काठमाडौं। आर्थिक वर्ष २०८१/८२ मा वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक पुगेका १५१७ जनाको मृत्यु भएको वैदेशिक रोजगार बोर्डले तथ्यांक सार्वजनिक गरेको छ।
यो संख्या श्रम स्वीकृति लिएर गई ज्यान गुमाएका मृतकका परिवारले आर्थिक सहायता लिएका आधारमा तयार पारिएको बोर्डले बताएको हो।
श्रम स्वीकृति नलिएका वा करार अवधि सकिएको अवस्थामा विदेशमा ज्यान गुमाउनेको संख्याबारे यकिन तथ्यांक सरकारसँग छैन।
विदेश रोजगारमा रहेका नेपालीले साउदी, संयुक्त अरब इमिरेट्स (युएई), कुवेत, बहराइन, मलेसिया, कतार, रोमानिया, दक्षिण कोरियालगायत मुलुकमा विभिन्न कारणले ज्यान गुमाएको बोर्डले जनाएको छ।
आव २०८०/८१ मा १३४६ शव आएका थिए भने गत आवमा २०८१/८२ मा १५१७ वटा शव नेपाल ल्याइको छ, जुन अघिल्लो आवभन्दा गत आवमा १७१ बढी रहेको बोर्डका निर्देशक एवं सूचना अधिकारी गुरुदत्त सुवेदीले बताए।
वैदेशिक रोजगारीका क्रममा विदेशमा आफ्नो आफन्त गुमाएका परिवारका सदस्यले बोर्डको सचिवालयबाट १० लाख आर्थिक सहायता पाउँदै आएका छन्।
बोर्डका अनुसार आव २०६५/६६ देखि हालसम्म वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका १४ हजार ८६२ जनाको परिवारलाई आर्थिक सहायतास्वरूप ५ अर्ब ९७ करोड ६४ लाख रकम उपलब्ध गराइसकिएको छ।