काठमाडौं। बिमा गर्ने र गराउने दुवै पक्षलाई दर्जन बढी फाइदा हुने गरी नेपाल बिमा प्राधिकरणले मृत्यु गणना तालिका परिमार्जन गर्ने भएको छ। प्राधिकरणले आगामी आर्थिक वर्षभित्रै हालसम्म लागू १६ वर्षे पुरानो मृत्यु दर तालिका परिमार्जन गरी बिमा दर संशोधन हुने व्यवस्था गर्न लागेको हो।
प्राधिकरणले मृत्यु दर तालिका परिमार्जन गरेर कम आयु भएका बिमितले पनि बढी बिमा शुल्क तिर्नुपर्ने र बिमा कम्पनीहरुले बढी उमेर भई बिमा शुल्क खरिद गरेका बिमितलाई बढी दाबी भुक्तानी दिनुपर्ने बाध्यता हटाउन लागेको हो।
नेपाल बिमा प्राधिकरण (साबिक बिमा समिति)ले पहिलोपटक २०६६ सालमा मृत्यु दर तालिका जारी गरेको थियो। हालसम्म जीवन बिमा कम्पनीहरुले त्यही मृत्यु दर तालिका प्रयोग गर्दै आएका छन्। त्यसयता १६ वर्ष बितिसक्दासमेत मृत्यु दर तालिका परिमार्जन भएको थिएन।
प्राधिकरणले २०६६ सालमा पहिलो पटक मृत्यु दर तालिका निर्माण गर्दा नेपालीको औसत आयु ६० वर्ष ४ महिना थियो। राष्ट्रिय तथ्यांक कार्यलयका अनुसार अहिले नेपालीको औसत आयु बढेर ७१ वर्ष ३ महिना पुगेको छ। त्यस कारण हाल उक्त मृत्यु दर तालिका परिमार्जन गर्ने घोषणा प्राधिकरणले गरेको हो। प्राधिकरणले अबको केही महिनाभित्रै नयाँ मृत्यु गणना तालिका लागू गर्ने तयारी गरेको जनाएको छ।
अहिले बिमा कम्पनीहरुले सन् २००९ को मृत्यृ दर तालिका चलाइरहेका छन्। १६ वर्ष पुरानो मृत्यु दर तालिका चलाउँदा ‘ओभर स्ट्मेट’ भएपछि तालिका परिमार्जन गर्न लागेको नेपाल बिमा प्राधिकरणका उपनिर्देशक राम कोजु बताउँछन्।
जहाँ मानवीय जोखिमको केही प्रोभिजन हुन्छ, मानवसँग सम्बन्धित केही दायित्व या सम्पत्तिको केही गणना गर्नुपर्ने हुन्छ भने त्यस्तो अवस्थामा यो मृत्यु दर तालिका चाहिने प्राधिकरणका उपनिर्देशक कोजु बताउँछन्।
‘सन् २००९ मा मृत्यु दर तालिका निर्माण गर्दा मानिसको औसत आयु लगभग ५५ देखि ६० वर्षको आसपासमा थियो,’ प्राधिकरण उपनिर्देशक कोजुले क्यापिटल नेपालसँग भने, ‘त्यो बेसमा हामीले जीवन बिमासँग सम्बन्धित जोखिममा शुल्क अनुमान गरेर एउटा निश्चित बिमा शुल्क दर बनाएका थियौँ। त्यसलाई समय सापेक्ष बनाउन नयाँ मृत्यु दर तालिका निर्माण गरेका हौँ।’
यसले थोरै भए पनि बिमाको लागतलाई कम गर्छ। त्यसैले यो चाहिएको कोजुको भनाइ छ। ‘यो मृत्यु दर तालिका बिमा कम्पनीलाई मात्र नभई सम्पूर्ण संगठित संस्था र उनीहरुका कर्मचारीका लागि पनि चाहिएको हो। संगठित संस्थामा उनीहरुका कर्मचारीको उपदान र बिदाको प्रोभिजन गरेर पैसा राखेको हुन्छ। सबैको मूल्यांकन दायित्व मानिसको जोखिमसँग सम्बन्धित दायित्वको मूल्यांकन गर्न पनि यो आवश्यक छ,’ उनले भने।
