काठमाडौं। भिजन टेस्ला पावरले क्षमताभन्दा बढी बैंकिङ कर्जा उपयोग गर्न आवश्यक प्रक्रिया अघि बढाएको छ। परियोजना प्रारम्भिक निर्माण चरणमा रहेर निर्धारित समयमा उत्पादन सुरु गर्ने निश्चिता नभएको उक्त हाइड्रो पावर कम्पनीले ४ अर्ब ३५ करोड रुपैयाँ दीर्घ कालिन कर्जाको रेटिङ गराएको हो।
कम्पनीलाई रेटिङ एजेन्सी इक्रा नेपालबाट दीर्घ कालिन कर्जाको लागि ‘एलबिबिमाइनस’ रेटिङ प्रदान गरेको छ। उक्त रेटिङले जोखिमयुक्त तर हाल तिर्ने क्षमता रहेको संकेत गर्छ। कम्पनीले लामो समयको लागि लिने ऋणमा पाएको रेटिङले कम्पनीमा हाल ऋण चुक्ता गर्ने क्षमता भए पनि भविष्यमा लागत वृद्धि, निर्माणमा ढिलाई, जलविद्युतको उत्पादन घट्ने सम्भावना उच्च हुँदा वित्तीय जोखिम रहने देखिन्छ।
२०७८ सालमा स्थापना भएको भिजन टेस्ला पावर कम्पनीले संखुवासभामा २४.९२१ मेगावटा क्षमताको इन्दुखोला पिकिङ रन–अफ–रिभर जलविद्युत आयोजना निर्माण गरिरहेको छ। २०८१ असार मसान्तसम्म कम्पनीको चुक्ता पुँजी १३ करोड रुपैयाँ रहेको थियो।
कम्पनीमा राजेन्द्रप्रसाद गौतमको ३८ प्रतिशत, रामेश्वर गौतमको २१ प्रतिशत, विश्वकान्त गौतमको ९ प्रतिशत, विक्रम विष्टको ६ प्रतिशत, अच्युत गौतमको ६ प्रतिशत र गीता पोखरेलको ५ प्रतिशत सेयर स्वामित्व रहेको छ। बाँकी १५ प्रतिशत भने ९ जना लगानीकर्ताको संयुक्त सेयर स्वामित्व कम्पनीमा छ।
यी लगानीकर्ताहरुको लगानीमा ९.६ मेगावटको सुपरमाई हाइड्रोपावर, ३.७५ मेगावाट द्वारी खोला साना हाइड्रोपावर र ९.५ मेगावटको मिड सोलु खोला हाइड्रोपावर निर्माण सम्पन्न भइसकेको छ।
उक्त परियोजनाको अनुमानित निर्माण लागत ५ अर्ब ८० करोड रुपैयाँ रहेकोमा ७५ः२५ को ऋण पुँजी अनुपात निर्धारण गरिएको छ। तर, कम्पनीले बैंकबाट कर्जा लिनको लागि आफ्नोतर्फबाट लगानी गर्नुपर्ने पैसा जुटाएको छैन। निर्धारित पुँजी कागजमा उल्लेख गरिए पनि लगानीकर्ताको तर्फबाट खातामा ट्रान्स्फर नभएको कारणले हाल कम्पनीको ‘फाइनान्सियल क्लोजर भएको छैन।
लगानीकर्ताको तर्फबाट पुँजी खातामा गएपछि मात्रै बैंकले कर्जा दिन मिल्छ। हालसम्म लगानीकर्ताले पुँजीको ९ प्रतिशत मात्रै लगानी गरेका छन्।
इक्राको रेटिङ रिपोटअनुसार उक्त हाइड्रो परियोजना प्रारम्भिक चरणमै छ। हालसम्म जमिन खन्ने र क्याम्प निर्माणको काम मात्रै प्रारम्भ भएको छ। तर, परियोजनको अनिवार्य व्यवसायिक सञ्चालन मिति (आरसिओडी) भने सन् २०२८ जुलाईलाई विद्युत विभागले निर्धारण गरेको छ।
निर्माण अवधि सम्पन्न हुन तीन वर्ष मात्रै बाँकी रहँदा परियोजनामा करिब ३.६ किलोमिटर मात्रै सुरुङ संरचना बनाइएको छ। यसले समय र लागत थप हुने देखिन्छ। तोकिएको समयमा निर्माण सम्पन्न नहुँदा जरिवाना तिर्नुपर्ने र ट्यारिफको वृद्धिको अवसर गुमाउनुपर्ने हुन्छ।
यस्तै, कम्पनीले अझैसम्म सिभिल कार्य, हाइड्रोमेकालिकल (एचएम), इलेक्ट्रोमेकानिकल (इएम) र ट्रान्समिसन लाइन (टिएल) को ठेक्का वितरण गरेको छैन। त्यसैले यस्ता कार्यहरुका लागि लागत बढ्ने हुँदा र अन्य लागतहरु थप भएमा कम्पनीले हाल पाएको रेटिङसमेत खस्किने देखिन्छ। त्यसैले कम्पनीले अनुमानित लागत र समय सीमाभित्रै परियोजना सम्पन्न गर्नुपर्ने रिपोर्टमा उल्लेख छ।