काठमाडौं। विश्वभर विद्युतीय सवारीसाधनको माग बढिरहेका बेला मुख्य उत्पादक चीनमा सन् २०२५ को ६ महिनामै ५६ लाख २० हजार नयाँ ईभी गाडी दर्ता भएका छन्।
समाचार संस्था सिन्ह्वाका अनुसार चीनको सार्वजनिक सुरक्षा मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकमा यो संख्या अघिल्लो वर्षको सोही अवधिको तुलनामा २७.८६ प्रतिशतले बढेको हो। दर्ता भएका ईभीको संख्या हालसम्मकै उच्च रहेको समाचारमा भनिएको छ।
यसलाई चीनको इतिहासमै ६ महिने अवधिमा भएको सबैभन्दा धेरै ईभी दर्ता (हरित सवारी)को रेकर्ड मानिएको छ।यो अवधिमा चीनमा दर्ता भएका कुल सवारीमध्ये ४४.९७ प्रतिशत ईभी छन्, जसले चीनको यातायात स्वच्छ ऊर्जा प्रणालीमा रुपान्तरणको संकेत गरेको समाचारमा उल्लेख छ।
सन् २०२५ को मध्यसम्म चिनियाँ सडकमा चल्ने कुल ईभीको संख्या ३ करोड ६८ लाख ९० हजार पुगेको छ। यो संख्या चीनमा चलिरहेका सबै प्रकारका सवारीमध्ये १०.२७ प्रतिशत हो।
चीनभर चार्ज गर्ने पूर्वाधार संख्या ४७.६ प्रतिशतले वृद्धि भई झन्डै एक करोड ३७ लाख ५० हजार पुगेको छ। यसमध्ये करिब ३९ लाख सार्वजनिक चार्जिङ केन्द्र छन् भने ९८ लाख ५० हजार व्यक्तिगत चार्जिङ उपकरण छन्।
यीमध्ये ब्याट्रीबाट चल्ने सवारी सबैभन्दा अगाडि छन्। हाल चीनमा झन्डै दुई करोड ५५ लाख ४० हजार यस्ता सवारी छन्, जुन कुल हरित सवारीको ६९.२३ प्रतिशत हो।
सन् २०१४ मा जम्मा एक लाख २० हजार हरित सवारीमात्र सञ्चालनमा थिए। सन् २०२२ को मध्यसम्म यो संख्या एक करोड नाघ्यो। सन् २०२३ को अन्त्यसम्म यो संख्या दोब्बर भयो र २०२४ को अन्त्यसम्म तीन करोड पार गरेको थियो।
राष्ट्रिय ऊर्जा प्रशासनका अनुसार सन् २०२५ को चैतसम्म चीनभर चार्ज गर्ने पूर्वाधार संख्या ४७.६ प्रतिशतले वृद्धि भई झन्डै एक करोड ३७ लाख ५० हजार पुगेको छ। यसमध्ये करिब ३९ लाख सार्वजनिक चार्जिङ केन्द्र छन् भने ९८ लाख ५० हजार व्यक्तिगत चार्जिङ उपकरण छन्।–एजेन्सी