यो बिमा कम्पनीलाई मात्र नभई सम्पूर्ण वित्तीय संस्था तथा सम्पूर्ण अड्डालाई आवश्यक छ। जहाँ मानवीय जोखिमको केही प्रोभिजन हुन्छ, मानवसँग सम्बन्धित केही दायित्व या सम्पत्तिको केही गणना गर्नुपर्ने हुन्छ भने त्यस्तो अवस्थामा यो मृत्यु दर तालिका चाहिने प्राधिकरणका उपनिर्देशक कोजु बताउँछन्।
जीवन बिमामा बिमा शुल्क निर्धारण गर्दा जोखिम मूल्यांकन गर्ने प्रयोजनका लागि बिमांकले मृत्यु दर तालिकालाई पनि आधार बनाउँछन्। लामो समयदेखि मृत्यु दर तालिका परिमार्जन नहुँदा पुरानै दर तालिकाको आधारमा यसलाई आधार बनाएर बिमा शुल्क निर्धारण हुने भएको छ।
सैद्धान्तिक रुपमा १६ वर्षदेखि मृत्यु दर तालिका परिमार्जन हुन सकेको थिएन। मृत्यु दर तालिका प्रत्येक १०-१० वर्षमा परिमार्जन गर्नाले वास्तविक डाटा आउने हुँदा यसको परिमार्जन आवश्यक रहेको नेपाल जीवन बिमक संघका अध्यक्ष पोषकराज पौडेल बताउँछन्।
‘१०/१० वर्षमा मृत्यु दर तालिका परिमार्जन गर्नुपर्ने भए पनि हुन सकेको थिएन। त्यस कारण अहिले मृत्यु दर तालिका परिमार्जन गर्नुपर्ने आवश्यक थियो,’ अध्यक्ष पौडेलले भने, ‘मृत्यु दर परिमार्जन गर्नाले वास्तविक डाटा आउँछ। त्योअनुसारको तथ्यांक बन्छ। त्यो रेटहरु पनि परिमार्जन हुँदै जान्छ।’ मृत्युको अवस्था मृत्यु हुने उमेरको कुन समूहमा कस्तो दर छ? भन्ने थाहा पाएपछि बिमा कम्पनीले शुल्क निर्धारण गर्न सहज हुने पौडेलको भनाइ छ।
बिमा कम्पनीले यसै तालिकाको आधारमा बिमा लेखको प्रिमियम निर्धारण गर्छन्। सरल भाषामा भन्नुपर्दा, यो तालिकाले बिमा कम्पनीहरूलाई भविष्यमा कति दाबी भुक्तानी गर्नुपर्छ भनेर अनुमान लगाउन मद्दत गर्छ।
‘अहिले बनेपछि नयाँ मृत्यु दर मोडालिटी टेबलको आधारमा मूल्य निर्धारण गरिन्छ। नयाँ मृत्यु दर तालिका बनेपछि प्रिमियम कम हुने अवस्था एकदमै धेरै छ,’ उनले भने।
मृत्यु गणना तालिका भनेको के हो?
मृत्यु गणना तालिका भन्नाले कुनै निश्चित समय अवधिमा विभिन्न उमेरका व्यक्तिहरू कुन अनुपातमा बितेका छन् भन्ने आँकडा (डाटा) हो। यसले विभिन्न उमेरमा मानिसको मृत्यु हुने सम्भावना कति छ? भन्ने देखाउँछ। बिमा कम्पनीले यसै तालिकाको आधारमा बिमा लेखको प्रिमियम निर्धारण गर्छन्। सरल भाषामा भन्नुपर्दा, यो तालिकाले बिमा कम्पनीहरूलाई भविष्यमा कति दाबी भुक्तानी गर्नुपर्छ भनेर अनुमान लगाउन मद्दत गर्छ।
उदाहरणका लागि ३० वर्षको उमेरमा जीवन बिमा लिने व्यक्तिको जीवन अवधि कति समयसम्म रहने सम्भावना छ? भन्ने अनुमान मृत्यु गणना तालिकाबाट गरिन्छ। बिमा कम्पनी यसकै आधारमा शुल्क निर्धारण गर्छन्।
प्राधिकरणका उपनिर्देशक कोजुका अनुसार सामान्यतया जीवन बिमामा शुल्क निर्धारण गर्दा यसमा लिने एउटा प्रमुख एजम्सन प्यारामिटर मृत्यृ दर तालिकाको एउटा एजम्सन हो। मृत्यृ दर तालिकाले निश्चित एउटा उमेरमा १ देखि १०० वर्षभित्रमा हरेक मानिस प्रतिहजार बीमितको मृत्युको सम्भावना कति छ। त्यसको सम्भावित संख्या अनुमान गर्दछ।
मृत्यु दर तालिका परिवर्तन किन आवश्यक छ?
