काठमाडौं। माग पूरा नभएको भन्दै भेन्डर, मेलम्ची बाढीपीडितलगायत थरीथरीका समिति समूहले मेलम्ची खानेपानी काठमाडौं पथान्तरण बन्द गरेको छ।
मेलम्ची खानेपानी आयोजनाअन्तर्गतको मुहान क्षेत्रमा स्थानीयले काठमाडौं पथान्तरण गरिने पानी बन्द गरेको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक जगरनाथ दासले जानकारी दिए।
हेलम्बु गाउँपालिका–१, अम्बाथानस्थित सुरुङबाट बिहीबारदेखि पानी पथान्तरण रोकिएको हो। खानेपानी आयोजनाको साइट कार्यालयमा ताला लगाइएको छ भने माग पूरा नभएसम्म पानी पथान्तरणको गर्न नदिने अडान स्थानीयको छ।
दासले भने, ‘गतवर्ष तत्कालीन खानेपानीमन्त्री प्रदीप यादवसँग भएको सम्झौता कार्यान्वयनको माग गर्दै स्थानीयले आज मुहान बन्द गरेका छन्। मुहान बन्दपछि बिहीबार दिउँसोेदेखि काठमाडौंमा आउने मेलम्चीको पानी पूर्ण रूपमा रोकिएको छ।’
२०७८ को बाढीपहिरोलगायतका अन्य पीडितका माग पूरा नभएको भन्दै स्थानीयले पानी बन्द गरेका हुन्। वर्षा सुरु भएपछि गत असारमा बन्द मेलम्ची पानी आपूर्ति गत असोज २६ देखि सुरु गरिएको थियो।
मेलम्चीको पानी काठमाडौंमा आपूर्तिका लागि आन्दोलनरत पक्षसँग कुरा गरी निकास निकालिने कार्यकारी निर्देशक दासले बताए।
सिन्धुपाल्चोक र काभ्रेका चार वटा सरोकार समितिले एक साताअघि काठमाडौंको पानीपोखरीस्थित मेलम्ची खानेपानी कार्यालयमा तालाबन्दीसमेत गरेका थिए।