भोजपुर। जिल्लाका दक्षिणी क्षेत्रमा अवस्थित रामप्रसादराई गाउँपालिका–८ खोक्सिकका ९५ प्रतिशत नागरिक विद्युत् पहुँचमा जोडिएका छन्। भौगोलिक रूपमा विकट मानिने यो स्थानमा वडाको सक्रियतामा ९५ प्रतिशत नागरिकको घरमा केन्द्रीय विद्युत् विस्तार भएको हो।
विद्युत् विस्तारको शून्य अवस्थाबाट काम सुरु गरेर ९५ प्रतिशत नागरिकको घरमा केन्द्रीय विद्युत् जडान गर्न सफल भएको वडाध्यक्ष बाचकुमार राईले बताए। बाँकी रहेका घरमा पनि चाँडै विद्युत् विस्तार गरेर यो आर्थिक वर्षमा उज्यालो वडा घोषणा लक्ष्य रहेको वडाध्यक्ष राईको भनाइ छ।
‘यहाँको ९५ प्रतिशत नागरिकको घरमा केन्द्रीय विद्युत् जडान गर्न सफल भएका छौँ’, उनले भने, ‘यहाँ शून्य अवस्थाबाट विद्युत् काम थालेर विस्तारको अन्तिम चरणमा पुर्याएका छौँ। यो आर्थिक वर्षमा उज्यालो वडा घोषणा गर्ने लक्ष्य छ।’
केन्द्रीय विद्युत् विस्तार भएपछि वर्षौंदेखिको टुकीबत्तीको सहायतामा रात कटाउनुपर्ने बाध्यताबाट मुक्त भएको स्थानीय दिलकुमार योगीले बताइन्। पुस्तौंबाट टुकी तथा सोलारको उज्यालोमा रात कटाइरहेको अवस्थामा विद्युत् केन्द्रीय लाइन विस्तारले सहज भएको उनले सुनाइन्। विद्युत् विस्तारले उज्यालोसँगै कुटानी पिसानीको दैनिक कामकाजमा सहज भएको छ।
‘हाम्रो ठाउँका प्रायः सबै स्थानमा बिजुली पुगेको छ,’ उनले भनिन्, ‘विद्युत् विस्तार भएपछि गाउँमा सुविधा थपिएको छ। अँध्यारोमा बस्नुपर्ने बाध्यताको अन्त्य भएको छ। वर्षौं पछि गाउँमा झिलीमिली बत्ती बलेको देख्दा आनन्द लाग्छ।’
दुर्गम क्षेत्र भए पनि केन्द्रीय लाइन विस्तारले सूचनाको पहुँचमा जोडिन सहज भएको स्थानीयबासी दलबहादुर राईले बताए। विद्युत् विस्तारपछि नेट, इन्टरनेट, टेलिभिजन प्रयोग गर्दै गाउँमा बसेर देश विदेशको जानकारी लिन सक्ने अवस्था बनेको उनको भनाइ छ।–रासस