काठमाडौं। नेपालमा सडक तथा पुल निर्माणका कार्यहरूले मिश्रित प्रगति देखाएका छन्। केही क्षेत्रमा लक्ष्यभन्दा बढी प्राप्ति हासिल गरिएको छ भने केही क्षेत्रमा काम सुस्त गतिमा अगाडि बढेको छ।
सडक विभागका अनुसार, नयाँ ट्र्याक निर्माणमा २४०.३५ किलोमिटरको लक्ष्य निर्धारण गरिएकोमा १ सय ९१ किलोमिटर काम सम्पन्न भएको छ। यसले गर्दा ७९.४६ प्रतिशत प्रगति हासिल भएको हो।
ग्राभेल सडकतर्फ २०२.४० किलोमिटरको लक्ष्यमा २५९ किलोमिटर काम पूरा भएको छ, जसले ९२ प्रतिशत प्रगति देखाएको सडक विभागले जनाएको छ। दुई लेनको नयाँ कालोपत्रे सडक निर्माणमा १ हजार २ सय २३ किलोमिटरको लक्ष्य राखिएकोमा ९ सय ५४ किलोमिटर मात्रै सम्पन्न भएको छ, जसले ७८ प्रतिशत प्रगति देखाएको विभागका प्रवक्ता तथा उपमहानिर्देशक इञ्जिनियर प्रभातकुमार झाले बताए।
तर, चार वा सोभन्दा बढी लेनका नयाँ कालोपत्रे सडक निर्माणमा भने उल्लेख्य सफलता हासिल भएको छ। ९५ किलोमिटरको लक्ष्यमा १ हजार १४ किलोमिटर काम सम्पन्न भएको छ, जसले लक्ष्यभन्दा १ सय १९ प्रतिशत प्राप्ति दर्शाएको उनले जानकारी दिए।
कालोपत्रे सडक निर्माणमा ७४ किलोमिटरको लक्ष्यमा ६५ किलोमिटर काम सम्पन्न भई ८८ प्रतिशत प्रगति भएको छ। पुल निर्माणमा १ सय ५० वटाको लक्ष्य राखिएकोमा ९० वटा मात्रै सम्पन्न भएका छन्। बेली ब्रिज जडानमा कुनै विशेष लक्ष्य नतोकिए पनि ९ वटा जडान भएको सडक विभागको तथ्याङ्कले देखाएको छ।
सुरक्षा उपकरणको हकमा उत्साहजनक प्रगति भएको छ। क्र्यास ब्यारियरतर्फ २० हजार मिटरको लक्ष्य राखिएकोमा ४० हजार १२३ मिटर जडान भएको छ।
कालोपत्रे सडकको पोटहोल मर्मतका लागि ४ लाख ८९ हजार ७५२ वर्गमिटरको लक्ष्य निर्धारण गरिएकोमा ४ लाख ७७ हजार २२३ वर्गमिटर मर्मत सम्पन्न भई ९७ प्रतिशत प्रगति भएको विभागले जनाएको छ।
राजमार्ग आवधिक मर्मतमा ४ सय ३६ किलोमिटरको लक्ष्यमा ३ सय ६८ किलोमिटर काम सम्पन्न भई ८५ प्रतिशत प्रगति भएको छ। तर, राजमार्ग पुनर्निर्माण तथा स्तरोन्नतिमा ९६ किलोमिटरको लक्ष्यमा ४५ किलोमिटर मात्रै काम सम्पन्न भएको छ, जुन ४७ प्रतिशत प्रगति मात्रै हो र अन्य क्षेत्रको तुलनामा निकै कम छ।
केही महत्वपूर्ण पूर्वाधार क्षेत्रमा उत्साहजनक प्रगति देखिए पनि पुल निर्माण र राजमार्ग पुनर्निर्माण तथा स्तरोन्नति जस्ता क्षेत्रमा सडक विभागले कार्यगति बढाउनुपर्ने आवश्यकता देखिएको छ।