काठमाडौं। भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले थानकोट–चित्लाङ सडक स्तरीकरणलाई गति दिन निर्देशन दिएका छन्। बिहीबार थानकोट–चित्लाङ खण्ड निरीक्षण गर्दै काठमाडौं जोड्ने छोटो सडक आर्थिक विकास र समृद्धिको सहयोगीसमेत रहेको बताएका हुन्।
सडकले मकवानपुरको कृषि उपज काठमाडौंसम्म लैजान तथा पर्यटकीय क्षेत्रको विकास गर्नसमेत सहयोग पुग्ने हुँदा यसले आर्थिक विकासलाई टेवा पुर्याउने विश्वास उनले व्यक्त गरे।
निर्धारित समयमा काम पूरा गर्न सडक विभागलाई निर्देशन दिँदै उनले कुनै पनि योजना तथा आयोजनामा हुने ढिलासुस्ती अन्त्य गर्न निर्देशन दिए। उनले विकासका संरचनाले नागरिकको जीवनमा समृद्धि ल्याउन सक्नुपर्ने बताए।
सोही क्षेत्रका प्रतिनिधिसभा सदस्य एवं एमाले प्रमुख सचेतक महेश बर्तौलाले मकवानपुर तथा काठमाडांैबासीका लागि मात्र नभई पूर्वी नेपालसहित बागमती, मधेस र लुम्बिनीसँगको सम्पर्कका लागि समेत यो सडक महत्त्वपूर्ण रहेको धारणा व्यक्त गरे। यहाँका बासिन्दाको जीवनसँग प्रत्यक्ष सरोकार राख्ने र आर्थिक विकासका लागि समेत बहुउपयोगी हुने अपेक्षा राखिएको यो सडक बिनाअवरोध छिटो निर्माण सक्नुपर्नेमा उनको जोड छ।
सडक विभागका महानिर्देशक डा.विजय जैसीले ढिलासुस्ती हुन नदिई निर्माण कार्यलाई गति दिइँदै आएको जनाए। संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय काठमाडौंका प्रमुख शुभराज न्यौपानेका अनुसार सो सडक स्तरीकरणको ठेक्का प्रक्रियाका लागि काम अघि बढिसकेको छ।
अनुगमनमा प्रधानमन्त्रीका आर्थिक सल्लाहकार डा युवराज खतिवडा, बुद्धिजीवी संगठनका अध्यक्ष इन्जिनियर गजेन्द्र थपलियालगायत सहभागी थिए।
सडक डिभिजन काठमाडाैंका प्रमुख नारायणदत्त भण्डारीका अनुसार यो सडक निर्माणका लागि २ प्याकेजमा ठेक्का लगाउने काम भइरहेको छ। यो सडक ८.५ किमि काठमाडौं र बाकी मकवानपुरमा पर्दछ।