काठमाडौं। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भ्रष्टाचार विरोधी निकायको स्वतन्त्रताको प्रत्याभूति दिने विधेयकको मस्यौदालाई आफूले अनुमोदन गरेको बताएका छन्।
यी परिवर्तनले फेब्रुअरी २०२२ मा रूसी आक्रमणपछि युक्रेनको प्रमुख सहयोगी युरोपेली संघमा पनि चिन्ता प्रकट गरिएको छ। युरोपेली एकीकरणका लागि सुधार आवश्यक रहेको इयूले बताउँदै आएको छ।
जेलेन्स्कीले भ्रष्टाचारविरोधी निकायसम्बन्धी नयाँ विधेयक बुधबार संसद्मा पेश गर्ने प्रतिबद्धता जनाएका थिए।
जेलेन्स्कीले सामाजिक सञ्जालमा लेखेका छन्, 'मैले भर्खरै युक्रेनमा कानुनको शासनको वास्तविक सुदृढीकरण, भ्रष्टाचारविरोधी निकायको स्वतन्त्रता र कुनै पनि रूसी प्रभाव वा हस्तक्षेपबाट कानुनको शासनको भरपर्दो सुरक्षाको ग्यारेन्टी गर्ने कानुनको मस्यौदाको पाठलाई अनुमोदन गरेको छु।'
उनले नयाँ विधेयक बिहीबार संसद्मा पेश गरिने जानकारी दिए। 'यो महत्वपूर्ण छ। हामी सबै युक्रेनीहरूको स्थितिको सम्मान गर्दछौँ र युक्रेनको साथमा उभिने सबैप्रति आभारी छौँ,' उनले भने।
भ्रष्टाचार विरोधी प्रमुख निकायहरूको स्वतन्त्रता हटाउने परिवर्तनको विरोधमा यस हप्ता युक्रेनभरि हजारौँले सडकमा प्रदर्शन गरेका थिए।
तीन वर्षअघि युद्ध सुरु भएयता यो देशको पहिलो ठूलो प्रदर्शन हो। संसद्ले द्रुत गतिमा अनुमोदन गरेको र सोही दिन जेलेन्स्कीले हस्ताक्षर गरेको उक्त कानुनले युक्रेनको राष्ट्रिय भ्रष्टाचार विरोधी ब्यूरो (एनएबियू) र विशेष भ्रष्टाचार विरोधी अभियोजकको कार्यालय (एसएपिओ)लाई अभियोजक जनरलको प्रत्यक्ष अधिकारअन्तर्गत राख्छ।