काठमाडौं। नेपाल विद्युत् प्राधिकरण कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले मध्य भोटेकोसी जलविद्युत् आयोजनाका सम्बद्ध अधिकारीलाई सुरुङको चुहावट परीक्षण र पावर हाउसलगायत संरचनामा बाढी पस्न नसक्ने अवस्था सुनिश्चित गरी तयारी हालतमा रहन निर्देशन दिएका छन्।
पूर्णतः स्वदेशी सीप र पुँजीबाट बन्ने सर्वाधिक ठूलो आयोजनाले बुधबार उत्पादनका लागि सम्पूर्ण तयारी पूरा गरेको थियो।
‘निर्देशक शाक्यले आयोजनाअन्तर्गतको ७.२ किलोमिटरको सुरुङमा पानी चुहिने नचुहिने सुनिश्चित गर्न निर्देशन दिनुभएको छ’, प्राधिकरण स्रोतले भन्यो। यसका साथै पावरहाउसलगायत सबै पूर्वाधार भोटेकोसीमा आउन सक्ने बाढीबाट प्रभावित नहुने गरी आवश्यक व्यवस्था गर्नसमेत निर्देशन दिनुभएको थियो।’ उनले पावरहाउसलाई स्लाडिङ ब्यारिकेड बनाएर तथा अन्य क्षेत्रमा आउन सक्ने बाढीबाट आयोजनाका संरचना जोगाउन निर्देशन दिनुभयो’, स्रोतको भनाइ थियो।
लामो समयको प्रतीक्षापछि उत्पादन सुरु गर्न लागेको मध्य भोटेकोसी आयोजना कुल उत्पादन क्षमता १ सय २ मेगावाट हो। बाँध मार्मिङ–९ चाकुमा र पावरहाउस जम्बुमा रहने आयोजनाले वार्षिक ५४ करोड २२ लाख युनिट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको छ।
आयोजना निर्माणको काम केही महिनाअघि नै सम्पन्न भए पनि प्रसारण लाइनको टुंगो नलागेका कारण उत्पादन सुरु भएको थिएन। सुरुमा बाह्रबिसे–लप्सीफेदी प्रसारण लाइनबाट विद्युत् प्रणालीमा जोडने लक्ष्यमा स्थानीयसँग सहमति हुन नसके पनि लामोसाँघुतर्फबाट ल्याउने प्रयास भएको थियो।
त्यहाँसमेत सम्भव नभएपछि प्राधिकरणकै स्वामित्वमा रहेका न्यू खिम्ती ४०० केभी सबस्टेसन हुँदै ढल्केबर प्रसारण लाइनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न लागिएको हो।
२०७० देखि निर्माण सुरु भएको आयोजनामा २०७१ साउनमा आएको जुरे पहिरो, २०७२ वैशाखको विनाशकारी भूकम्प, २०७२ असोजदेखि करिब साढे पाँच महिना लामो भारतीय नाकाबन्दी, २०७३ असारमा भोटेकोसी नदीमा आएको बाढी, निर्माणस्थल भोटेकोसी नदी एवं आसपास क्षेत्रमा आएको बाढीपहिरो तथा कोभिड–१९ महामारीको चपेटा आदि समस्या र पछिल्लो पटक प्रसारण लाइनको अन्योलका कारण उत्पादन सुरु हुन सकेको थिएन।