काठमाडौं। अमेरिकी सिनेटले राष्ट्रपति डोनाल्ड ट्रम्पको समर्थनमा ल्याइएको ‘बिग ब्युटिफुल बिल’ पारित गरेको छ।
यो विधेयकमा कर कटौतीलाई स्थायी बनाउने, सामाजिक सुरक्षामा खर्च कटौती गर्ने र संघीय ऋणको सीमा थप वृद्धि गर्ने प्रावधान समेटिएको छ।
विधेयकमा सन् २०१७ मा गरिएको कर कटौतीलाई स्थायी बनाइनेछ, जसमा टिप्स, ओभरटाइमलगायत आम्दानीमा कर छुट दिने व्यवस्था गरिएको छ। यद्यपि, यसले मेडिकेड, स्न्याक (खाद्य सहायता) र हरित ऊर्जा परियोजनामाथि कटौती गरिनेछ, जसले कम आय भएका परिवार र वातावरणमैत्री उद्योगलाई असर पार्ने विश्लेषकको भनाइ छ।
अर्थ–विशेषज्ञका अनुसार, ‘बिग ब्युटिफुल बिल’ले अमेरिकी संघीय ऋणमा करिब ५ ट्रिलियन अमेरिकी डलरको वृद्धि गराउने सम्भावना छ। अब यो विधेयक अमेरिकी प्रतिनिधिसभामा पेस हुनेछ। त्यहाँ पनि पारित भए राष्ट्रपतिको हस्ताक्षरपछि विधेयक लागू हुनेछ।
एलोन मस्कको कडा आपत्ति
टेस्ला र स्पेसएक्सका प्रमुख कार्यकारी अधिकृत एलन मस्कले सामाजिक सन्जालमार्फत यो विधेयकलाई पूर्ण रूपमा पागलपन भनेका छन्। उनले यसलाई ‘ऋणदासतातर्फ धकेल्ने विधेयक भन्दै कडा आलोचना गरेका छन्।
उनले भने, ‘यो विधेयक ‘वन पार्टी पिग पार्टी’ जस्तै हो, जसले वास्तविक परिवर्तन होइन, राजनीतिक स्वार्थ मात्र पूर्ति गर्छ।’ मस्कले अमेरिका अहिले रिपब्लिकन र डेमोक्रयाटहरूको एउटै झोलामा बन्द रहेको भन्दै नयाँ दल ‘अमेरिका पार्टी’ गठन गर्न आह्वान गरेका छन्।–एजेन्सी