काठमाडौं। सेफ नेपालः द प्रोफेशनल्स प्रतियोगिताका लागि हालसम्म १२० प्रोफेशनल सेफले आवेदन दिएका छन्। आयोजकका अनुसार नेपाल र विदेश दुवै ठाउँमा काम गर्ने सेफहरुले आवेदन दिएका हुन्।
नेपालबाट ३५ वटा होटल, रेस्टुरेन्ट तथा शैक्षिक संस्थामा आबद्ध सेफ तथा विभिन्न देशमा कार्यरत ६५ सेफले आवेदन दिएका छन्। जसमा भारतबाट २४, आस्ट्रेलियाबाट ८, दुबईबाट ६, साउदी अरेयिबाबाट ५, कतारबाट ४, बेलायतबाट ३, डेनमार्क, अमेरिका, माल्दिभ्स र कुवेतबाट २र२, र स्विडेन, क्यानडा, हङ्गकङ्ग, सेसेलिस, ओमन, क्रोएसिया, साइप्रस लगायत देशहरुमा कार्यरत सेफहरुले आवेदन दिएका छन्।
प्राप्त आवेदनमध्ये २१ आवेदकहरुको प्रमाणिकरण पूरा भइसकेको छ। प्रमाणित आवेदकहरुको जानकारी सेफ नेपालको वेबसाइट तथा सामाजिक सञ्जालबाट प्राप्त गर्न सकिने छ।
यो प्रोफेशनल सेफहरुको प्रतिस्पर्धात्मक कुकिङ्ग रियालिटि शो हो । यसमा प्रोफेशनल सेफ मात्रै सहभागी हुन पाउँछन्। कमर्सियल किचनमा पाँच वर्षभन्दा बढी काम गरेकोको अनुभव भएको र डेमी सिडिपीभन्दा माथिल्लो तहका सेफहरुले आवेदन दिन सक्ने छन्।
हालसम्म प्राप्त आवेदनमा दुसित प्रिन्सेस, भिभान्ता, साउदी एयरलाइन्स क्याटरिङ्ग, दुसितथानी मालदिभ्स, एकेडेमी अफ कलिनरी आर्टस्, सिल्भर माउण्टेन कलेज, मेरियट काठमाडौँ, होटल ताज मुम्बई, हायात रेजेन्सी, जुमेराह मस्कट ओमन, मक्र्युर होटल, आल्मा होटल रियाद, लगायत र अन्य रेस्टुरेन्टहरुमा कार्यरत सेफ छन्।
देश वा विदेशमा रहनुभएका इच्छुक प्रोफेशनल सेफहरुले यस शोमा अझै पनि आवेदन दिने मौका खुला छ। उनीहरुले सेफ नेपालको वेबसाइट मार्फत रजिष्ट्रेसन दर्ता गर्न सक्छन्। आवेदन दिँदा आफ्नो सम्पूर्ण विवरणका साथ फोटो र बायोडाटा अपलोड गर्नुपर्ने छ।
आयोजकले आवेदन छिट्टै बन्द गरिने र शोको अन्य तयारीहरु अघि बढाउने जनाएको छ। यस बारे थप जानकारी सेफ नेपालको वेबसाइट तथा सामाजिक सञ्जालबाट प्राप्त गर्न सकिने छ।