पोखरा। नेपालउद्योग परिसंघ गण्डकीको अध्यक्षमा धर्मराज बर्तौला सर्वसम्मत चयन भएका छन्। शनिबार पोखरामा सम्पन्न तेस्रो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशनले बर्तौलाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो।
समितिको उपाध्यक्षहरुमा दिपेन्द्रराज बस्ताकोटी, विक्रम कर्माचार्य, कृष्णप्रसाद गौतम र रुद्रलाल श्रेष्ठ चयन भएका छन्। यस्तै, सदस्यहरुमा माधव बस्ताकोटी, यज्ञ रेग्मी, राजेश्वर आचार्य, फणीन्द्र शर्मा, प्रकाश भारती, अर्पणा पोखरेल, गणेशबहादुर थापा र प्रकाश आचार्य छन्।

नवनिर्वाचित अध्यक्ष बर्तौलाले उद्योगिक क्षेत्र विस्कारका लागि सरकारसँग आवश्यक पहल र समन्वय गरी काम गर्ने प्रतिबद्धता जनाएका छन्। अहिले उद्योग व्यवसाय सञ्चालनका लागि आवश्यक जग्गा पाउनै मुस्किल हुने र पाइहालेमा अत्याधिक महंगो हुने भएकोले चाहदा चाहदैपनि उद्योग व्यवसाय विस्तार हुन सकेको छैन, नवनिर्वाचीत अध्यक्ष बर्तौलाले भने, गण्डकी प्रदेश सरकार र संघिय सरकारसँगको समन्वयमा गण्डकी प्रदेशका विभिन्न क्षेत्रमा औद्योगिक क्षेत्रको रुपमा विस्तार गर्ने छु।
बढ्दो व्यापार घाटा र आयातमुखी अर्थतन्त्रले देशलाई परनिर्भर बनाएकोमा चिन्ता व्यक्त गर्दै त्यसबाट बाहिर निस्कन सरकारसँग मिलेर काम गर्न आफूहरु तयार रहेको उनले बताए।
अत्यावश्यक वस्तुबाहेक अन्य आयातलाई निरुत्साहित गर्दै स्वदेशी उत्पादनलाई प्राथमिकता दिने नीति निर्माणमा र उद्योग स्थापना गरी रोजगारीका अवसर सिर्जना गरेर उज्ज्वल भविष्यको खोजीमा विदेश जान बाध्य युवाहरूलाई स्वदेशमै रोक्न आवश्यक पहल गर्ने उनको भनाइ छ।
श्रमिकहरूलाई आकर्षक पारिश्रमिक र सुरक्षित भविष्यको प्रत्याभूति दिँदै गण्डकी प्रदेशलाई एक औद्योगिक हबको रूपमा विकास गर्न पैरवी गर्ने प्रतिबद्धता जनाएका छन्। २०७७ सालमा स्थापना भएको परिसंघमा हाल ६५ जना सदस्य आवद्ध छन्।