काठमाडौं। ‘राष्ट्रिय आर्थिक बहस २।०’ कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्कीले निजी क्षेत्रप्रति विशेष सम्बोधन गरेकी छन्। यस क्रममा उनले देशको आर्थिक रुपान्तरणमा उद्योगी–व्यवसायीको भूमिकालाई निर्णायक बताइन्।
नेपाल उद्योग वाणिज्य महासंघद्वारा आयोजित कार्यक्रममा उनले निजी क्षेत्रलाई राष्ट्रको आर्थिक इन्जिनको रुपमा व्याख्या गर्दै भनिन्, 'इमान्दार उद्योगीलाई प्रताडित गरिँदैन, तर फ्रड गर्ने, कर छल्ने र नीतिगत चलखेल गर्नेलाई सरकारले संरक्षण गर्ने छैन।'
प्रधानमन्त्रीले निजी क्षेत्रसँग सहकार्यमा आधारित नीतिगत सुधारका लागि सरकार प्रतिबद्ध रहेको बताउँदै थपे, 'उद्योगी व्यवसायीहरू राज्यका करदाता मात्र होइनन्। उनीहरूले रोजगारी सृजनामा ठूलो योगदान दिएका छन्। उद्योग नउठेसम्म अर्थतन्त्र उठ्दैन।'
प्रधानमन्त्रीले आन्दोलनमा घाइते युवाहरू र क्षतिग्रस्त उद्योग क्षेत्रलाई राहत र आत्मविश्वास जगाउने काममा सरकार कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता जनाइन्।
भर्खरै सम्पन्न जेनजी आन्दोलनलाई स्मरण गर्दै उनले युवा पुस्ताले देशका लागि नयाँ म्यान्डेट दिएको उल्लेख गरिन्। उनले भनिन्, 'घुसखोरी, पार्टीगत लेवी र कमिसनको सञ्जाल अब असह्य भएको छ। लोकतन्त्रको नाममा लुटतन्त्र स्वीकार्य छैन। इमानदार उद्यमीलाई प्रताडित गर्ने र नीति कब्जा गर्नेहरूलाई पोस्ने अवस्था अब रहनु हुँदैन।'
प्रधानमन्त्रीले आन्दोलनमा घाइते युवाहरू र क्षतिग्रस्त उद्योग क्षेत्रलाई राहत र आत्मविश्वास जगाउने काममा सरकार कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता जनाइन्।
सुशासनलाई आर्थिक वृद्धिको पूर्वशर्त ठहर गर्दै उनले थपिन्, 'राजकीय सम्पत्तिमाथिको लुट, निजी क्षेत्रमाथिको शंका र दोहनकारी प्रणाली अन्त्य गर्न सरकार दृढ छ। सुरक्षाको प्रत्याभूति दिन राज्यका सबै शक्ति प्रयोग हुनेछ।'
उनका अनुसार अर्थतन्त्रलाई पुनर्जीवित गर्न सरकारले पुँजीगत खर्च तीव्र बनाउँदै छ। बैंक तथा वित्तीय क्षेत्रको स्थिरता सुनिश्चित गरेको उनको भनाइ थियो।
प्रधानमन्त्री कार्कीले थपिन्, 'हामी हिजोभन्दा राम्रो भोलि बनाउन एकजुट हुनुपर्छ। डराउने होइन, आत्मविश्वासका साथ अगाडि बढ्ने बेला हो। हाम्रो देश हामीले नबनाए कसैले आएर बनाइदिँदैन। हामी नै अग्रसर हुने हो। तपाईंहरूको पसिनाको मूल्य यो सरकारले बुझेको छ।'