काठमाडौं। सूर्यमुखी, सोयाबिन र तोरीको तेलको व्यापार गरेर कालिका रिफाइनरीले १० महिनामै करिब साढे ३ अर्ब रुपैयाँ आम्दानी गरेको छ। रिफाइनरीले आर्थिक वर्ष २०२४/२५ को १० महिनामा ३ अर्ब ४१ करोड ४० लाख रुपैयाँ (अपरिस्कृत) आम्दानी गरेको हो।
चितवनको गैंडाकोटमा सन् २०१९ मा स्थापना भएर सन् २०२१ जुनदेखि व्यवसायीक रुपमा सञ्चालनमा आएको कालिका रिफाइनरीमा दिपक प्रासाद सापकोटा, मदन सापकोटा र कुसुम कँडेल सापकोटाको समान सेयर स्वामित्व रहेको छ। उनीहरुको तोरीको तेल उत्पादन र प्रशोधनमा करिब ३ दशकको अनुभव रहेको छ।
दैनिक उत्पादन क्षमता १ सय टन रहेको कम्पनीले आव २०२४ मा २ अर्ब ९ करोड २० लाख, आव २०२३ मा २ अर्ब ६० करोड २० लाख, आव २०२२ मा २ अर्ब ८१ करोड १० लाख र आव २०२१ मा ४ करोड ४० लाख रुपैयाँ आम्दानी गरेको थियो। कम्पनीले उत्पादन ‘बेला’, ‘अम्बे’ र ‘एग्रो गोल्ड’ ब्राण्डको नाममा सूर्यमुखी, सोयाबिन र तोरीको तेल बजारमा उपलब्ध गराएकाे छ।
आर्थिक वर्ष २०२५ को पहिलो १० महिनामा कम्पनीको कार्यशील पुँजी (वर्किङ क्यापिटल इन्टेन्सीे) घटेर १२ प्रतिशतमा पुगेको छ।
कम्पनीले २ अर्ब रुपैयाँ बैंकिङ कर्जा प्रयोजनका लागि रेटिङ एजेन्सी इक्रा नेपालमा गराएको रेटिङमा दीर्घकालिन कर्जामा ‘एलबि’ र अल्पकालिन कर्जामा ‘एफोर’ प्राप्त गरेको छ। कम्पनीले दीर्घकालिन कर्जामा प्राप्त गरेको ‘एलबि’ ले वित्तीय दायित्व भुक्तानीमा उच्च जोखिम रहेको र अल्पकालिन कर्जाको ‘एफोर’ले न्यून सुरक्षण उच्च जोखिम रहेको संकेत गर्छ। दीर्घकालिन कर्जामा ‘एलबि’ अघिल्लो रेटिङ ‘एलबिमाइनन्स’बाट सुधारिएको हो।
यो रेटिङले कम्पनीको समग्र वित्तीय अवस्थामा केही सुधार भएको देखाए पनि, दीर्घकालीन र अल्पकालिन अवधिका कर्जाहरूमा अझै पनि जोखिम रहेको संकेत गर्छ। इक्राले कम्पनीको रेटिङ सुधार गर्नुको कारणमा सुधारिएको चालू पुँजीलाई मुख्य कारक बनाएको छ।
आर्थिक वर्ष २०२५ को पहिलो १० महिनामा कम्पनीको कार्यशील पुँजी (वर्किङ क्यापिटल इन्टेन्सीे) घटेर १२ प्रतिशतमा पुगेको छ। अघिल्लो वर्षको सोहीअवधिमा वर्किङ क्यापिटल इन्टेन्सी २२ प्रतिशत थियो। कम्पनीको सुधारिएको दैनिक सञ्चालन खर्च प्रणालीले यस्तो सुधार भएको रिपोर्टमा उल्लेख छ।
कम्पनीले थोरै खर्चमा उत्पादन गरेर धेरै आम्दानी गर्न सकेको देखिन्छ। साथै, कम्पनीको रेटिङ सुधारिनुको कारणमा निर्यात वृद्धि हो। आव २०२५ को १० महिनामा कम्पनीले कुल आम्दानीको ४४ प्रतिशत भारतमा खाने तेल निर्यातबाट प्राप्त गरेको छ।