काठमाडौं। नेपाल दूरसञ्चार प्राधिकरणबाट सार्वजनिक गत आर्थिक वर्ष २०८२ को दूरसञ्चार सूचकांकअनुसार अघिल्लो आव २०८१ को तुलनामा टेलिफोन सेवातर्फ उल्लेखनीय गिरावट र फिक्स्ड इन्टरनेट सेवा विस्तार भएको देखिएको छ।
तथ्यांकअनुसार मोबाइल भ्वाइस र मोबाइल इन्टरनेट प्रयोगकर्ता घटेका छन् भने फिक्स्ड ब्रोडब्यान्ड (फाइबर)विस्तार तीव्र गतिमा भएको छ। सरकारी स्वामित्वको नेपाल टेलिकमको बजार हिस्सा घट्दै जाँदा एनसेल र निजी आईएसपीहरूको उपस्थिति बढेको छ।
जनसंख्याअनुसार दूरसञ्चार पहुँच दरमा कमी देखिएको छ भने आर्थिक अवस्था र प्रविधि प्रयोगलाई चुनौतीसँग जोडिएको छ।
कुन-कुन सेवामा घटे प्रयोगकर्ता
तथ्यांकअनुसार इन्टरनेट सेवातर्फ फाइबर इन्टरनेट र टेलिफोनतर्फ फोरजीबाहेक अन्य सेवामा प्रयोगकर्ता घटेका छन्। २०८१ असारमा कुल ३ करोड ६२ लाख २६ हजार ८४४ ग्राहकले भ्वाइस सेवा लिएकामा २०८२ असारमा उक्त संख्या एक वर्षमा ६४ लाख ९८ हजार ९२८ ले घटेर २ करोड ९७ लाख २७ हजार ९१६ मा झरेको छ।
यो तथ्यांकमा मोबाइल ग्राहक ३ करोड ५६ लाखबाट घटेर २ करोड ९३ लाखमा सीमित भएको देखिएको छ। यो संख्या अघिल्लो वर्षको तुलनामा ९ लाख ८ हजारले कमी हो।
त्यस्तै, फिक्स्ड फोनतर्फ पनि ५ लाख ९६ हजारबाट प्रयोगकर्ता रहेकामा गत वर्ष १ लाख ८३ हजारले घटेर ४ लाख १३ हजार पुगेको छ। स्याटेलाइट फोनतर्फ २ हजार ९८६ प्रयोगकर्ता रहेकामा घटेर १ हजार ८८ मा सीमित भएका छन् ।
घट्यो नेपाल टेलिकमको बजार हिस्सा
२०८१ मा नेपाल टेलिकमको हिस्सा ६३ दशमलव ५५ प्रतिशतमा रहेकोमा २०८२ मा १० दशमलव ८६ प्रतिशतले घटेर ५२ दशमलव ६९ प्रतिशतमा झरेको छ। सोही अवधिमा एनसेलको हिस्सा ३६ दशमलव ४५ प्रतिशतबाट बढेर ४७ दशमलव २९ प्रतिशत पुगेको छ।
टेलिफोन सेवासँग सम्बन्धित पुराना तथा नयाँ खालका धेरै प्रविधि प्रयोग गर्दै आएको टेलिकमले संख्यात्मक हिसाबमा धेरै हिस्सा ओगट्दै आएकामा पछिल्लो समय पुराना प्रविधिमा आधारित सेवा बन्द हुँदै गएका छन् भने प्रयोगकर्ता पनि घट्दा बजार हिस्सा खुम्चिएको देखिएको हो।
तथ्यांकअनुसार भ्वाइस सेवामा जनसंख्या पहुँच दर पनि घटेको छ। २०८१ मा १२४ दशमलव २२ प्रतिशत रहेको भ्वाइस सेवाको पहुँच २०८२ मा घटेर १०१ दशमलव ९३ प्रतिशतमा सीमित छ। जनसंख्या वृद्धि स्थिर भए पनि सक्रिय प्रयोगकर्ता संख्या घट्नु र पुराना प्रविधि हट्दै जाँदा जनसंख्या पहुँच दरसमेत घटेको देखिएको हो।
थ्रीजीबाट फोरजीमा रुपान्तरण हुँदा केही प्रयोगकर्ताले पुरानो सिम नवीकरण नगरी निष्क्रिय गर्नु, प्राधिकरण र टेलिकम प्रदायकले निष्क्रिय वा फर्जी सिम हटाउने अभियान चलाएका कारण धेरै सिम डि–एक्टिभेट भइरहेका छन् भने वाईम्याक्स, सिडिएमएजस्ता पुराना सेवा बन्द भएपछि ग्रामीण भेगका पुराना प्रयोगकर्ता घटिरहेका छन्।
समग्र इन्टरनेट प्रयोगकर्तामा कमी, फाइबर प्रयोगकर्तामा वृद्धि
