काठमाडौं। चितवनको भरतपुरमा अवस्थित ग्लोबल एग्रो प्रोडक्सले ६ महिनामै पौने ३ अर्ब रुपैयाँ बढीको व्यापार गरेको छ। कुखुरा तथा पशुपालनका लागि दाना उत्पादन तथा बिक्री गरेर कम्पनीले सन् २०२५ को ६ महिनामै २ अर्ब ८६ करोड ६० लाख रुपैयाँ (अपरिस्कृत) आम्दानी गरेको हो।
कम्पनीले सन् २०२४ मा ४ अर्ब ४० करोड, २०२३ मा २ अर्ब ८३ करोड, २०२२ मा २ अर्ब ४४ करोड र सन् २०२१ मा २ अर्ब ५६ करोड रुपैयाँ (परिस्कृत) आम्दानी गरेको थियो। बैंकिङ कर्जा प्रयोजनका लागि इक्रा नेपाल रेटिङ एजेन्सीमा गराएको रेटिङ रिपोर्टअनुसार कम्पनीको आम्दानीमा ब्याज, कर, मूल्य ह्रास र अमूर्त सम्पत्तिको मूल्य ह्रास गर्नुअघिको आम्दानी (ओपीबीडिआईटीडीए मार्जिन) अनुपात स्न २०२५ मा ६.८ प्रतिशत, २०२४ मा ६.२ प्रतिशत, २०२३ मा ७.२ प्रतिशत, २०२२ मा ५.७ प्रतिशत र सन् २०२१ मा ६.३ प्रतिशत रहेको छ।
कुनै पनि कम्पनीका लागि यस्तो अनुपात कम भएको राम्रो हो। कम हुँदा खुद नाफामा वृद्धि हुन्छ। कम्पनीले कुल १ अर्ब ३० करोड ६० लाख रुपैयाँ बैंकिङ कर्जाका लागि रेटिङ गराएको छ। यसमा इक्रा नेपालले १७ करोड रुपैयाँ दीघकालीन कर्जा ‘एलबीबीबी’ र १ अर्ब १३ करोड ६० लाख रुपैयाँ अल्पकालीन कर्जाका लागि ‘एथ्री’ रेटिङ पुनर्पुष्टि गरेको छ। ‘एलबीबीबी’ दीर्घकालीन कर्जामा मध्यम श्रेणीको लगानीयोग्य रेटिङ हो।
हाल कम्पनीको उत्पादन क्षमता पेलेट फिडका लागि प्रतिघन्टा १८ मेट्रिक टन र म्यास फिडका लागि प्रतिघन्टा ५ मेट्रिक टन रहेको छ। कम्पनीले आफ्ना उत्पादन ‘ग्लोबल’, ‘अमृत’ र ‘उन्नत’ ब्रान्ड नाममा बिक्री गर्दै आएको छ।
कम्पनीको दीर्घकालीन कर्जा चुक्ता क्षमता राम्रो भए पनि भविष्यमा आर्थिक अवस्था कमजोर भए जोखिम बढ्न सक्ने रेटिङको संकेत हो। साथै, अल्पकालीन कर्जाका लागि ‘एथ्री’ रेटिङ मध्यम स्तरको रेटिङ हो। यसले कम्पनीले समयमै कर्जा तिर्न सक्ने संकेत हो।
तर, आर्थिक वा व्यावसायिक दबाब परे जोखिम हुन सक्ने बुझिन्छ। इक्राले कम्पनीलाई सन्तुलित वित्तीय अवस्था, स्थिर सञ्चालन, चालू पुँजीको उचित व्यवस्थापन, नगद प्रवाहमा सुधार र उत्पादन लागत नियन्त्रणमा रहेका कारण यस्तो रेटिङ दिइएको उल्लेख गरेको छ।
कम्पनीले आम्दानी वृद्धि भए पनि बढी लाभांश वितरण गर्दा तरलतामा दबाब बढेको छ। सन् २०२५ को ९ महिनाको नाफाबाट कम्पनीले ४८ प्रतिशत लाभांश वितरण गरेको थियो। कम्पनीले नयाँ ग्राहक बनाउन नसकेको र ५२ प्रतिशतभन्दा आम्दानी १० जना ग्राहकबाट मात्रै गरेको छ। कम्पनीमा ग्राहक विविधीकरणको कमी रहेको छ। ठूला ग्राहकलाई दीर्घकालसम्म कायम गर्न नसके व्यवसायमा जोखिम बढ्छ।
सन् २०१२ मा स्थापना भएको ग्लोबल एग्रो प्रोडक्ट्सले कुखुरा तथा अन्य पशुपालनका लागि पेलेट तथा म्यास फिड (दाना) उत्पादन गर्दै आएको छ। हाल कम्पनीको उत्पादन क्षमता पेलेट फिडका लागि प्रतिघन्टा १८ मेट्रिक टन र म्यास फिडका लागि प्रतिघन्टा ५ मेट्रिक टन रहेको छ।
कम्पनीले आफ्ना उत्पादन ‘ग्लोबल’, ‘अमृत’ र ‘उन्नत’ ब्रान्ड नाममा बिक्री गर्दै आएको छ। कम्पनीमा ९ जना प्रमुख लगानीकर्ताको ६५ प्रतिशत संयुक्त सेयर स्वामित्व छ। कम्पनीको उत्पादन प्लान्ट चितवनको भरतपुरमा छ।