अमेरिका। सिलिकन भ्याली बैंक (एसभीबी) ले पूरा गर्दै आएको भूमिका प्रतिस्थापन गर्ने उद्देश्यले ’इरेबोर’ बैंक स्थापना हुने भएको छ। सन् २०२३ मा एसभीबीको पतनले स्टार्टअप र क्रिप्टो कम्पनीहरूको वित्तपोषणमा शून्यता सिर्जना गरेको थियो। सोही अभाव पूरा गर्ने भन्दै प्रमुख प्रविधि करोडपतिको समूहले यो बैंक स्थापना गरेका हुन।
पे पलका पूर्वसीईओ पिटर थिएल पनि अमेरिकी बैंक ’इरेबोर’लाई समर्थन गर्ने प्रमुख प्रविधि करोडपतिको समूहमा सामेल भएका छन्। प्रस्तावित बैंक रक्षा ठेकेदार एन्डुरिलका संस्थापक पाल्मर लकी र भेन्चर पुँजीपति तथा प्यालान्टिरका सह–संस्थापक जो लन्सडेलको पहल हो। थिएलको फाउन्डर्स फन्ड पनि यसका लगानीकर्तामध्ये एक भएको जनाइएको छ।
अत्याधुनिक प्रविधि व्यवसायमा केन्द्रित गरी एसभीबीको खाली ठाउँ भर्न इरेबोर उदाएको बताइएको छ। इरेबोरले कृत्रिम बुद्धिमत्ता, क्रिप्टो, रक्षा र उत्पादनमा केन्द्रित प्रविधि व्यवसाय र तीनमा कार्यरत वा लगानी गर्ने व्यक्तिहरूलाई सेवा प्रदान गर्ने योजना बनाएको फाइनान्सियल टाइमले समाचार उल्लेख गरेको छ।
कम्पनीको स्थापना एसभीबीको अचानक पतनसँग सम्बन्धित छ। सन् २०२३ को मार्चमा खराब सम्पत्ति व्यवस्थापन र बैंक सञ्चालन (बैंक रन) को बोझले एसभीबी ढलेको थियो। प्रविधि फर्म र भेन्चर पुँजीकर्ताहरूका लागि एसभीबीको पतनले नवप्रवर्तन अर्थतन्त्रको वित्तीय पहुँचमा बाधा पुर्याएको थियो। पारम्परिक बैंकहरूको जोखिम नलिने हुँदा धेरै स्टार्टअपले ऋण प्राप्त गर्न गाह्रो भएको बताइरकेका थिए।
डिजिटल बैंकको रूपमा सञ्चालन हुने इरेबोरले अमेरिकी बैंकिङ प्रणालीमा पहुँच खोज्ने गैरअमेरिकी फर्मलाई पनि जोड्ने योजना अगाडि सारेको छ।
’बैंकले व्यवसाय र व्यक्तिहरूका लागि पारम्परिक बैंकिङ उत्पादनहरूसँगै भर्चुअल मुद्रासम्बन्धित उत्पादन र सेवा प्रदान गर्ने राष्ट्रिय बैंकको रूपमा काम गर्नेछ’, इरेबोरले भनेको छ। डिजिटल बैंकको रूपमा सञ्चालन हुने इरेबोरले अमेरिकी बैंकिङ प्रणालीमा पहुँच खोज्ने गैरअमेरिकी फर्मलाई पनि जोड्ने योजना अगाडि सारेको छ।
पिटर थिएल र फाउन्डर्स फन्ड लामो समयदेखि सिलिकन भ्यालीका प्रतिष्ठित शक्ति हुन्। वर्षौंदेखि यस फन्डले रूपान्तरणकारी प्रविधि कम्पनीहरूको पोर्टफोलियो निर्माण गरेको छ। अर्बौं डलर मूल्यका स्टार्टअपहरू आवद्ध भएको जनाइएको छ। जसमा स्पेसएक्स, प्यालान्टिर, फेसबुक र एयरबिएनबी पनि रहेका छन्।
बैंक उच्च प्रोफाइल व्यक्तिद्वारा सञ्चालन भएपनि सह–सीईओ जेकब हिर्सम्यान र ओवेन रापापोर्टद्वारा निर्देशित हुनेछ। हिर्सम्यानले यसअघि क्रिप्टो फर्म सर्कलमा काम गरेका थिए। रापापोर्ट एयर कम्प्लायन्सका सीईओ हुन्। फाइनान्सियल टाइम्सकाअनुसार भ्याली नेशनल बैंकका दिग्गज माइक ह्यागेडर्न अध्यक्षको रूपमा रहनेछन्।
इरेबोरको मुख्यालय ओहायोको कोलम्बसमा हुनेछ र न्युयोर्कमा सहायक कार्यालय हुनेछ। तर, यो पूर्ण रूपमा डिजिटल रूपमा सञ्चालन हुने भएकाले सम्पूर्ण ग्राहक अन्तरक्रिया र सेवाहरू यसको एप र वेबसाइटमार्फत प्रदान गरिने छन्।