काठमाडाैं। ओखलढुंगाका आठ स्थानीय तहका चार हजारभन्दा बढी घर मनसुनजन्य विपद्को उच्च जोखिममा रहेका आँकलन गरिएको छ। आठ स्थानीय तहका ३५ बस्तीका चार हजार ४७ घर बाढीपहिरोको जोखिममा रहेका हुन्।
जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी अनुप पौडेलका अनुसार जिल्लामा तीन हजार ९०४ घर पहिरो र १४३ घर बाढीजन्य विपद्को जोखिममा छन्। स्थानीय तहहरुले जिल्ला विपद् व्यवस्थापन समितिलाई उपलब्ध गराएको विवरणानुसार १२ हजार ३८४ मानिस उच्च जोखिममा छन्।
सबैभन्दा बढी जिल्लाको खिजीदेम्बा गाउँपालिका–३ को एस्टेन, भित्ताखर्क, सतल्पु, गुरिफ, तनुवा, चप्लेटी खोला र चोस्पु गाउँका गरि दुई हजार ४२५ घरका छ हजार ७० नागरिक जोखिममा छन्।
यस्तै, मोलुङ गाउँपालिका–८ गौरीगाउँ, पलारु, खिम्ली, ओवाङ्गी, भिरकुना, रागाँदीप, टङ्कु र सेप्लुका गरी पाँच सय २० घरका दुई हजार ५०० मानिस पहिरोको जोखिममा छन्। चम्पादेवी गाउँपालिका–८ बिलन्दुका एक सय ६५ घर पनि पहिरोको उच्च जोखिममा छन्।
मानेभन्ज्याङ गाउँपालिका–६ र ७ मा अवस्थित टोक्सेलको हर्कपुर, माझीगाउँ र जयरामघाट तथा चम्पादेवी गाउँपालिका–१ पलापुको सुनकोशी नदी किनारका एक सय ४३ घर बाढी तथा डुबानको जोखिममा छन्। सुनकोशी, दुधकोशी र लिखु–३ नदीले घेरिएको ओखलढुंगा जिल्लामा नदी कटानको समेत समस्या छ। जिल्लाभित्रका खोलानालाले समेत वर्षाको समयमा जनधनको क्षति गर्ने गरेका छन्।
जोखिम बढेसँगै प्रशासनले सतर्कता अपनाउन नागरिकलाई आग्रह गर्दै जोखिमयुक्त बस्तीका नागरिकलाई तत्काल सुरक्षित स्थानमा स्थान्तरण गर्न स्थानीय तहलाई परिपत्र गरेको छ। विपद् जोखिम न्यूनीकरण, उद्धार र राहतका लागि जिल्लास्तरीय संयन्त्र परिचालन गरिएको र स्थानीय तहहरूसँग समेत समन्वय भइरहेको प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीको भनाइ छ।
विपद्को समयमा तत्कालै प्रयोग गर्न विभिन्न विद्यालय, क्लब, सामुदायिक भवन तथा खुला स्थानलाई व्यवस्थापन गरिएको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ।
जिल्लाका सबै पालिकामा पहिरो र केही पालिकाको नदी तटीय क्षेत्रमा बाढी तथा डुबानको जोखिम छ। भूक्षयका दृष्टिकोणले ओखलढुङ्गा कोशी प्रदेशमै सबैभन्दा बढी जोखिमयुक्त जिल्ला हो। यहाँ बाढीपहिरोबाट बर्सेनि जनधनको क्षति हुँदै आएको छ ।