काठमाडौं। सामान्यतः विश्वव्यापी संकट, युद्ध वा आर्थिक अनिश्चितताको समयमा लगानीकर्ताहरू सुरक्षित सम्पत्तिका रूपमा सुनतर्फ आकर्षित हुने भएकाले सुनको मूल्य बढ्ने गर्छ। तर यसपटक भने अवस्था फरक देखिएको छ।
संयुक्त राज्य अमेरिका र इजरायलले फेब्रुअरीको अन्त्यतिर इरानमाथि आक्रमण गरेपछि सुरु भएको लामो युद्धका बीच पनि सुनको मूल्य निरन्तर दबाबमा रहेको छ। जनवरी २८ मा प्रतिट्रोय औंस (३१.१ ग्राम) सुनको मूल्य ५,३०३ डलरसम्म पुगेको थियो। तर शुक्रबारसम्म आइपुग्दा यो घटेर ४,२३५ डलरमा झरेको छ।
यसको मुख्य कारण बढ्दो मुद्रास्फीति (महँगी) हो। मुद्रास्फीति तीव्र रूपमा बढेपछि केन्द्रीय बैंकहरूले ब्याजदर घटाउने सम्भावना कमजोर बनेको छ। बरु मूल्यवृद्धि नियन्त्रण गर्न ब्याजदर अझै बढाउन सक्ने अनुमान गरिएको छ।
मुद्रास्फीति बढ्नुको प्रमुख कारणमध्ये एक हो हर्मुज जलडमरूमध्य। अमेरिका र इजरायलविरुद्ध प्रतिशोधस्वरूप इरानले युद्ध सुरु भएदेखि यस समुद्री मार्गमा अवरोध सिर्जना गर्दै आएको छ। यो मार्ग विश्वका प्रमुख तेल तथा ग्यास ढुवानी मार्गहरूमध्ये एक भएकाले ऊर्जा मूल्यमा तीव्र वृद्धि भएको छ, जसले विश्वव्यापी मुद्रास्फीतिलाई थप चर्काएको छ।
अमेरिकामा मुद्रास्फीति दर तीन वर्षयताकै उच्च ४.२ प्रतिशत पुगेको छ। त्यही समयमा श्रम बजार भने अपेक्षाकृत मजबुत रहेकाले ब्याजदर तत्काल घटाइने सम्भावना कमजोर भएको छ।
सुनलाई मुद्रास्फीतिविरुद्धको सुरक्षित लगानीका रूपमा हेरिए पनि उच्च ब्याजदरले यसको आकर्षण घटाउने गर्छ। सुनले सेयर वा बचत खाताजस्तै नियमित आम्दानी वा प्रतिफल (यिल्ड) दिँदैन। सुनबाट नाफा कमाउन यसको मूल्य बढ्न आवश्यक हुन्छ।
वित्तीय वेबसाइट अप्सनस्प्रेडर्स डटकमका प्रमुख अप्सन विश्लेषक जस्टिन कार्डवेलका अनुसार सुन वास्तविक मुद्रासँग सबैभन्दा नजिकको सम्पत्ति हो। तर यसले लाभांश वा नियमित प्रतिफल नदिने भएकाले लगानीकर्ताले यसको मूल्यवृद्धिबाट मात्र लाभ लिन सक्छन्।
उनका अनुसार ब्याजदर उच्च हुँदा लगानीकर्ताहरू अमेरिकी डलरतर्फ आकर्षित हुन्छन्, जसका कारण सुनको लगानी आकर्षक रहँदैन।
युद्धका कारण अमेरिकी डलर बलियो बनेको छ। सुनको मूल्य डलरमा निर्धारण हुने भएकाले डलर र सुनको मूल्य सामान्यतः विपरीत दिशामा चल्ने गर्छन्। डलर बलियो हुँदा सुनमाथि दबाब पर्छ भने डलर कमजोर हुँदा सुनको मूल्य बढ्ने सम्भावना रहन्छ।
नोबल गोल्ड इन्भेस्टमेन्ट्सका प्रमुख कार्यकारी अधिकृत कोलिन प्लुमका अनुसार अहिले डलर मजबुत भएकाले सुनले दबाब सामना गरिरहेको छ। तर आगामी दिनमा दुवैको मूल्य कुन दिशामा जान्छ भन्ने विषय अझै अनिश्चित रहेको उनले बताएका छन्।
प्लुमका अनुसार केही महिनाअघि लगानीकर्ताहरू ब्याजदर कटौती हुने अपेक्षामा थिए, जसका कारण सम्पत्तिको मूल्य बढिरहेको थियो। तर अहिले परिस्थितिमा परिवर्तन आएको छ र ब्याजदर बढ्न सक्ने सम्भावनाले बजारलाई प्रभावित गरिरहेको छ। यस्तो अवस्थामा सुन विशेष रूपमा ब्याजदरप्रति संवेदनशील बन्ने गर्छ।
युद्धअघि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भलाई ब्याजदर उल्लेखनीय रूपमा घटाउन दबाब दिएका थिए। तर अहिले फेडको भावी निर्णय अनुमान गर्ने ‘सीएमई फेडवाच’ उपकरणले डिसेम्बरसम्म ब्याजदर बढ्ने सम्भावना ५० प्रतिशतभन्दा बढी देखाएको छ।
प्लुमका अनुसार ब्याजदर र मुद्रास्फीति एउटा तराजुका दुई पाटा जस्तै हुन् र सुन ती दुईको बीचमा रहेको हुन्छ। सन् २०२६ मा दुवै कारक एकैसाथ सक्रिय भए पनि हालका लागि ब्याजदरको प्रभाव बढी देखिएकाले सुनले चुनौती सामना गरिरहेको छ।
शुक्रबार अमेरिका र इरानबीच सम्भावित सम्झौताबारे समाचार सार्वजनिक भएपछि सुनको मूल्य अघिल्लो दिनको तुलनामा सामान्य वृद्धि भएको थियो। कार्डवेलका अनुसार युद्ध अन्त्य हुने संकेतले मुद्रास्फीति घट्ने अपेक्षा बढाउने भएकाले सुनका लागि सकारात्मक प्रभाव पर्न सक्छ।
यद्यपि युद्ध समाप्त भए पनि मुद्रास्फीति, ब्याजदर र विश्व अर्थतन्त्रसँग सम्बन्धित अन्य धेरै कारणले सुनको मूल्यमा तत्काल ठूलो वृद्धि हुने सम्भावना भने सीमित रहेको विश्लेषकहरूको भनाइ छ।