काठमाडौं। लामो समयदेखि लगानीकर्ताले राख्दै आएको मागलाई सम्बोधन गर्दै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ‘अड लट’ कारोबारको व्यवस्था गरेको छ। नेप्सेले २०८३ साउन १ गतेदेखि वेबसाइटको मार्केट डेप्थमा अड लट खरिद तथा बिक्री आदेश देख्न सकिने बनाएको हो।
नयाँ व्यवस्थाले आफूसँग ‘अड लट’ धितोपत्र हुँदा कारोबार गर्न नपाएको भन्ने लगानीकर्ताको गुनासोलाई सम्बोधन गर्न उक्त व्यवस्था गरिएको नेप्से प्रवक्ता मुराहरी पराजुलीले जानकारी बताए।
‘साना लगानीकर्ताले कम संख्यामा मात्र जस्तै ५, १०, २५ कित्ता) सेयर बेच्न समस्या पर्ने गरेको थियो, नेप्सेले यो व्यवस्था गरेर अब साना संख्यामा पनि किनबेच गर्न सकिने गरी व्यवस्था गरेको हो,’–नेप्से प्रवक्ता पराजुलीले भने।
उनका अनुसार यो व्यवस्था धितोपत्र कारोबार विनियमावली, २०७५ मा भएको ‘अड लट’ कारोबार सम्बन्धी व्यवस्था अनुसार गरिएको हो। विनियमावलीले धितोपत्रको अंकित मूल्य १० रुपैयाँ भएमा १०० कित्ताभन्दा कम, अंकित मूल्य १०० रुपैयाँ भएमा १० कित्ताभन्दा कम र अंकित मूल्य १००० रुपैयाँ भएमा एक कित्ताभन्दा कमको कारोबारलाई ‘अड लट’ कारोबार हो।
यद्यपि, ‘अड लट’ कारोबारलाई मूल्य परिवर्तन सीमा र बजार परिसूचक गणनामा समावेश गरिने छैन। साथै, विनियमावलीमा धितोपत्रधनीले बोर्ड लटमा भएको धितोपत्रलाई टुक्राएर ‘अड लट’ बनाउन नपाउने व्यवस्था पनि स्पष्ट गरिएको छ।
यो नयाँ व्यवस्थाले साना लगानीकर्ताहरूलाई आफ्नो ‘अड लट’ सेयर बिक्री गर्न सहज हुने र बजारमा तरलता थपिने अपेक्षा गरिएको छ। नेप्सेले यसबाट समग्र पुँजी बजारको विकासमा थप योगदान पुग्ने नेप्सेको विश्वास छ।
