बागलुङ। विकास निर्माणमा उत्कृष्ट काम गरेको उल्लेख गर्दै बागलुङ नगरपालिकालाई सम्मान गरिएको छ।
विश्व बैंकले नेपाल सरकारमार्फत बागलुङ नगरपालिकालाई उपलब्ध गराएको ४८ करोड अनुदानबाट यहाँका दुई वटा सडक निर्माण सुरु भएको सात महिनामै कालोपत्रे गरिएको थियो।
तीनमध्ये दुई वटा सडकको काम सम्पन्न भएको र एउटा सडक कालोपत्रे तयारी भइरहेको छ। उक्त अनुदानबाट एकै पटक १७ नगरपालिकामा विकास निर्माण भए पनि कार्यसम्पादनका आधारमा बागलुङ नगरपालिका सम्मानित भएको हो।
काठमाडौंमा आयोजित नेपाल सहरी शासकीय तथा पूर्वाधार आयोजनाले आर्थिक वर्ष २०८१÷८२ मा उत्कृष्ट कार्यसम्पादन गर्ने बागलुङ नगरपालिकालाई सम्मान गरिएको हो।
गत असारमा ठेक्का सम्झौता भएको सडक गत माघमै कालोपत्र थालिएको र चैतसम्म दुई वटा सडक कालोपत्रे सम्पन्न गरिएको थियो भने एउटा सडक कालोपत्रेका लागि ग्राभेल भइसकेको छ।
नेपाल सहरी शासकीय तथा पूर्वाधार आयोजनाअन्तर्गत बागलुङ नगरपालिकामा निर्माण भइरहेका तीन प्रमुख सडक योजनाको सफलतापूर्वक सञ्चालन र कार्यान्वयनको मूल्यांकन गर्दै उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले नगरप्रमुख वसन्तकुमार श्रेष्ठलाई सम्मान गरे।
बागलुङ नगरपालिका–४ स्थित ओडारचौरबाट ढोडेनीसम्म २.२ किलोमिटर र वडा–१ रामरेखास्थित गणेशथान घुम्तीबाट निरयघाटको १.५ किलोमिटर सडक कालोपत्रे भइसकेको छ।
निर्माणको अन्तिम चरणमा रहेको बागलुङ नगरपालिका–७ को मूलपानीबाट तितौरेसम्मको ८.६ किलोमिटर सडकको प्रगति ७० प्रतिशत पुगेको र बर्खा सकिँदासाथ कालोपत्रे गरिने निर्माण व्यवसायीका इञ्जिनियर मनोज शर्माले जानकारी दिए।–रासस