काठमाडौं। नेपालका सडक तथा पुल निर्माणका कार्य केही लक्ष्यभन्दा बढी प्राप्ति हासिल गरेका छन्। केहीमा सुस्त गतिमा छन्।
सडक विभागका अनुसार नयाँ ट्र्याक निर्माणमा २४०.३५ किलोमिटरको लक्ष्य राखिएकोमा करिब दुई किलोमिटर मात्रै काम सम्पन्न भएको छ। यो भनेको ७९.४६ प्रतिशत प्रगति हासिल भएको हो।
ग्राभेलतर्फ २८२.४० किलोमिटरको लक्ष्यमा २५९ किलोमिटर काम पूरा भई ९२ प्रतिशत प्रगति भएको सडक विभागले जनाएको छ। दुई लेन नयाँ कालोपत्रे सडक निर्माणमा एक हजार २२३ किलोमिटरको लक्ष्य राखिएकोमा ९५४ किलोमिटर मात्रै सम्पन्न भई ७८ प्रतिशत प्रगति देखिएको विभागका प्रवक्ता तथा उप-महानिर्देशक ई. प्रभात कुमार झा बताउँछन्।
तर, चार वा सोभन्दा बढी लेनका नयाँ कालोपत्रे सडक निर्माणमा ९५ किलोमिटरको लक्ष्यमा ११४ किलोमिटर काम भई लक्ष्यभन्दा ११९ प्रतिशत हासिल भएको उनले बताएका छन्।
कालोपत्रे सडक निर्माणमा ७४ किलोमिटरको लक्ष्यमा ६५ किलोमिटर काम सम्पन्न भई ८८ प्रतिशत प्रगति भएको छ। यसैगरी, सम्पन्न पुलहरूको संख्यामा १५० वटाको लक्ष्य राखिएकोमा ९० वटा मात्रै सम्पन्न भएका छन्।
यस्तै, बेली ब्रिज जडानमा भने कुनै लक्ष्य नतोकिएको भएपनि ९ वटा जडान भएको सडक विभागको तथ्यांक छ। क्र्यास ब्यारियरतर्फ भने २० हजार मिटरको लक्ष्य राखिएकोमा ४० हजार १२३ मिटर जडान भएको छ।
कालेपत्रे सडक प्वाल वा साना साना विग्रिएमा ठाउँ (पोटहोल) मर्मतका लागि चार लाख ८९ हजार ७५२ वर्ग मिटरको लक्ष्य सरकारको थियो। तर, गत आर्थिक वर्षमा चार लाख ७७ हजार २२३ वर्ग मिटर मर्मत सम्पन्न भई ९७ प्रतिशत प्रगति भएको विभागले जनाएको छ।
राजमार्ग आवधिक मर्मतमा ४३६ किलोमिटरको लक्ष्यमा ३६८ किलोमिटर काम सम्पन्न भई ८५ प्रतिशत प्रगति भएको छ। यस्तै, राजमार्ग पुनर्निर्माण तथा स्तरोन्नतिमा ९६ किलोमिटरको लक्ष्यमा ४५ किलोमिटर मात्रै काम सम्पन्न भई ४७ प्रतिशत प्रगति भएको छ। जुन अन्यको तुलनामा निकै कम हो।
केही महत्वपूर्ण पूर्वाधार क्षेत्रमा उल्लेख्य प्रगति देखिए पनि पुल निर्माण र राजमार्ग पुनर्निर्माण तथा स्तरोन्नति जस्ता क्षेत्रमा सडक विभागले अझै गति बढाउनुपर्ने आवश्यक देखिएको छ।