२०८१ मा ३ करोड ४० लाख २८ हजार ५८३ ब्रोडब्यान्ड प्रयोगकर्ता रहेकामा २०८२ मा यो घटेर २ करोड ९७ लाख ४८ हजार ६७४ मा पुगेको छ। यसमा मोबाइल ब्रोडब्यान्डतर्फ ९१ दशमलव ७२ प्रतिशतबाट घटेर ८९ दशमलव ०८ प्रतिशतमा सीमित भएको छ।
फिक्स्ड वायर्ड ब्रोडब्यान्ड ८ दशमलव २६ प्रतिशतबाट बढेर १० दशमलव ८३ प्रतिशत र वायरलेस ब्रोडब्यान्ड ० दशमलव ०२ प्रतिशतबाट घटेर ० दशमलव १० प्रतिशत कायम भएको छ।
यो अवधिमा फाइबर इन्टरनेट प्रयोगकर्तामा भने वृद्धि भएको तथ्यांकले देखाएको छ। २०८१ मा २८ लाख १० हजार प्रयोगकर्ता रहेका फाइबर सेवाका ग्राहक २०८२ मा वृद्धि भएर ३२ लाख २० हजार पुगेका छन्। यसमा वल्र्डलिंक (३१.१७ प्रतिशत), डिश मिडिया (११.१२ प्रतिशत), नेपाल टेलिकम (१०.९१ प्रतिशत), भायानेट (९.८२ प्रतिशत), र सुबिसु (९.२१ प्रतिशत) बजार हिस्सासहित शीर्ष ५ सेवाप्रदायक बनेका छन्।
यस अवधिमा देशका ठूला तीन इन्टरनेट प्रदायकले आक्रमक रूपमा ग्राहक संख्या थपेका छन्। सबैभन्दा धेरै ग्राहक बढाउनेमा वल्र्डलिंक रहेको छ। वल्र्डलिंकले एक वर्षमा ९४ हजार नयाँ ग्राहक थपेको छ। डिस मिडिया नेटवर्कले ४१ हजार ६०० बढी ग्राहक थप गर्दै दोस्रोमा छ। यो अवधिमा ४० हजार ८०० बढी ग्राहक थप्दै टेलिकम तेस्रो ठूलो इन्टरनेट सेवाप्रदायक बनेको छ।
फोरजी बढ्दो तर थ्रीजी लोप हुँदै
प्राधिकरणको तथ्यांकअनुसार २०८१ को तुलनामा मोबाइल सेवामा उल्लेखनीय परिवर्तन भएको छ। नेपालमा फोरजी सेवा प्रयोग तीव्र गतिमा बढेको छ भने थ्रीजी प्रयोगकर्ता उल्लेखनीय रुपमा घटेका छन्। तर, ग्रामीण क्षेत्रमा टुजी प्रयोग अझै कायम छ।
२०८१ मा टुजी प्रयोगकर्ता १४ लाख ५८ हजार मात्र रहेकामा २०८२ मा यो संख्या बढेर ३१ लाख ५९ हजार पुगेको छ। ग्रामीण तथा दुर्गम क्षेत्रमा पुरानो जीएसएम नेटवर्क अझै प्रमुख भ्वाइस सेवाको आधार बनेको छ।
साधारण (फिचर) फोन प्रयोगकर्ताको संख्या उच्च हुनु र फोरजी र थ्रीजी सेवा विस्तार नभइसकेका कारण ग्रामीण क्षेत्रमा टूजी मात्रै विकल्पको रूपमा रहेको छ।
२०८१ मा ७५ लाख १९ हजार थ्रीजी प्रयोगकर्ता रहेकामा २०८२ मा घटेर ८ लाख ६३ हजारमा सीमित छन्। टेलिकम र एनसेल दुवैले फोरजीमा आधारित एलटीई सेवा विस्तारमा प्राथमिकता दिएपछि थ्रीजी विस्तार रोकिएको छ भने स्मार्ट फोन प्रयोगकर्ताहरू सीधै फोर जीमा अपग्रेड भइरहँदा यो सेवा बन्द हुने सँघारमा छ।
भिओएलटीई सेवा सुरु भएसँगै भ्वाइससमेत फोरजीबाट सञ्चालन हुन थालेपछि थ्रीजीको आवश्यकता घट्दै गएको हो। फोरजीतर्फ २०८१ मा २ करोड २२ लाख प्रयोगकर्ता रहेकामा २०८२ मा बढेर २ करोड ५६ लाख पुगेका छन्।
सस्तो स्मार्ट फोनको उपलब्धता र बढ्दो मोबाइल इन्टरनेट प्रयोग
टेलिकम र एनसेल दुवैबाट तीव्र एलटीई सेवा विस्तार, भिओएलटीई सेवा सुरु भएसँगै फोरजीमा भ्वाइस र डेटा दुवै सुविधा हुँदा फोरजीले बजार पाइरहेको छ।
नेपालमा उपलब्ध पछिल्लो प्रविधि हुनु, सरकारी र निजी क्षेत्रबाट डिजिटल सेवा र एप्सको प्रयोग बढ्दा द्रुत इन्टरनेटको माग उच्च हुँदा यसको विस्तारमा प्रभाव देखिएको हो।