नेपालीको वास्तविकभन्दा निकै कम आयु उल्लेख गरिएको मृत्य दर तालिकालाई आधार मानेर जोखिम प्रक्षेपण गर्दा बीमितले अनावश्यक रुपमा महंगो बिमा शुल्क भुक्तानी गर्नु परिरहेको छ।
विगतको तुलनामा मानिसको स्वास्थ्य सेवामा भएको सुधार, खानपानमा परिवर्तन र जीवनशैलीमा आएको सुधारले मानिसको औसत आयु बढ्दै गएको छ। पुरानो मृत्यु दर तालिकाले बढेको औसत आयुलाई समेट्दैन।
औसत आयु बढ्दै जाँदा जीवन बिमालेखको जोखिम गणनाका लागि अझै पनि वर्ष पुरानो मृत्यु दर तालिकालाई आधार बनाई रहेकाले मृत्यु दर तालिका परिमार्जन गर्न आवश्यक रहेको प्राधिकरणका उपनिर्देशक कोजु बताउँछन्।
‘विगतको तुलनामा हाल थोरै मानिस मर्छन्। यसले बिमाको लागत कम गर्छ। साथै बिमितलाई लागत कम पर्न सक्छ,’ कोजुले भने, ‘यो मात्र एउटा कुरा होइन अरु पनि धेरै कुराहरु छन्। बिमा कम्पनीहरुको केसमा मृत्यु दर तालिकाले सही मूल्यांकन गर्न पनि सहयोग गर्ने भएकाले यो आवश्यक छ।’
नेपालमा अहिले जीवन बिमा कम्पनीहरूले दशकौँ पुरानो मृत्यु दर तालिका प्रयोग गरिरहेका छन्। विगतको तुलनामा मानिसको स्वास्थ्य सेवामा भएको सुधार, खानपानमा परिवर्तन र जीवनशैलीमा आएको सुधारले मानिसको औसत आयु बढ्दै गएको छ। पुरानो मृत्यु दर तालिकाले बढेको औसत आयुलाई समेट्दैन।
रोगको प्रकृतिमा परिवर्तन नयाँ रोगहरूको उत्पत्ति र केही पुराना रोगहरूको नियन्त्रणले मृत्यु दरमा प्रभाव पार्छ। विगतको नेपाली जनसंख्या तथ्यांक वा विदेशी मोडेलमा आधारित मृत्यु गणना तालिका प्रयोग गर्नाले धेरै समस्याहरु सिर्जना भएका कुराहरु पनि आइरहेका छन्। विगतभन्दा मानिसको औसत आयु बढ्दै गएकाले पुरानो मृत्यु दर तालिका परिमार्जन गर्नु आवश्यक रहेको छ।
परिवर्तनको फाइदा के हुन्छ?
नयाँ मृत्यु दर तालिकाले वास्तविक मृत्यु दरलाई प्रतिबिम्बित गर्ने भएकाले बिमा कम्पनीहरुले अझ यथार्थपरक र जोखिमको आधारमा प्रिमियम तोक्न सक्छन्। यसले कम्पनीको आम्दानीलाई स्थिर बनाउन मद्दत गर्छ। यदि, नयाँ तालिकाले औसत आयु बढेको र मृत्यु दर घटेको देखाउँछ भने जीवन बिमाको प्रिमियम घट्न सक्छ।
जीवन बिमामा कम्पनीले बिमितको मृत्यु भएमा भुक्तानी गर्नुपर्ने रकमको जोखिम मूल्यांकन गर्छ। नयाँ तालिकाले मानिसको औसत आयु बढेको देखाएमा, मृत्युको सम्भावना ढिलो हुने अनुमान गरिन्छ।
यसले ग्राहकले कम पैसामा बिमा सुरक्षा पाउन सक्छन्। प्रिमियम घट्दा बिमितले लामो अवधिसम्म बिमा सुरक्षा कायम राख्न सक्छन्। जसले गर्दा उनीहरूको आर्थिक भार कम हुन्छ।
जीवन बिमामा कम्पनीले बिमितको मृत्यु भएमा भुक्तानी गर्नुपर्ने रकमको जोखिम मूल्यांकन गर्छ। नयाँ तालिकाले मानिसको औसत आयु बढेको देखाएमा, मृत्युको सम्भावना ढिलो हुने अनुमान गरिन्छ। जसले गर्दा प्रिमियम घट्न सक्छ।
मृत्यु दर तालिकामा हरेक मानिस मर्ने सम्भावना जति बढी भयो त्यति प्रिमियम पनि बढी हुने हो। नयाँ मृत्यु दर तालिकाले बिमितलाई प्रमियमको लागत जोखिम किन्नलाई लाग्ने जुन लागत छ। त्यो कम गर्ने कोजुले बताए।