नयाँ दिल्ली। भारतले आजदेखि नयाँ दिल्लीमा विश्वस्तरीय कृत्रिम बुद्धिमत्ता सम्मेलनको आयोजना सुरु गरेको छ। बहुदिवसीय यस सम्मेलनमा विभिन्न देशका राष्ट्र प्रमुख, मन्त्री, नीति निर्माता, अनुसन्धानकर्ता तथा विश्वका अग्रणी प्रविधि कम्पनीका शीर्ष नेतृत्वको उल्लेखनीय सहभागिता रहेको छ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार यो सम्मेलन ग्लोबल साउथमा आयोजना गरिएको अहिलेसम्मकै सबैभन्दा प्रभावशाली कृत्रिम बुद्धिमत्ता सम्बन्धी बहुपक्षीय जमघटमध्ये एक हो।
सम्मेलनमा विश्वका ठूला प्रविधि कम्पनीको उच्च तहको सहभागिता देखिएको छ। अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्स, एसोसिएटेड प्रेस र अल जजिराका अनुसार ओपनएआई, गुगल, माइक्रोसफ्ट, अमेजन, मेटा, आइबीएम, एनभिडिया र एन्थ्रोपिकजस्ता कम्पनीका प्रमुख कार्यकारी अधिकृत तथा संस्थापक सम्मेलनमा सहभागी भइरहेका छन्।
ओपनएआईका प्रमुख कार्यकारी अधिकृत स्याम अल्टम्यान, गुगलका प्रमुख कार्यकारी अधिकृत सुन्दर पिचाई, माइक्रोसफ्टका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत सत्य नाडेला, एनभिडियाका प्रमुख कार्यकारी अधिकृत जेन्सेन ह्वाङ, अमेजन वेब सेवाका शीर्ष कार्यकारी, मेटाका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत मार्क जुकरबर्ग तथा एन्थ्रोपिकका सह–संस्थापकहरू सम्मेलनका प्रमुख आकर्षणका रूपमा उपस्थित हुनेछन्।
आर्थिक दृष्टिले पनि सम्मेलनलाई अत्यन्त महत्वपूर्ण मानिएको छ। भारतले आफ्नो डिजिटल पूर्वाधार, ठूलो जनशक्ति र तीव्र रूपमा विस्तार भइरहेको स्टार्टअप प्रणाली विश्वसामु प्रस्तुत गर्दै कृत्रिम बुद्धिमत्ता क्षेत्रमा अन्तर्राष्ट्रिय लगानी र सहकार्य आकर्षित गर्ने प्रयास गरिरहेको छ।
यी कम्पनीका नेतृत्वकर्ताले कृत्रिम बुद्धिमत्ताको भविष्य, यसको सुरक्षित र नैतिक प्रयोग, नियमन, नवप्रवर्तन र व्यावसायिक सम्भावनाबारे आ–आफ्नो धारणा प्रस्तुत गरिरहेका छन्। विश्वका ठूला प्रविधि कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरू एकै थलोमा उपस्थित हुनु भारतको बढ्दो प्रविधि नेतृत्व र विश्वव्यापी रणनीतिक महत्वको संकेत भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको विश्लेषण छ।
भारतले सम्मेलनमार्फत मानव–केन्द्रित र समावेशी कृत्रिम बुद्धिमत्ताको अवधारणालाई प्राथमिकताका साथ अघि सारेको छ। भारतीय पक्षले कृत्रिम बुद्धिमत्ताको प्रयोग स्वास्थ्य, शिक्षा, कृषि, जलवायु परिवर्तन, सार्वजनिक सेवा प्रवाह र आर्थिक विकासमा केन्द्रित हुनुपर्नेमा जोड दिएको छ। सीमित देश वा कम्पनीमा प्रविधि केन्द्रित हुँदा विकासशील मुलुक पछाडि पर्न सक्ने भन्दै भारतले समान पहुँच र साझा लाभको पक्षमा आवाज उठाएको छ।
सम्मेलनमा कृत्रिम बुद्धिमत्ताको नैतिकता, पारदर्शिता, डाटा सुरक्षा, एल्गोरिद्मिक पक्षपात र विश्वव्यापी शासन प्रणालीका विषयमा गहन छलफल भइरहेको छ। भारतले एकल देश केन्द्रित नियमभन्दा साझा अन्तर्राष्ट्रिय मापदण्ड आवश्यक रहेको धारणा राख्दै सरकार र निजी क्षेत्रबीच सहकार्य अपरिहार्य भएको स्पष्ट पारेको छ।
आर्थिक दृष्टिले पनि सम्मेलनलाई अत्यन्त महत्वपूर्ण मानिएको छ। भारतले आफ्नो डिजिटल पूर्वाधार, ठूलो जनशक्ति र तीव्र रूपमा विस्तार भइरहेको स्टार्टअप प्रणाली विश्वसामु प्रस्तुत गर्दै कृत्रिम बुद्धिमत्ता क्षेत्रमा अन्तर्राष्ट्रिय लगानी र सहकार्य आकर्षित गर्ने प्रयास गरिरहेको छ। विश्लेषकका अनुसार यो सम्मेलनले भारतलाई कृत्रिम बुद्धिमत्ता प्रयोगकर्ता मात्र नभई विश्वस्तरमा नीतिगत दिशानिर्देशक राष्ट्रका रूपमा स्थापित गर्ने दिशामा अघि बढाएको छ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले भारतले ग्लोबल साउथको प्रतिनिधित्व गर्दै कृत्रिम बुद्धिमत्तालाई साझा विश्व सम्पत्तिका रूपमा विकास गर्नुपर्ने सन्देश दिएको उल्लेख गरेका छन्। सम्मेलनबाट कानुनी रूपमा बाध्यकारी सम्झौताभन्दा पनि साझा सिद्धान्त, सहकार्यका रूपरेखा र भविष्यका पहलहरू तय हुने अपेक्षा गरिएको छ, जसले आगामी दिनमा विश्वव्यापी कृत्रिम बुद्धिमत्ता नीतिमा दीर्घकालीन प्रभाव पार्ने अनुमान गरिएको छ।