काठमाडौं। अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) र स्ट्यान्डर्ड चार्टर्ड बैंकले इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन र त्यसको सब्सिडियरी डेटा वर्ल्ड लिमिटेडमा करिब ४ अर्ब रुपैयाँ ऋण लगानी गर्ने भएका छन्।
आईएफसीका अनुसार यो लगानीले नेपालको फाइबर नेटवर्क विस्तारसँगै नयाँ डेटा सेन्टर निर्माण हुने जनाएको छ। आईएफसी र स्ट्यान्डर्ड चार्टर्ड बैंकसँगको यो रणनीतिक साझेदारीले नेपालभरि कनेक्टिभिटीको सेतु अझ बलियो बन्ने विश्वास लिइएको छ।
आईएफसी र स्ट्यान्डर्ड चार्टर्ड बैंकले गर्ने करिब ४ अर्ब लगानी देशभरि फाइबर नेटवर्क विस्तार गर्न तथा १० ठाउँमा आधुनिक डेटा सेन्टर निर्माणमा खर्च हुने वर्ल्डलिंकका प्रबन्धक सुनिल यादवले बताए।
फाइबर नेटवर्क विस्तार तथा अत्याधुनिक डेटा सेन्टर देशभरि निर्माण हुँदा त्यसले नेपालमा दिगो र नवप्रवर्तकारी वृद्धिको नयाँ मापदण्ड तय गर्ने पनि आईएफसीले जनाएको छ।
यो सहकार्य नेपालको डिजिटल पूर्वाधार सुदृढ गर्नेतर्फको महत्त्वपूर्ण कदम भएको स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालका प्रमुख कार्यकारी अधिकृत तथा हेड अफ कभरेज (नेपाल) गोरख राणाले बताएका थिए।
आईएफसी, विश्व बैंक समूहको निजी क्षेत्रमा लगानी गर्ने संस्था हो। यसले एक सय बढी देशमा काम गर्ने जनाएको छ। आर्थिक वर्ष २०२४ मा आईएफसीले विकासशील देशका निजी कम्पनी तथा वित्तीय संस्थालाई कुल ५६ अर्ब अमेरिकी डलर बराबर ऋण प्रतिबद्धता जनाएको थियो।
सन् १९९५ मा स्थापना भएको वर्ल्डलिंक नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक (आईएसपी) कम्पनी हो। अहिले वर्ल्डलिंकले १० लाखभन्दा बढी घरधुरीमा सेवा दिइरहेको उल्लेख छ।
वर्ल्डलिंकले देशभरि ७ हजार ५ सयभन्दा बढी स्थानमा फाइबर नेटवर्क विस्तार गरेको छ। यस्तै, ५ हजार ५ सयभन्दा बढी रोजगारी सिर्जना गरेको छ।