म्याग्दी। जिल्लाको मालिका गाउँपालिकामा रहेको ओखरबोटको तामाखानी उत्खननका लागि अध्ययन सुरु भएको छ।
खानी तथा भूगर्भ विभागबाट अनुमति पाएको कम्पनी एमएस दोङयी मिनरल्स प्रालिले तामाखानी खोजतलास तथा उत्खननका लागि पहिलो चरणमा प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन तयार पार्न लागेको हो। मालिका गाउँपालिका–३ र ४ को सिमानामा तामाखानी छ।
मालिका गाउँपालिका–३ का वडाध्यक्ष मोतीप्रसाद बुढाथोकीका अनुसार भूगर्भविद्को टोलीले खानीमा तामाको मात्रा पहिचान र उत्खननका क्रममा हुनसक्ने वातावरणीय प्रभाव तथा त्यसको असर न्यूनीकरणका उपायका विषयमा अध्ययन गर्नेछ।
प्रभावित क्षेत्रका बासिन्दाको सुझाव संकलनका लागि कम्पनीले गत साता ओखरबोटमा सार्वजनिक सुनुवाइ गरेको थियो। कम्पनीले मंगलबार सातदिने सार्वजनिक सूचना जारी गरेर प्रभावित क्षेत्रका बासिन्दा तथा संघसंस्थाबाट सुझाव माग गरेको छ।
स्थानीयले खानी उत्खननका लागि अध्ययन थालिएकोमा खुसी व्यक्त गरेका छन्। वातावरणीय र विपद्जन्य घटना हुन नदिन सतर्कता अपनाउन तथा रोजगारीमा प्रभावितलाई प्राथमिकता दिन सुझाएका छन्।
स्थलगत अध्ययनका लागि आएका भूगर्वविद् रोनित पौडेलले प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन पारित भएपछि खानीमा तामाको खोज र अनुसन्धान गरिने बताए। खानी खोजतलास र सम्भाव्यता अध्ययन गरेपछि अर्को चरणमा उत्खनन् प्रक्रिया अघि बढाइने उनको भनाइ छ।
मालिका गाउँपालिका–३ का ७२ वर्षीय विसराम पटेलका अनुसार ओखरबोटको खानीबाट २०२८ सम्म स्थानीय प्रविधिको प्रयोग गरी तामा निकाल्ने गरिन्थ्यो। प्रविधि अभाव र आम्दानीभन्दा बढी राज्यलाई कर तिर्नुपर्ने अवस्था आएपछि त्यसबेला तामाखानी बन्द भएको पटेलले बताए।
तामाखानीमा दैनिक दुई सयभन्दा बढी कामदर खटिनुका साथै प्रत्येक दिन सात÷आठ धार्नीसम्म तामा निकाल्ने गरिएको पटेलको सम्झना छ। तामाखानीमा दुई वटा मुहान छन्।
ती मुहानको लम्बाइ दुई सय ५० देखि पाँच सय मिटरसम्म रहेको छ। यहाँ अझैसम्म पनि तामाका घाउ देख्न सकिन्छ। दुई सय मिटरभित्रसम्म जान सकिने तामाखानीका सुरुङ छन्।–रासस