काठमाडौं। मंगलम इन्डष्ट्रिज लिमिटेड (एमआईएल)ले नेपालमा उच्च वृद्धिसम्भावना भएका व्यवसायलाई सशक्त बनाउन प्रतिबद्ध निजी इक्विटी फण्ड, अवसर इक्वीटी डाइभर्सिफाइड फण्डबाट झण्डै ३८ करोड रुपैयाँ बराबरको रणनीतिक लगानी हासिल गरेको छ।
कम्पनीले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै यो रणनीतिक लगानी एमआईएलको वृद्धिविकास यात्रा र भविष्यप्रतिको लगानीकर्ताको गहिरो विश्वासलाई संकेत गर्ने ऐतिहासिक उपलब्धि भएको जनाएको छ।
यो लगानीबाट कम्पनीलाई आफ्ना कार्यसञ्चालन प्रक्रियाको सुदृढीकरण गर्न, उत्पादनमा नवप्रवर्तन ल्याउन तथा नेपाल र बाहिरि बजारमा आफ्नो उपस्थितिलाई विस्तार गर्न मद्दत पुग्ने एमआईएले विश्वास व्यक्त गरेको छ। कम्पनीले उक्त लगानी मुख्यतः कम्पनीको वित्तिय अवस्थालाई थप मजबुत गर्न, तथा दिगोपनका साथै उत्कृष्टताको दिशामा अझ प्रतिबद्ध हुन प्रयोग गर्ने विज्ञप्ति मा उल्लेख छ।
“हामी अवसर इक्वीटी डाइभर्सिफाइड फण्डलाई हाम्रो रूपान्तरण यात्रामा रणनीतिक साझेदारका रूपमा स्वागत गर्न पाउँदा खुशी छौं,” मंगलम इन्डस्ट्रिज लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अभिनव चुरिवालले भने, “यो लगानीले हाम्रो व्यवसायिक मोडेललाई पुर्नपुष्टि मात्रै नगरी, हाम्रो कर्मचारी, डिलर, ग्राहक तथा सम्पूर्ण सरोकारवालाहरूको लागि ठूलो उत्प्रेरणा प्रदान गरेको छ जसले हाम्रो भविष्यको सफलताको आधार तयार गर्नेछ।”
अवसर इक्वीटी डाइभर्सिफाइड फण्डसँगको सहकार्यमार्फत कम्पनीले नयाँ अवसरको अन्वेषण गर्ने र नवप्रवर्तन तथा गुणस्तरका नयाँ मापदण्ड तय गर्ने अपेक्षा राखेको छ।