काठमाडौं। गण्डकी प्रदेशमा युवा उद्यमशीलताको नयाँ नेतृत्व चयन भएको छ। शनिबार पोखरामा सम्पन्न भेलाले पर्यटन व्यवसायी अमरजंग गुरुङ (जितु)लाई अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघ गण्डकी प्रदेश अध्यक्षमा निर्वाचित गर्दै १९ सदस्यीय कार्यसमिति गठन गरेको हो।
नयाँ नेतृत्वमा वरिष्ठ उपाध्यक्षमा हरि भुजेल, उपाध्यक्षमा शान्ती श्रेष्ठ (उदास) र सुनील न्यौपाने, महासचिवमा चिरञ्जिवी गौतम, सचिवमा प्रसुन्ना भण्डारी र राजकुमार सुनार, कोषाध्यक्षमा पोषराज पौडेल, सह–कोषाध्यक्षमा रुद्र रेग्मी, र प्रवक्तामा कृष्णप्रसाद आचार्य रहेका छन्।
अन्य सदस्यहरूमा अस्मिता लामिछाने, भूपेन्द्रकुमार लामा, रमेशप्रसाद भुर्तेल, हरि लामिछाने, गोपालप्रसाद संग्रौला, धर्मराज पन्थी, थानेश्वर बराल, असुतोल प्रधान र सुरेन्द्र कुँवर समावेश छन्।
विदेशी लगानी र युवाको आत्मविश्वासलाई प्राथमिकता
सपथ ग्रहण समारोहमा महासंघका केन्द्रीय अध्यक्ष स्वतन्त्रप्रताप शाहले नेपालमा वैदेशिक लगानी आकर्षित गर्न महासंघ सक्रिय रहेको उल्लेख गर्दै निजी क्षेत्रसँगै सरकारसँग सहकार्य गरेर अवसरहरू सिर्जना गर्ने बताए।
त्यसैगरी, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपालमा “केही भएन” भन्ने नकरात्मक सोच हटाउन आग्रह गरे। उनले युवामा आत्मविश्वास र आट अभाव देखिएको भन्दै, “गर्छु भन्नेहरूले मात्र अवसर पाउँछन्,” भने। पाण्डेले गण्डकीमा कृषि र पर्यटन क्षेत्रमा लगानीका धेरै सम्भावना रहेको बताउँदै विदेशी सीप, ज्ञान र पुँजी स्वदेशमै लगानी गर्न युवालाई प्रोत्साहित गरे।
मुख्यमन्त्रीले आगामी महिनादेखि प्रदेशमा राइड(शेयरिङ एप सञ्चालन गर्ने तयारी र घरेलु मदिरा तथा गाँजा खेतीलाई कानुनी मान्यता दिने ऐन ल्याउने तयारी भइरहेको जानकारी दिए।
नेपालमा अवसर छ, आँट चाहिन्छ – अध्यक्ष ढकाल
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगनशील युवाका लागि पर्याप्त अवसर रहेको बताए।
उनले हालै सरकारले उच्चस्तरीय आर्थिक सुधार आयोगको सिफारिसमा ३० वटा ऐन र कानुन संशोधन गरेर व्यवसायिक वातावरण सहज बनाएको उल्लेख गरे।
ढकालका अनुसार, विशेष गरी जलविद्युत, आईटी, कृषि र पर्यटन क्षेत्रमा लगानीका लागि नेपाल सम्भावनायुक्त गन्तव्य हो। उनले महासंघको नेतृत्वमा स्थापना भएको नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड मार्फत योजना भए तर पुँजी नभएकाहरूलाई सहयोग पुर्याइने बताए।
६ खर्बभन्दा बढी वैदेशिक लगानी
उद्योग विभागका महानिर्देशक राजेश्वर ज्ञवालीले हालसम्म नेपालमा ६ हजार ४ सय उद्योग व्यवसायमा करिब ६ खर्बको वैदेशिक लगानी भित्रिएको बताए। उनले विदेशी लगानीका लागि कानुनी अप्ठ्याराहरू क्रमशः हटाउँदै लगिएको र सकारात्मक माहोल बने वैदेशिक पुँजी आकर्षण सहज हुने बताए।