काठमाडौं। श्रीलंकास्थित नेपाली दूतावासको समन्वयमा नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र श्रीलंकन चेम्बर अफ स्मल एन्ड मिडियम इन्टरप्राइजेज (एसएलसीएसएम आई)बीच साना तथा मझौला उद्यम प्रवर्द्धन, व्यापार तथा लगानी अभिवृद्धिका लागि रणनीतिक साझेदारी सम्झौता भएको छ।
श्रीलंकाका लागि नेपाली राजदूत डा. पूर्णबहादुर नेपालीको उपस्थितिमा सम्झौतापत्रमा एनसीसीका अध्यक्ष कमलेशकुमार अग्रवाल र एसएलसीएसएम आईका अध्यक्ष रोहन डी शिल्भाले हस्ताक्षर गरे।
दुई संस्थाबीच साना तथा मझौला उद्यम प्रवर्द्धन, दुईदेशीय व्यापार एवं लगानी अवसर तथा नेपाल–श्रीलंकाली निजी क्षेत्रबीच व्यापार सहजीकरण गर्ने विषयमा सम्झौता भएको चेम्बरद्धारा जारी विज्ञप्तिमा उल्लेख छ।
साना तथा मझौला उद्यममा एक अर्काको देशमा भएका अभ्यास, नीतिगत व्यवस्था, क्षमता अभिवृद्धि कार्यक्रम, प्रशिक्षण, कार्यशाला गोष्ठि जस्ता विषयमा सहकार्य गर्ने विषयमा सम्झौतामा हस्ताक्षर भएको छ।
यस्तै, दुवै देशका चेम्बर प्रतिनिधिबीच दुई पक्षीय भेटवार्ता, साना तथा मझौला उद्यममा दुई पक्षीय लगानीजस्ता विषयमा पनि सहकार्य हुने जनाइएको छ।
साना तथा मझौला उद्यमीद्वारा उत्पादित वस्तुको एकअर्काका देशमा प्रदर्शनी एवं व्यापार अभिवृद्धि गर्न एनसीसी र एसएलसीएसएम आईका तर्फबाट समन्वय गरिने विषय सम्झौतामा उल्लेख छ।
दुई पक्षीय व्यापार सहजीकरण, प्रविधि हस्तान्तरण, साना तथा मझौला उद्योगको सम्भावना सम्वन्धमा संयुक्त खोज तथा अनुसन्धान गरिने चेम्बरले जनाएको छ।