्दानी र नाफाको मार्जिनमा केही सुधार गरे पनि समग्र वित्तीय अवस्था कमजोर रहेको छ।
सम्पत्तिमा ऋण अनुपात नै चार गुणा, कुल ऋणमा सञ्चालन नाफाको अनुपात करिब २७ गुणा रहेको हुँदा कम्पनीमा वित्तीय जोखिम रहेको रेटिङ रिपोर्टमा उल्लेख छ।
कम्पनी चालू पुँजीमै निर्भर रहेको हुँदा ग्राहकलाई उधारोमा सामान दिने र लामो समयसम्म उधारो भुक्तानीमा नियमित नहुँदा कम्पनी सञ्चालन खर्च जुटाउनै बैंकको कर्जामा निर्भर हुनुपरेको हो। कम्पनीले उत्पादन गर्ने निर्माण क्षेत्रमा प्रयोग हुने जेसीबी हुन्डाई, टाटाजस्ता ब्रान्डले पछिल्लो समय बजारमा तीव्र प्रतिस्पर्धाको सामना गर्नुपरेको छ। यी उत्पादनको आम्दानी कम्पनीको कुल आम्दानीको ७० प्रतिशत हिस्सा छ।
यसमध्ये पनि ६२ प्रतिशत कम्पनीको कुनै एक मोडलबाट मात्रै प्राप्त आम्दानी हो। यस्तो एकल ब्रान्ड र मोडलमा अत्याधिक निर्भरताले कम्पनीको आम्दानीमा गम्भीर असर गर्न सक्छ।
नेपालको अटोमोबाइलका सम्बन्धित क्षेत्रमा दुई दशकअघिदेखि व्यापार गरिरहेको बतास अर्गनाइजेसनको बतास ट्रयाक्टरमा पाँच संस्थापक छन्। यसमा बतास परिवारकै ६७ प्रतिशत सेयर स्वामित्व रहेको छ। कम्पनीको प्रमुख प्रवर्द्धकमा आनन्दराज बतास र शान्ताराज बतास रहेका छन्।
बतास अर्गानाइजेन्सका अन्य सहायक कम्पनीमा भोल्भो आइसर, टीभीएस, मारुती सुजुकी र महिन्द्रा ब्रान्डका सवारीसाधन बिक्रेता डिलर र सवारीसाधनमा फाइनान्स गर्ने गैरबैंकिङ वित्तीय संस्था सञ्चालनमा छन्।