काठमाडौं। नेपाल धितो पत्रबोर्डले (सेबोन) ‘धितोपत्र व्यवसायी धितोपत्र दलाल तथा धितोपत्र व्यापारी’ नियमावली २०६४ को छटौँ संशोधन गरेको छ।
बोर्डले धितोपत्र व्यवसायी धितोपत्र दलाल तथा धितोपत्र व्यापारी (ब्रोकर कम्पनी)हरुलाई तोकिएको पुँजी वृद्धि गर्न समय थप, मार्जिन कारोबार र सार्वजनिक निष्काशनको बाटो खुला गर्दै नियमावली संशोधन गरेको हो।
दुई वर्षअघि भएको नियमावलीको पाँचौँ संशोधनले २०८२ असार मसान्तसम्म २० करोड रुपैयाँ चुक्ता पुँजी कायम गर्नुपर्ने व्यवस्था गरेको थियो। बोर्डले नियमावलीको छटौं संशोधन गरेर ब्रोकर कम्पनीलाई २० करोड रुपैयाँ पुँजी वृद्धि गर्न ९ महिना समय थप गरेको छ। तोकिएको पुँजी ब्रोकर कम्पनीहरुले आगामी चैत मसान्तसम्म कायम गर्नुपर्ने छ।
यस्तै, संशोधित नियमावलीअनुसार धितोपत्र व्यापारीले धितोपत्रको सार्वजनिक निष्काशन गर्न सक्ने व्यवस्था गरेको छ। यस्तो निष्काशन एक अर्ब ५० करोड रुपैयाँ चुक्ता पुँजी कायम भएर सञ्चालनमा आएका धितोपत्र व्यापारीले जारी गर्न सक्ने बोर्डका प्रवक्ता निरञ्जय घिमिरेले बताए।
‘धितोपत्र व्यापारीले बुक बिल्डिङ प्रक्रियामार्फत आइपिओ जारी गर्न सक्छन्। यस्तै, पाँचौ संशोधनमार्फत रोकिएको २० करोड तलको ब्रोकर कम्पनीको मार्जिन कारोबारलाई खुला गरिएको छ,’ बोर्ड प्रवक्ता घिमिरेले क्यापिटल नेपालसँग भने, ‘मार्जिन कारोबारको सीमा भने थप निर्देशन तथा परिपत्रमार्फत् प्रष्ट बनाइन्छ।’
हालसम्म धितोपत्र व्यापारीको रुपमा नागरिक स्टक डिलर र नबिल स्टक डिलरले धितोत्रि व्यापारीको रुपमा कारोबार गरिरहेका छन्। साथै, संशोधित नियमावलीले वाणिज्य बैंक वा विशेष ऐनद्वारा स्थापित संस्थाले धितोपत्र व्यवसाय गर्न सहायक कम्पनी स्थापना गरेकोमा त्यस्तो कम्पनीमा त्यस्तो बैंक वा वित्तीय संस्थाको कर्मचारीलाई सञ्चालक नियुक्त गर्न बाधा नपर्ने व्यवस्था गरेको छ।
संशोधित व्यवस्थाले धितोपत्र दलालले ग्राहकको नामबाट धितोपत्र खरिद वा बिक्री गर्न, प्रचलित धितोपत्रको केन्द्रीय निक्षेप सेवा नियमावली बमोजिम निक्षेप सदस्यले गर्ने कार्य गर्न, मार्जिन कारोबारसम्बन्धी कार्य गर्न र धितोपत्रको राफसाफ सदस्यसम्बन्धी कार्य गर्न सक्ने व्यवस्था गरेको छ।
साथै, ब्रोकरहरुले बोर्डबाट अनुमति लिई लगानी व्यवस्थापनसम्बन्धी कार्य गर्न, लगानी परामर्श सेवासम्बन्धी कार्य गर्न तथा योग्य संस्थागत लगानीकर्ताको रूपमा कार्य गर्न सक्ने प्रावधान थपिएको छ।