काठमाडौं। खाडी मुलुक कतारले आफ्नो अर्थतन्त्रलाई तेल र ग्यासमा निर्भर संरचनाबाट ज्ञान प्रविधिमा आधारित अर्थतन्त्रतर्फ रूपान्तरण गर्ने रणनीतिलाई तीव्रता दिएको छ। कतारले ‘डिजिटल इकनोमी’लाई प्राथमिकतामा राख्दै स्टार्टअप, फिनटेक, साइबर सेक्युरिटी र आर्टिफिसियल इन्टेलिजेन्स जस्ता क्षेत्रमा ठूलो लगानी गर्ने घोषणा गरिसकेको अवस्थामा नेपाली लगानीकर्ता र विज्ञहरुलाई आकर्षण गराउने रणनीतिअगाडि बढाएको हो।
नेपालबाट पछिल्लो समय विश्वका विभिन्न मुलुकमा १ खर्ब ५० अर्बभन्दा बढीको आईटी निर्यात भइरहेको अवस्थामा कतारका लगानीकर्ताहरुले संयुक्त रुपमा लगानी गर्न नेपाली व्यवसायीहरुलाई आकर्षित गराउन लागेको हो।
माघको अन्तिम साता नेपाल भ्रमणमा आएका कतार चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिजका प्रतिनिधिहरुले नेपालका लगानीकर्तासहित अर्थमन्त्री, परराष्ट्रमन्त्री, पर्यटन मन्त्री, नेपाल राष्ट्र बैंकका गर्भनरसहितलाई भेट गरेका थिए। भेटको क्रममा कतारका लगानीकर्ताहरुले नेपालमा लगानी गर्दा कस्ता कस्ता विषयमा सहजीकरण हुने र कतारमा लगानी गर्ने नेपालीहरुलाई कसरी सहजीकरण गरिन्छ भन्ने विषयमा छलफल भएको थियो।
नेपाल उद्योग वाणिज्य महासंघका कोषाध्यक्ष भरत आचार्यले सूचना प्रविधिको क्षेत्रमा नेपालले गरेको फड्कोबारे कतार सरकारले विशेष चासोका साथमा हेरेको र नेपाली लगानीकर्तासँथै विज्ञहरुलाई स्वागत गर्न तयार रहेको सन्देशसमेत दिएको बताए।
नेपालले केही समयअघि मात्र सूचना प्रविधि (आईटी) उद्योगले विदेशमा १० लाख डलरसम्म लगानी गर्न सक्ने बाटो खुला गरेको छ। योसँगै अब नेपाली लगानीकर्ताहरुले विदेशमा आईटी क्षेत्रमा लगानी गर्न पाउने अवसर खुलेको थियो। योसँगै कतारमा आईटी हबको रुपमा विकास गर्न सक्ने सन्देश कतारका लगानीकर्ताहरुले दिएको महासंघका कोषाध्यक्ष आचार्यले जानकारी दिए।

धेरै नेपालीहरु रोजगारीका लागि अहिले पनि कतारमा रहेको र नेपालीप्रति कतार सरकार सधैँ सकरात्मक रहेको सन्देश दिँदै कतारलाई आईटी हबको रुपमा विकास गर्न नेपाली लगानीकर्ताहरुलाई आवश्यक सहजीकरण गर्न र सहकार्य गर्नसमेत तयार रहेको जानकारी त्यहाँका लगानीकर्ताहरुले दिएको उनले बताए।
कतारका लगानीकर्ताहरु पनि नेपालमा लगानी गर्न चासो राखिरहेका छन्।
आईटी क्षेत्रका लगानीकर्ता बसन्त वनले कतारस्थित केही प्रविधि कम्पनी तथा लगानी कोषले नेपालका आईटी उद्यमी, सफ्टवेयर डेभलपर र डेटा इन्जिनियरलाई आकर्षक तलब, कर छुट तथा ‘स्टार्टअप भिसा’ जस्ता सुविधाको प्रस्ताव गरिरहेको बताए। विशेषगरी काठमाडौं उपत्यकामा आधारित स्टार्टअपहरू र फ्रिलान्स आईटी प्रोफेशनलहरूलाई लक्षित गरेर ‘रिलोकेसन प्याकेज’समेत प्रस्ताव गरिएको उनले बताए।
कतारी लगानीकर्ताको आँखाः पर्यटन र कृषि
कतारका लगानीकर्ताहरु पनि नेपालमा लगानी गर्न चासो राखिरहेका छन्। खासगरी सन् २०२४ मा कतारका राजा अमिर शेख बिन हमाद अल थानीले नेपालमा गरेको भ्रमणपछि त्यहाँका लगानीकर्ताहरुको चासो नेपालमा बढेको छ। नेपाल र कतारबीच व्यापार सहजीकरणका लागि राजाकै भ्रमणको क्रममा नेपाल कतार संयुक्त व्यवसाय परिषदसमेत गठन भएको थियो।

द्विपक्षीय व्यापार तथा लगानी अभिवृद्धिका लागि गठन भएको परिषदको पहलमा नेपाल र कतारबीच हुने व्यापार बढाउने विषयमा समेत छलफल भएको छ। परिषदमा नेपाल उद्योग वाणिज्य महासंघ आबद्ध रहेको छ।
कतारका व्यवसायीहरुको भ्रमणको क्रममा त्यहाँका लगानीकर्ताले पर्यटन र कृषि क्षेत्रमा लगानी विस्तार गर्न चासो राखेको महासंघका कोषाध्यक्ष आचार्यको भनाइ छ।
पर्यटन र कृषिमा कतारको लगानी ल्याउने विषयमा उनीहरुले चासो राखेको र नेपाली लगानीकर्ताहरुले पनि सहजीकरण गर्ने प्रतिबद्धता जनाएको उनले बताए। खासमा गरी कृषि क्षेत्रमा लगानी गरी कतारमै निर्यात गर्ने योजनासमेत उनले सुनाएको जानकारी दिए।