सुनसरी। निरन्तरको वर्षाका कारण सप्तकोसी नदीमा पानीको बहाव उच्च भएको छ। आइतबार साँझ कोसी ब्यारेजमा प्रतिसेकेन्ड १ लाख ९१ हजार २१० क्यूसेक पानीको बहाव मापन गरिएको थियो।
आज बिहान गरिएको मापनमा कोसी ब्यारेजर भएर १ लाख ७५ हजार ६८५ क्युसेक प्रतिसेकेन्ड पानीको बहाव रहेको सशस्त्र प्रहरी उपरीक्षक निर्मल थापाले जानकारी दिए। अहिले ५२ मूल र चार नहरको गरेर ५६ ढोकामध्ये २३ खुल्ला गरिएको उहाँले जानकारी दिए।
कोसी ब्यारेज भएर एक लाख ५० हजार भन्दामाथि पानीको वहाव भएपछि सर्वसाधारणलाई सचेत गर्न खतराको सङ्केतस्वरुप रातो बत्ती बाल्ने गरिएको छ।
सोहीअनुसार रातो बत्ती बालिएको कोसी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ । २०६५ भदौ २ गते एक लाख ६८ हजार क्यूसेक पानीको वहाव हुँदा सप्तकोसी नदीले पूर्वी तटबन्ध भत्काएको थियो ।
महाकालीमा पानीको बहाब बढ्यो
कञ्चनपुरस्थित महाकाली नदीमा पानीको बहाव बढेपछि शारदा ब्यारेजमा चारपांग्रे सवारीसाधन आउजाउमा रोक लगाइएको छ।
लगातारको वर्षापछि महाकाली नदीमा पानीको सतह बढेपछि चारपांग्रे सवारीसाधनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिए।
‘महाकालीमा पानीको बहाव १ लाख क्युसेक पुगेपछि आवागमनमा रोक लगाइन्छ’, उनले भने, ‘महाकाली नदीमा पानीको बहाव १ लाख क्युसेक पुगेपछि चारपांग्रे सवारीमा रोक लगाइन्छ।’
उनका अनुसार आज बिहान ८ बजे महाकाली नदीमा पानीको बहावले १ लाख ९ हजार ९८० क्यूसेक नाघेपछि आवागमनमा रोक लगाइएको हो।– रासस