काठमाडौं। चिप निर्माता कम्पनी एनभिडियाको निरन्तर दबाबपछि चीनमाथि लगाइएको प्रविधि निर्यात प्रतिबन्ध अस्थायी रूपमा हटाउन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तयार भएका छन्। गत महिना एनभिडियाका सीईओ जेन्सेन हुआङले चीनमा आयोजित एक प्रदर्शनीमा सहभागी फर्केदेखि चीनको बजारका लागि बनाइएको एच २० चिपमाथि प्रस्तावित प्रतिबन्धविरुद्ध व्यक्तिगत रूपमा दबाब दिएको बताइएको छ।
फाइनान्सियल टाइम्सको रिपोर्टअनुसार ट्रम्प प्रशासनले पछिल्ला केही महिनामा चीनमाथि कडा निर्यात नियन्त्रण लगाउने कदम अघि नबढाउन अमेरिकी वाणिज्य विभागअन्तर्गतको ब्यूरो अफ इन्डस्ट्री एन्ड सेक्युरिटी (बीआईएस) लाई निर्देशन समेत दिएको छ। चीनको प्रतिकार र व्यापार वार्तामा अवरोध हुने आशंकाका कारण प्रशासनले आफ्नो निर्णय उल्ट्याएको विज्ञहरूले बताउँदै आएका छन्।
गत मे महिनामा चीनले पहिलोपटक रेयर अर्थ र म्याग्नेट्सको निर्यातमा प्रतिबन्ध लगाए पछि ट्रम्प दबाबमा रहेको बताइन्छ। ट्रम्पले चीनसँग चलिरहेको व्यापार वार्ता कायम राख्ने र चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित गर्ने उद्देश्यले चीनमाथि लगाइने नयाँ प्रविधि निर्यात प्रतिबन्धलाई अस्थायी रूपमा रोक लगाएको बताइएको छ।
तर, अमेरिकी राष्ट्रिय सुरक्षा विज्ञहरूले कडा आलोचना गर्दै यसले चीनको सैन्य एआई क्षमतालाई सहयोग पुर्याउने जोखिम रहेको बताएका छन्। २० जना सुरक्षा विज्ञ र पूर्व अधिकारीहरूको समूहले वाणिज्य सचिव हावर्ड लुटनिकलाई पत्र पठाउने तयारी गरेको बताइएको छ। जसमा एच २० चिपको निर्यातलाई अनुमति नदिन भनिएको छ।
पत्रमा लेखिएको छ,'यो कदमले कृत्रिम बुद्धिमत्तामा अमेरिकाको आर्थिक र सैन्य अग्रतालाई खतरामा पार्ने एउटा रणनीतिक गल्ती हो।'
एच २० चिपले 'इन्फरेन्स' प्रक्रिया (एआई कार्यहरूको कार्यान्वयन चरण)मा प्रतिबन्धित एच १०० चिपको तुलनामा अझ राम्रो प्रदर्शन गर्ने र चीनको सैन्य क्षमतामा उल्लेखनीय वृद्धि गर्न सक्ने उक्त समूहको विश्वास छ।
चीनको सैन्य मामिलाका विज्ञ जेम्स मुल्भेननका अनुसार, यो विषय केवल एउटै चिप वा कम्पनीको मात्र नभई अन्ततः विश्वको सबैभन्दा शक्तिशाली प्रविधिमाथि कुन राजनीतिक प्रणाली र मूल्यले नियन्त्रण राख्नेछ भन्ने कुरासँग सम्बन्धित छ।
उनले भनेका छन्,'यी निर्णयहरूले कुन राजनीतिक प्रणाली र कुन मूल्यहरूले विश्व इतिहासकै सबैभन्दा शक्तिशाली प्रविधिलाई नियन्त्रण गर्नेछन् भन्ने निर्धारण गर्नेछन्।'
मे महिनामा थप चिनियाँ चिप निर्माता कम्पनीका सहायक कम्पनीहरूलाई निर्यात ब्ल्याकलिस्टमा समावेश गर्ने योजना सार्वजनिक भए पनि बीएसआईले अझैसम्म कुनै कदम चालेको छैन। समाचार रिपोर्टअनुसार केही अधिकारीहरू प्रविधि नियन्त्रणमा ठोस कदम चाल्नुभन्दा ट्रम्पले व्यापार वार्तालाई प्राथमिकता दिएकोमा असन्तुष्ट छन्।