काठमाडौं। चाँदीको मूर्तिको अनुचित व्यापार मुद्दा पुनरावेदनमा पुगेको छ। उपभोक्ता अदालतले ३५ हजार ७०० रुपैयाँ भर्पाइ गर्ने फैसालाको पूर्णपाठ आएसँगै यो मुद्दा पुनरावेदनमा गएको हो।
उपभोक्ता अदालतले ललितपुरकी एक महिलाबाट दायर मुद्दामा स्वस्तिक सिल्भर प्यालेस प्रालिविरुद्ध अनुचित व्यापारिक कारोबार गरेको ठहर गर्दै क्षतिपूर्ति भराउने फैसला गरेको थियो। यो उपभोक्ता अदालतबाट भएको दोस्रो मुद्दामा पहिलो फैसला थियो।
ललितपुरकी एक महिलाले २०८१ मंसिरमा विशालबजारमा रहेको स्वस्तिक सिल्भर प्यालेसबाट चाँदीको मूर्ति खरिद गर्दा ठगिएको भन्दै उपभोक्ता अदालतमा मुद्दा दर्ता गरेकी थिइन्। उनको उजुरीअनुसार खरिद बिलमा उल्लेख गरिएको तौल र चाँदी मूर्तिको वास्तविक तौलमा फरक थियो।
खरिदका बेला नेपाल सुनचाँदी व्यवसायी महासंघले तोकेको बजारमूल्यभन्दा बढी रकम असुलिएको आरोप पनि उनले लगाएकी थिइन्।
पीडित महिलाले सामान फिर्ता गर्न खोज्दा स्वस्तिक सिल्भर प्यालेसले पूर्ण रकम फिर्ता गर्न अस्वीकार गरेको थियो। आंशिक रकम मात्र फिर्ता गरी भौचर तथा तमसुक दिएको दाबी उनको थियो।
उपभोक्ता अदालतले आर्थिक क्षति, यात्रा खर्च, मानसिक र शारीरिक कष्टबापत कुल ३५ हजार ७०० रुपैयाँ क्षतिपूर्ति भराउन स्वस्तिक सिल्भर प्यालेसलाई आदेश दिएको थियो थियो। तर, उसले तिर्न नमानेसँगै यो मुद्दा पुनरावेदनमा पुगेको हो।
हालसम्म उपभोक्ता अदालतमा १३ वटा मुद्दा परेका छन्। यीमध्ये ४ वटामा क्षतिपूर्ति भराउने फैसला भएको छ भने १ वटा मुद्दा पुनरावेदनमा पुगेको छ।
त्यस्तै, दुईवटा मुद्दा फिर्ता भएका छन् र ६ वटा मुद्दाको पक्ष र विपक्षको लिखित जवाफ संकलन भइरहेको अदालतले जनाएको छ।