काठमाडौं। चीनले आगामी साता स्टकहोममा हुने व्यापार वार्तामा अमेरिकासँग ‘समन्वयलाई सुदृढ’ बनाउने प्रयास गर्ने बुधबार जनाएको छ।
वासिङ्टन र बेइजिङले यस वर्षको सुरुमा एकअर्काको निर्यातमा बढ्दो, प्रतिशोधात्मक कर लगाउने घोषणा गरेका थिए। प्रतिशोधात्मक करको वृद्धि तीन अंकमा पुगेपछि सम्झौताको वातावरण बनाउन भन्दै दुवै पक्ष पछि हटेका थिए।
त्यसअघि विवाद चुलिँदै जाँदा विश्वका दुई ठूला अर्थ व्यवस्था भएको देशबीचको व्यापार अवरुद्ध भएको थियो। अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले आगामी साता स्टकहोममा आफ्ना चिनियाँ समकक्षीसँग भेट्ने बताए।
‘तेस्रो चरणको उच्चस्तरीय वार्ताले अगष्टको मध्यसम्ममा लेभीको समय सीमा स्थगन हुने सम्भावना देखिएको छ,’ बेसेन्टले फक्स बिजनेससँग भने।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले वार्तामा दुवै पक्षले समानता, सम्मान र पारस्परिक लाभका आधारमा मिलेर काम गर्न सक्ने आशा गरेको बताए।
उनले भने, ‘हामी सहमति बढाउने छौँ, असमझदारी कम गर्ने छौँ, सहयोगलाई बलियो बनाउने छौँ र चीन-अमेरिका सम्बन्धको स्थिर, स्वस्थ र दिगो विकासलाई बढावा दिनेछौँ।’
चीनका उपप्रधानमन्त्री दसईपक्षबीच स्वीडेनको राजधानी स्टकहोममा हुने वार्तामा सहभागी हुने कार्यक्रम रहेको छ। ‘हे लाइफङ वार्ताका लागि जुलाई २७ देखि ३० सम्म स्वीडेनमा रहनु हुनेछ,’ वाणिज्य मन्त्रालयका प्रवक्ताले बुधबार जारी गरेको विज्ञप्तिमा भनिएको छ।
गत मे महिनामा जेनेभामा उच्च अधिकारीको बैठकपछि दुवै पक्षले कर वृद्धिको स्तर घटाउन अस्थायी रूपमा सहमत भएका थिए। गत जुनमा लण्डनमा पनि दुई देशका अधिकारीबीच भेटवार्ता भएको थियो।